सोमबार, वैशाख ३, २०८१

‘लक्कि बास्टर्ड’

कृष्ण शर्मा / अमेरिका२०७९ माघ १५ गते २३:४७

कृष्ण शर्मा

प्रिय पाठकहरु,
केहि बेरका लागि तपाइहरु सबैलाइ मैले एक दशक अघिको एक नितान्त निजि समयमा लैजान चाहेँ । सन २०१२ सालको अन्त्य तिरको कुरा हो। वाशिंटन डि. सि. स्थित मैले काम गर्ने संस्ठाले आफ्ना कर्मचारीहरुलाइ मेहनत र लगनशीलताकासाथ काम गरेबापत धन्यबाद दिने हेतुले स्थानिय तारे होटेलमा एक रात्रिभोजको आयोजना गरेको थियो। त्यो हिउँले शहरै सेतो पारेको साँझ म होटलको मुख्य द्वारबाट छिरेको मात्रै के थिएँ सहकर्मी पिटरले मलाइ देखिहाल्यो । ऊ तूफान जस्तै गरेर ढोका तिर हुर्रिंदै म नजिक आयो।

मैले त्यो वर्ष अमेरिकाका लगभग आधा भन्दा बढि जति राज्यहरु अमेरिकी सरकारकै खर्च संयोजनमा ओहरदोहर गरेको यथार्थसँग ‘कर्मचारि यात्रा संयोजक’ भएर काम गरेको थिएँ । त्यसको कारणले उ राम्रैसँग निकट थियो। बधाइ एबम नयाँ वर्षको शुभ कामना दिंदै मैले मुठ्ठी पारेर तेर्साएको दाहिने हातमा उसले नदुख्ने गरी टुच्च एक झड्का दियो। अफ्रिकी-अमेरिकी समुदाय बिच प्रचलित अभिवादनको यस्तो शैलीलाइ त्यसबेलाका रास्ट्रपति बराक ओबामाले अभ्यासमा ल्याएर एकाएक लोकप्रिय गराएका थिए। त्यसपछि पिटरले अलिक कुप्री परेर मलाइ चपक्क अँगालो मार्यो ताकी उसको बडेमानको भुँडीले मेरो पेट नठेलोस। त्यसपछि उसले अत्यन्तै मित्रवत शैलीमा मेरो कानमा फुस्फुसायो “यु, लकि बास्टर्ड!”।

अंग्रेजी भाषाको उक्त टुक्काको लाक्षणिक अर्थ त्यतिबेलासम्म मलाइ थाहा थिएन। गुल्मी जिल्लाको त्यस दुर्गम धूरकोट नजिकै जन्मी हुर्केको यो साधारण भन्दा पनि अति साधारण मानिसलाइ अंग्रेजीका सबै शब्दहरुको अर्थ कसरि पो थाहा होस! उक्त अंग्रेजी टुक्काको सोझो नेपाली अनुवाद “तँ, भाग्यमानी रण्डीको छोरो” हुन्थ्यो। मैले अनुमानसम्म गर्नै सक्दैनथें कि कसैले मलाइ त्यस्तो तल्लो स्तरमा ओर्लेर गाली गर्न सकोस।

मलाइ कति रिस उठेको थियो भने नेपालमा मात्रै भएको भए जे त होला भनेर उसको नाक कुच्चिने गरी कम्तिमा एक मुक्का त पक्कै हान्थें होला । वा हातको गिलासमा भएको व्हिस्कि उसको अनुहारमा फ्याँकेर बदला लिन्थें होला । वा ति सब केहि गर्न नसके सायद तल्लोस्तरका अश्लिल गाली गरेर भएपनि रिस फेर्थें होला ।

अनायास मन खिन्न भयो। म त्यति खुशि हुन सकिन जति हुनुपर्थ्यो त्यो साँझ । तैपनि मैले राम्रो काम गरेबापत कम्पनिबाट प्रमाणपत्र पनि पाउँदै थिएँ ।

