बिहीबार, मंसिर २०, २०८१

‘सेक्स अन द विच : अ ककटेल-५’

निल थापा / कोपेनहेगन, डेनमार्क२०७९ चैत १२ गते १७:४०

(‘सेक्स अन द विच : अ ककटेल !’ पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस र दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस, तेसो भाग हेर्न यहाँ क्लिक गर्नुहोला र चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला )

सात समुन्द्र पारी गएर सुन्दर जिवन बिताउने कल्पना गरेर बिहे गरेर भित्रेको घरमा। मेरो अस्तित्व लुटियो। त्यो पनि आफ्नै श्रीमानबाट।
……..

लेखक नील थापा

रुषाले यति शब्द पूरा गरिसक्दा म स्तब्ध भएँ । उसले साँच्चै भनेकि छे या झुटा कहानी सुनाउँदै छे। पत्याऊँ कि नपत्याउँ भयो । उसको आँखाबाट आँसु खसे। भित्रबाटै मन रोएर आयो। आँसु देखाउदिन भन्दा भन्दै मेरा पनि आँखा रसाए।

रुबिनालाई हेरें। उसले मलिनो अनुहार पारी । उसका आँखामा आँसु देखिन। सायद उसले पहिल्यै यो कुरा सुनिसकेकि छे।

मैले चटपटे खाएजस्तो गरेर भनेँ ‘ओहो कस्तो पिरो।’ पिरोको बहानाले मलाई आँसु बगाउन सजिलो भयो। मन हलुका पारेँ।

रुषाले सोधीहाली ‘धेरै पिरो भयो र?’ म चुप बसेँ।

‘कति धेरै खुर्सानी हालेकी’ रुबिनालाई ठूलो स्वर गरि उसले । रुबिनाले कुरा बुझि। उ पनि चुपचाप बसि।

मैले पानी मागें । रुबिनाले दिई। पानी घटघट पिएँ।

‘एकछिन है। म मुख धोएर आउँछु’ मैले बाथरुम जाने अनुमति मागें । वाथरुममा मैले चिसो पानीले मुख धोएँ। वाईनले मुख सुकाएको थियो। रुषाको कुराले मेरो बोली नै सुकायो । भित्रबाट मन भारी भएको थियो ।

म बाहिर आएपछि रुबिनाले भनीहाली ‘पिरो भए चटपटे नखानु।’ मैले सहमती जनाएँ ।

हामी सबैको प्लेटमा चटपटे थियो। तर वाईनको गिलास भने रित्तो थियो। मैले कुरा अगाडि बढाएँ ‘वाईन थपौं न त।’ यो पटक रुबिनाले बोतल अगाडि सारी।

मैले रुषालाई सोधेँ ‘अनि त्यसपछि के भयो त?’

रुषाले जवाफ दिई ‘अझै सुन्नु हुन्छ र ?’

‘पख्नुस है। म पानी खान्छु।’ उसले पनि घटघट पानी पिई। त्यसपछि अलि उज्यालो अनुहार पारी ।

मैले भनेँ ‘तिमीलाई गार्हो हुँदैन भने सुनाऊ। नत्र छाडिदेऊ।’

रुबिनाले बिच्चैमा बोली ‘हे रमाईलो कुरा गरम न। घुम्नआको बेला। के आफ्नो दु:ख भनेर बस्नु।’

‘नाच्न मन छ र तिमीलाई ?’ मैले रुखो प्रश्न गरेँ रुबिनालाई।

ऊ जवाफ नदिई फुस्रो हाँसो हाँसी। सायद! मन मन सोचीहोला कस्तो टिमुरक्या मान्छे परेछ यो ?

रुषाले वाईन भरेको गिलास म तिर सार्दै कुरा अगाडि बढाइ ‘त्यो रातको घटनाले म विक्षिप्त भएँ । रातव्कसरी बिते म आफैंलाई सम्झना छैन। बिहान झुल्के घाम देखिए । तर मेरो लागि साउने झरि झैं भयो। तन मन सबै रुझेका छन् ।

ऊ कोठामा केही नभएझैं सुतिरहेको थियो। म नुहाउन बाथरुम तिर लागेँ। नुहाएर आउँदा ऊ कोठामा छैन। सासुआमाले ठूलो स्वरमा बोलेको सुनें। कोठा बाहिर निस्कँदै थिएँ। सासुले छोरालाई गालि गर्दै रहिछन् । ऊ भने गेट खोलेर मोटरसाईकल लिएर हिड्न लागेको रहेछ।

मैले यति सुनें ‘यस्ता छोरा हुनुभन्दा नहुनु नै बेस।’ सासू बार्दलीमा भक्कानियर रुन थालिन।

छोराले मोटरसाइकल निकाल्न लाग्दा ससुराबाले कराए ‘के जात्रा गर्याछस् सधैंको ? माथि आईज गधा। त संग कुरा गर्नु छ।’

ससुरा माथि बार्दलीबाटै झरुँला जसरी कराए । उसले एक पटक पनि बाऊलाई हेरेन। मोटरसाईकल हुईक्याएर हिँड्यो।

हामी सबै उसको लागि मोटरसाइकलले फालेको धुवाँ झै भयौं। ऊ दौडियो । मलाई असाध्यै डर लाग्यो। म भान्सातिर लागें। सासू रुँदै भान्सातिर आईन।

सोधीन् ‘तिमीलाई हातपात त गरेन नी ?’