म त्यति सजिलै रिसाइहाल्ने मानिस त थिईन । तर पिटरसँग म त्यो साँझ आफूले महशुस गर्नु अघि नै झमक्कै अँध्यारो हुने गरी रिसाएँ । अहिले त्यो लाटो रिसयुक्त क्षण सम्झँदा मनमनै हाँसो उठ्छ। मलाइ कति रिस उठेको थियो भने नेपालमा मात्रै भएको भए जे त होला भनेर उसको नाक कुच्चिने गरी कम्तिमा एक मुक्का त पक्कै हान्थें होला । वा हातको गिलासमा भएको व्हिस्कि उसको अनुहारमा फ्याँकेर बदला लिन्थें होला । वा ति सब केहि गर्न नसके सायद तल्लो स्तरका अश्लिल गाली गरेर भए पनि रिस फेर्थें होला । तर त्यतिबेला मैले दायाँ बायाँ केहि गरिन। रिसमै भए पनि खिसिक्क हाँसेर औपचारिकता निभाएँ । पछि उडाएको भए पनि उडाओस भन्ने सोची ‘बाहिर जानुपर्ने भो’ भन्दै ऊबाट छुट्टिएँ ।

बिचरा उसले मेरो मनोदशा कसरि थाहा पाओस! उसलाइ मेरो अंग्रेजी भाषाका टुक्का प्रतिको त्यो तहसम्मको अज्ञानताबारे के थाहा? सोझो तरीकाले उल्टै भन्यो, “टेक केयर, म्यान! इ-मीट यु फर वर्क आफ्टर न्यु ईयर डे!” अर्थात “आफ्नो ख्याल राख्नु! नयाँ वर्षको पहिलो दिन पछि कामको शिलशिलामा इन्टरनेट मार्फत भेटौंला!”

ऊबाट छुट्टिंए पछि म हतार हतार बाथरूम गएँ र आइ-फोनमा गूगल गरें। गूगलले देखाएको अर्थप्रति पूरा बिश्वास लागेन र गोबिन्दलाइ त्यहिंबाट तुरुन्त फोन गरेर सोधें।

मित्र गोबिन्दले तत्कालै फोनमा भने, “पश्चिमी मुलूकहरुमा ‘एकदमै भाग्यमानी’ मानिसलाइ मित्रवत बोलीचालीको लवजमा त्यसो भन्छन।” त्यसपछि त के हुनु थियो र? बाथरूममा भएको भित्ताभरिको एनाले म दंग भएको देखायो।

पार्टि चलिरहेको ठाउँमा गएँ । पिटरसँग व्हिस्कि पिउँदै मज्जाले खुलेर गफिन थालें । उसको अगाडि आफूलाइ यसरि प्रस्तुत गरें कि मानौं केहिबेर अघिसम्म मेरो मनमा ठेस लागेकै थिएन । म झमक्क रिसाएकै थिईन । बाहिर निस्कनुपर्ने इमर्जेन्सि सिमर्जेन्सि केहि थिएन। नशा चढेपछि आफ्नो अंग्रेजी भाषाका उखान टुक्का प्रतिको अज्ञानता बारे मात्रै होइन पुसले भनेको “यु, लकि बास्टार्ड” लाइ गालीको रुपमा बुझेर आफू रिसाएको कुरा पनि गरें। यि सब कुरा पछि हामी खुब हास्यौँ। तर मलाइ लाग्छ, पिटर यदि डाक्टर भएको भए उसले तुरुन्तै मेरो स्वास्थ्य सम्बन्धि फाइलमा ‘बाइपोलर ब्यक्तित्व’ को ट्याग झुन्डाइदिईसकेको हुन्थ्यो होला।

सोध्यो ‘के तपाई व्हाइट हाउसमा भाषाविदको रूपमा काम गर्नका लागि इच्छुक हुनुहुन्छ ?’ के खोज्छस काना आँखो । हिन्दी, नेपाली र संस्कृत भाषा ज्ञान सम्बन्धि परीक्षाका चरणहरु शुरु भए। तेस्रो चरणमा म फेल भएँ । अरु सबै पनि फेल भएछन।