देखाउन मन थियो ‘तिम्रो छोराले यो गर्यो’ भनेर । भन्न मन थियो ‘आहा ! तिम्रो छोरा कति बलशाली’ भनेर। सोध्न मन थियो ‘तिम्रो दशधारा दूध कस्तो रहेछ ? भनेर । नाङ्गो नाच्न मन थियो, निरलज्ज । हाँस्न मन थियो ‘तिम्रो सुन्दर घरभित्रको मानसिक रोगी हुँ म।’

मेरा यी रिसका वेगले गर्नसक्ने केही थिएन। सहेर बस्नु बाहेक। समानता महिला भएपनि उनी र म विच फरक थियो। ऊनी एक कुपुत्र सन्तान कि आमा थिईन् । म एक कुकर्मी पुरुषको श्रीमती । उनी सासू थिईन् म बुहारी थिएँ ।

म सासुलाई जवाफ दिन नसक्ने अवस्थामा पुगें। मन भक्कानिएर आयो। डाँको छोडेर रोए। सासू आमा म भन्दा बढी रुन थालिन्।

ससुराबा आएर हामी दुबैलाई सम्झाए। हामी अलि शान्त भयौं।

दिउँसो खाना खाएर आराम गर्देै बसेको थिएँ। ऊ मोटरसाईकल लिएर आईपुग्यो। छोरालाई देखेर आमाले कराउन लागिन्। ससुरा बा र सासू पालो-पालो सम्झाउन लागे। ऊ भने बोलेन । आमा बाऊको कुरा मात्र सुनेर बस्यो।

मलाई भने डर थियो। बेलुका केहि गर्छ कि फेरी । बेलुका ऊ घरबाहिर निस्केन। म ऊसँग बोलिन । साँझ खाना खाएर सुत्ने बेला ‘आई एम सरी! अब देखि यस्तो गर्दिन’ भन्यो।

म रुन थालें। उसले फेरि भन्यो ‘कसम अबदेखि केही खाँदिन म।’

म बोल्दै नबोली टोलाएर बसें। ऊसले केही गरेन । ‘सरि’ मात्र भनेर सुत्यो ।

म रातभरि अघिल्लो दिनको कुरा सम्झेर सुत्न सकिन। मनमा डर पनि थियो। भोलि पल्ट ऊसले घर छाडेन । भोलिपल्ट पनि बा आमाले उसलाई सम्झाए। ऊ भने चुप नै बस्यो।

यसैगरि उसले दुई तिन दिन घर छाडेन। ऊ घर भएपनि म ऊसँग बोलिन। बिस्तारै ऊ अलि सुध्रन्छ कि जस्तो लाग्यो पनि। तरपनि मैले ऊसँग दोहोरो कुरा गरिन । सासू ससुराले पनि मलाई र ऊसलाई सँगै राखेर सम्झाउँथे। यो क्रम चल्दै गयो। तर पनि ऊ र म बिच बोलचाल भएन । यसरी दिन समय बिते।

मलाई ऊ श्रीमान जस्तो पनि लाग्न छाड्यो। ऊ प्रति दया माया केही पनि लाग्न छाड्यो। ऊसलाई देख्यो कि रिस मात्र उठ्ने । हामीबिच नत भावनात्मक सम्बन्ध भए। नत शारीरिक । यसरी महिना बित्यो।

एकदिन अचानक मलाई बान्ता आयो। खान मन लागेन। टाउको दुख्यो। सासुले घरधन्दाको काम गरिन्।

भोलिपल्ट पनि त्यस्तै भयो। सासुलाई भनें ‘मलाई सन्चो भएन।’ सासुले महिनाबारीका कुरा सोधिन्। मैले ‘भएको छैन। समय चैं भयो’ भने। उनी त खुसि पो भईन् ।

‘एक हप्ता कुर तिमी त आमा बन्न लाग्या जस्तो छ’ भनिन। उनी सार्है खुसि देखिईन् ।

एक हप्तामा नि मेरो महिनाबारी भएन। सासू आमा र म जचाउन गयौं। दैवको लिला अचम्म। दुई वर्ष अगाडि बिहे गरेर भित्रेकि म। यतिका दिन सम्म केही भएन । जुन दिन भगवान श्रीकृष्णको फोटो अगाडि नाङ्गिन बाध्य भएँ। आज यो खबर सुन्नु पर्यो। म गर्भवति भएँ। सासू आमा खुसि भईन्। घर परिवार सबैलाई सुनाउन भ्याईन।