घर आउँदै गर्दा गाडिमै घोत्लिन थालें – जीवनमा म कति पल्ट र कसरी ‘लक्कि बास्टर्ड’ सावित भएको हुँला त? फर्केर हेर्दा थाहा लाग्यो, नितान्त एक्ला एबम पिल्पिले पलहरुले मलाइ स्वयम प्रति बिश्वास गर्न प्रेरित गरी मेहेनती बनाएका रहेछन र “लकि बास्टर्ड” बनाएर छोडेका रहेछन ।

१९औं शताब्दिका नामुद जर्मन दर्शनशास्त्री फ्रिडरिक निचेले १८८८ मा ब्यक्त गरेको प्रसिद्ध भनाइ याद आयोः “जीवन नामक युद्धको पाठशालामा जुन कुराले मलाइ मार्न सक्दैन त्यसैले मलाइ बलियो बनाएर छोड्छ।”

धेरै मध्ये तीन प्रसंगहरु उल्लेख गर्न चाहेँ:

सन १९८९ मा म १८ पुगेर १९ वर्षमा लाग्दै थिएँ। बहिनीहरु क्रमशः १४ र ९ वर्षका थिए। आमाले संयुक्त परिवारबाट छुट्टिएर बस्ने गरी अंश माग गर्नु भएको थियो। तर मेरो मुटु भने किन किन दशैंमा खसि काटेर केराको पातमाथि भाग लगाईएका मासुका साना साना थुप्रा जस्तै टुक्रा टुक्रा भएको थियो। ‘लोग्ने मान्छे भएर रुनु हुन्न’ भन्ने सुनेको थिएँ। त्यसैले होला पीडा जति आँसु बनेर बाहिर निस्कन नसकी भित्र भित्रबाटै घाँटीमा आएर भरिएको हुन्थ्यो। आफूलाइ कमिला भन्दा पनि सानो र निरीह महशुस गरिरहेको अवस्था थियो। ऐनामा हेर्ने आँट गर्न छोडेको धेरै दिन भैसकेको थियो। नारायण गोपालका बियोगले भरिएका गीत मात्रै सुन्न मन लाग्थ्यो। दिनहरु एकदमै लामा प्रतित हुन्थे। निष्पट्ट काला रातहरु झनै युग जस्तै लामा र कष्टकर थिए !

त्यत्तिकैमा दाजु (ठूलो बुबाको छोरा) मणिग्राममा साँझ रिक्सा नपाएकोले हिँडेर आउँदै हुनुहुँदोरहेछ । त्यो कुरा नजिकै बर्मेली टोलबाट साइकलमा आएको हाम्रो अलिक टाढाको नाता पर्ने मानिसले भने पछि म उहाँलाइ लिन जाने भनी साइकल टिपेर हुइँकिएँ। दुखिरहेको मनले शायद सान्त्वना खोजिरहेको थियो। उहाँलाइ शिवपुर हाइ स्कूल हुँदै एक्लै आउँदै गरेको भेटें। साइकल रोकें। उहाँ पछाडिको सिटमा राखेर मैले घर ल्याएँ । घरभरीमा उहाँ हक्कि स्वभाव भएको मान्छे हुनुहुन्थ्यो जस्तो लाग्थ्यो। बैंकमा जागीर गर्नुहुन्थ्यो। ममा उहाँ मेरो अध्ययनको ब्यवस्थाका लागि अन्तिम आशाको दियो बन्नुहुनेछ भन्ने लागेको थियो। मलाइ अंशबण्डा भन्दा पनि अध्ययनलाइ कसरि निरन्तरता दिन सकिन्छ होला भन्ने अज्ञात भयले सताइरहेको थियो। बाटोमा दाजुले मेरो अध्ययनको ब्यवस्था बारे केहि कुरा गर्नुहोला भन्ने लागेको थियो। तर केहि पनि भन्नु भएन।

घर पुगेपछि पनि केहि कुरा भएनन्। दुइ दिन पछि दाजुलाइ जसरि ल्याएको थिएँ त्यसैगरी मणिग्रामसम्म साइकलमा छोड्न गएँ। दाजुले त्यो हदसम्मको उदासिनता देखाउनुहोला भन्ने संकेत मात्र पाएको भए हृदय त्यति टुट्दैन्थ्यो होला जति टुट्यो। एउटा सुकेको रूख ढले जस्तै गरी मनको तटमा बडो ठूलो आवाज निकालेर गर्लम्म बझारियो । तर त्यो टुटाइको आवाज सुन्ने म बाहेक कोहि थिएन। एउटा अन्तिम आशाको दियो निभेर अँध्यारो भएको अवस्था थियो।

“जीवन नामक युद्धको पाठशालामा जुन कुराले मलाइ मार्न सक्दैन त्यसैले मलाइ बलियो बनाएर छोड्छ।”

कुखुराको फुल फुटेर नै चल्ला जन्मन्छ भने जस्तै मन टुक्रिएर मेरो ब्यक्तित्वले जन्म लिंदैछ भन्ने कुरा त्यतिबेलै मलाइ कसरि थाहा होस! त्यो साँझ मेरो दोस्रो जन्म भैरहेको थियो। सहाराको लागि मसँग दुइ वटा बिकल्प मात्रै बाँकि थिएः डुबेर मर्ने वा पौडी खेलेर खरो उत्रने। मैले आफैं पौडी खेलेर तैरिने अनि बिस्तारै किनारामा पुग्ने निधो गरेको थिएँ। जीवनमा जान्नुपर्ने त्यत्ति मात्रै रहेछ। अरु सबै ज्ञान बुद्धि बिलासका कुरा रहेछन।

त्यो घटना पछि मैले घाम जस्तै छर्लंग बुझें, हामीले धानका खेतमा झारको गोड्मेल किन गर्दा रहेछौं भनेर। मैले झार रुपी ति सान्त्वना / आश्वासन / आशाको खोजीमा आफूलाइ जेलिरहेको थिएँ । हानी पुर्याईरहेको थिएँ भन्ने कुरा स्पष्ट भएपछि मलाइ जीवनको गति समात्न बेर लागेन। मैले कुनै कुरामा कसैको आशा गर्न छोडें। समय समयमा भैरहवा, बुटवल अनि काठमाडौंका रोजगारदाताहरुबाट महिनौंसम्म काम गर्दा पनि पारिश्रमिक हात नपर्दा, ठगिनु पर्दा निराशा र ब्यग्रताका झारहरुले मलाइ जेल्न, ढाक्न नखोजेका होइनन् । तर ति समस्या, डर र आशाका झारबाट जेलिएर निसास्सिनु अघि म कसो कसो आफू कहाँ छु र कसरि अगाडि बढिरहेको छु भन्ने ज्ञानले नियन्त्रित हुन्थें र जेलिनबाट बच्थें। त्यसपछि त आफू वरिपरि त्यस्ता झार पलाउने अवसर नै दिईन जसले केहि समय पछि मलाइ नै निमोठ्न थालुन। मैले निरन्तर आफूलाइ मात्र बिश्वास गरें र अगाडि बढें।

दोस्रो प्रसंगः

अमेरिका आएपछि वाशिंटन पोस्टको जागीरले मलाइ भर्जिनिया जस्तो महँगो ठाउँमा दुइ छोरा छोरी सहितको परिवारसँग बाँच्न मात्र सक्ने आर्थिक हैसियतमा सिमित गरेको थियो। इमान्दारितापूर्वक लेखेर बाँच्ने पत्रकारले कहिंपनि परिवारलाइ सुख सुबिस्तामा राख्न सकेको देखेको थिईन। पूँजिवादी मूलुकमा आएपछि पनि पत्रकारिता छोड्न नसक्नु शायद मेरो उक्त पेशा प्रतिको अनावश्यक लगाव र आफूले त्यो काम मात्रै जान्नुको बाध्यता थियो क्यार! के गरेर यो पेशा छोड्ने होला भनी चिन्तामग्न थिएँ।

यस्तैमा आर्थर इन्सानाले क्यालिफोर्नियाबाट फोन गर्यो। अमेरिकाको अति प्रसिद्ध रान्डम हाउस प्रकाशन गृहका लागि ठेक्कामा काम गर्दो रहेछ। फोनमा भन्यो, “डेविड रेलिन बितेको वर्ष दिन भैसक्यो। अन्ततः हाम्रो कम्पनीले उनको अन्तिम पुस्तक “सेकेण्ड सन्स” (अर्थात ‘दोस्रा सूर्यहरु’) लाइ अन्तिम रूप दिने निर्णय गरेको छ। अब हामीलाइ अंग्रेजी र नेपाली भाषा जानेको पत्रकार मात्र होइन कि नेपालको भूगोल, संस्कृति र हिमाली क्षेत्रतिर बोलिने बिभिन्न भाषिकाहरुबारे पनि हेक्का भएको एक सक्षम मानिस चाहिएको छ ताकि उनको किताबलाइ तोकिएको समय भित्रै “सम्पादन सहयोग”, “फ्याक्ट चेक” र “अडियो भोइस ओभर करेक्सन” गर्न सकियोस। नेपाली दुताबासले तिम्रो नाम दियो। हामीसँग काम गर्ने इच्छा भए कृपया तिम्रो बायो डाटा पठाइदेउ।”

लोग्ने मान्छे भएर रुनुहुन्न भन्ने सुनेको थिएँ। त्यसैले होला पीडा जति आँसु बनेर बाहिर निस्कन नसकी भित्रबाटै घाँटीमा आएर भरिएको हुन्थ्यो। आफूलाइ कमिला भन्दा पनि सानो र निरीह महशुस गरिरहेको अवस्था थियो। ऐनामा आफूलाइ हेर्ने आँट गर्न छोडेको धेरै दिन भैसकेको थियो।

मैले कम्प्युटरमा डेविड रेलिन र सेकेण्ड सन्स बारे खोज्ने प्रयास गरें। रेलिनले ग्रेग मोर्टेन्सन सँगको सहकार्यमा लेखेको बिश्व प्रसिद्ध “चियाका तीन प्यालाहरु” र उसले आत्महत्या गरेको कुरा बाहेक उनका अपुरा कामहरु बारे त्यति धेरै सुचना भेटिएनन् ।

इन्सानालाइ फोन गरें। उसले रेलिनको अन्तिम प्रोजेक्ट नेपालको आँखा डाक्टर सन्दुक रुइत र अमेरिकी डाक्टर जेफरि टबिनको मोतियाबिन्दु रोगबाट ग्रस्त हिमालय क्षेत्रमा बस्ने मानिसहरुलाइ ध्यानमा राखेर गरिएको निशुल्क आँखा उपचार शिविर बारे लेखिएको बतायो। त्यो सुन्दा साथ मैले पैसाको केहि कुरा नगरी तुरुन्त आफ्नो बायो डाटा पठाएँ। उक्त किताबको सम्पादन प्रकृयामा सामेल हुन पाउनु नै मेरो लागि धेरै ठूलो कुरा थियो। मलाइ यो पनि थाहा थियो, मेरा लागि त्यो धेरै अर्थमा एक अपूर्व अवसर साबित हुँदै थियो । म नेपालमा हुँदा ति डा. रुइत नै थिए जसले भारतको मदुरईमा समेत पत्तालाग्न नसकेको मेरो आँखाभित्र बल्झिएको समस्यालाइ ‘डायग्नोज’ गरी शल्यकृयाका लागि शिफारिस गरेका थिए। त्यसको दुइ दिन पछि इन्सानाले सम्झौता पत्र ईमेल गर्यो । मैले वाशिंटन पोस्टबाट बिदा लिएँ । रेलिनको “सेकेण्ड सन्स” प्रोजेक्टमा काम गरेपछि म फेरि एक पटक “लक्कि बास्टार्ड भैसकेको थिएँ । त्यसपछि जागिरका लागि मैले लामो समयसम्म कतै निबेदन पेश गर्नु परेन।

तेस्रो प्रसंगः

४७ वर्ष पुगिसक्दा भिन्दा भिन्दै स्थान एबम भिन्दा भिन्दै परिस्थितिमा मैले धेरै संघर्ष र त्यसै अनुसारका उपलब्धि प्राप्त गरिसकेको थिएँ । तर पनि म बाँकि भविष्यको मामिलामा चाहिं अलिक बेपर्वाह नै थिएँ भन्दा फरक नपर्ला। उत्तर-आधुनिक पश्चिमा साहित्यले क्याम्पस पढ्दा देखि नै मेरो दिमागमा जीवनको निरर्थकताको आगो सल्काइदिएकोले मैले जीवनलाइ धेरैजसो त्यो मार्गबाट कुँदेको देख्थें जो अरुले शायद देख्दैनथे। गरिरहेको कामप्रति मेरो रुचि निरन्तर घट्दै गैरहेको थियो। जीवनको ब्यवस्था प्रतिनै लगाव घट्दै गैरहेको थियो। धेरै वर्ष अघि छोडेको काम प्रतिको धङधनीले गिजोलिरहेको थियो। अनुभव र योग्यता अनुसारको नयाँ काम खोज्ने जाँगर मरिरहेको थियो। श्रीमतीजीले ‘फलानो जागीरको लागि निबेदन दिनुभयो ?’ भनेर सोधेपछि तयारी बिना हतार हतार निबेदन दिन्थें । अनि भन्थें “अँ, दिएकोछु; अन्तरवार्तामा बोलाउलान् नि।”

टड फिलिप्सद्वारा निर्देशित ‘जोकर’ नामक फिल्म चौथो पटक हेर्दै गरेको रंगे हात समाते पछि उनको रीसको पारो चढ्नु एकदमै जायज थियो। त्यसको अर्को दिन उनले मलाइ मेरो टार्न खोज्ने प्रयासलाइ असफल बनाउँदै डाक्टरकोमा लिएर गइन् । बल्ल थाहा पाएँ, म त केहि मेसो नपाइकनै ‘मिड-लाइफ क्राइसिस’को उत्कर्षमा रहेछु । ज्याकलीन फिनिक्स र म आ-आफूले बनाएका छाँगाबाट एक साथ खसिरहेका रहेछौँ।

त्यसपछिका केहि दिनहरु त्यति सुखद रहेनन् । म र जीवन बिच ताल मेल मिलिरहेको थिएन। मैले जीवनलाइ दोष नै दिन्नथें तर जीवनले मलाइ एकोहोरो टोकिरहन्थ्यो। मसँग जीवनका बिरुद्ध लाखौं प्रश्न हुन्थे तर पनि म सोध्दिनथें । तर जीवनले भने मलाइ नालायक एवम अल्छी करार गरिसकेको अवस्था थियो, यद्द्पि म बिहान उठेदेखि राति नसुत्दासम्म केहि न केहि गरिरहेको हुन्थें। जीवन र म बिच दुश्मनी यो हदसम्म पुगेको थियो कि हामीले एक अर्कालाइ हेर्न पनि चाहान्नथ्यौं। तर त्यो घृणा-युद्ध रुस र युक्रेनको जस्तो लामो समयसम्म टिक्न पाएन।

एक दिन कसैले फोन गर्यो र सोध्यो, कतै म अझै पनि उपयुक्त जागिरको खोजिगरिरहेको त छैन ? मैले मनपर्ने कामको खोजी कायमै छ भनें। उसले मलाइ लिंक्डिनमा भेटेको जिकिर गर्यो। सोध्यो ‘के म ‘के तपाई व्हाइट हाउसमा भाषाविदको रूपमा काम गर्नका लागि इच्छुक हुनुहुन्छ ?’ के खोज्छस काना आँखो । हिन्दी, नेपाली र संस्कृत भाषा ज्ञान सम्बन्धि परीक्षाका चरणहरु शुरु भए। तेस्रो चरणमा म फेल भएँ । अरु बाँकि पनि फेल भएछन। केहि दिन पछि फेरि त्यहि नम्बरबाट फोन आयो। परीक्षाको अर्को मौका दिईयो। पास भएँ। पृष्ठभुमि सम्बन्धि अन्तरिम सफाइ आउन तिन महिना लाग्यो। पूरा सफाइ आएपछि नियुक्ति लिएँ।

व्हाइट हाउसले ‘अन कल’ मा रहेका कर्मचारीलाइ वार्षिक पार्टीमा बोलाउँदैन। यदि बोलाउँदो हो त त्यहाँको कुनै पिटरले मलाइ हुर्रिंदै आएर अँगालो हाल्दै भन्दो होः “यु, लकि बास्टार्ड”!

तपाइँको प्रतिक्रिया