‘अब घरको काम नगर। ठूलो काम गर्नु हुँदैन। पढेर मात्र बस। धेरै अबेला नसुत्नु। के के खान मन लाग्छ भन्नू’ भन्दै नाचुँला जस्तो पो गर्न थालिन् । छोरालाई पनि सुनाउन भ्याईन। उसले केही नभएको झैं गर्यो।

सासुले नै माईतमा फोन गरेर भन भनिन्। नजिक भएपनि म माईत नगएको एकमहिना बढि भएको थियो। जुनदिन श्रीमानले त्यस्तो व्यवहार गर्यो त्यहाँ देखि म माईत गएको थिईन। त्यो दिनको घटना सम्झें। अनि श्रीकृष्णलाई सम्झें – हे कृष्ण तिम्रो लिला ।

दुईतीन दिन पछि मैले सासुसँग माईत जाने अनुमति मागें। उनले खुसि हुँदै छोरासँग जाऊ भन्दै धेरै कोसेलीका साथ तयार गर्दिईन। छोराले जान मानेन। म एक्लै गएँ।

माईततिर सबै खुसि भए। यसरी अरुको खुसी को लागि मैले सबै पीडा लुकाएँ। त्यो दिनको घटना मैले कसैलाई सुनाउन सकिन।

मलाई दुईजिऊ कि हुनु अथवा आमा बन्नुले त्यति खुसि बनाएन। जति दुखि अब पढाइ के हुन्छ भन्ने कुराले बनायो।

समय कट्दै गयो। पढ्न छाडिन। दोस्रो वर्षको परीक्षा दिएँ। यता मेरो शरीर बढ्दै गयो। दुई चार महिना गर्दा गर्दै मेरो डेलिभरिको समय आयो। बिना दुख बिना भन्झट बच्चा जन्मियो । त्यो पनि आफनै कोठामा। नौ महिना अगाडि मलाई नाङ्गो देखेका भित्ताका श्रीकृष्णले पुन मलाई पिडामा देखे। अनि देखे उनले मेरो नाङ्गो छोरो। घरपरिवार माईत आफन्त सबै खुसि भए। बिस्तारै घरपरिवार सबैमा खुसि को कुरा बढ्दै गयो।

ग्रह, नक्षत्र, जन्मेको ठाउँ, समय, बार हेरेर पंडितले छोराको नाम राखिदिए-प्रधुम्न। संयोगनै मान्नु पर्छ। श्रीकृष्ण र रुक्मणिको जेठो छोराको नामसँग मेरो छोराको नाम जुध्यो। मैले फेरि सम्झें-हे श्री कृष्ण।

मेरो यता छोरो जन्मियो । केही समय पछि रिजल्ट पनि भयो। म पास भएँ। घरमा अर्कै किसिमको खुसि पलाउँदै गयो। ऊसलाई भने त्यति खुसि थिएन। तर घर छाडेर हिंड्न भने अलि कम गरेको थियो। प्राय टोलाउने, एक्लै बस्ने भने गरिरहन्थ्यो।

त्यो बिचमा उसको दाइ भाउजू पनि अष्ट्रेलियाबाट नेपाल आए।

समयक्रम सँगै छ महिना बित्यो। हामीले धुमधामसँग पार्टि गरेर पधुम्नको अन्नप्राशन (भातखुवाई) गर्‍यौं । मेरो बुढाले पढ्न छाड्यो भनेनै हुन्छ। उसको ब्यबहारले घरका सबैलाई ऊसको चिन्ता थियो। डिप्रेसनको रोगी हुन्छ कि भन्ने डर भयो। बुढालाई सुधार्न सकिन्छ जस्तो मलाई नि लागेन।

दाइ भाउजुले मेरो पढाइ राम्रो देखेर हौसला दिनु भयो। ‘अब एक वर्ष राम्रो पढ। अनि त आउन पाईहाल्छौ नी।’ यसरी हामी बुढाबुढि बिच जे जस्तो सम्बन्ध भए पनि घरपरिवार, माईत अनि समाजको लागि म सबै सहेर बसें।

समय क्रमसँग अगाडि बढ्दै जादा पढाइ सकियो। भाग्य भनौं या मेरो मेहनत। मैले मिहेनत गरे अनुसार मेरो बिबिएसको पढाइ सकियो। अब बिदेश जान बाटो खुल्यो भन्ने भयो। बिस्तारै म अग्रेजी भाषाको तयारीमा लागें। समय क्रम अनुसार छोरा पनि हुर्कँदै गयो। बुढाको ताल भने उस्तै थियो। उसलाई छोरा प्रति पनि माया थिएन। तर पहिलाको जस्तो घर राति आउने बानीमा सुधार चैं थियो। घरमा बसेपनि उसलाई आमा बाबू हाम्रो बारेमा चिन्ता थिएन।

अष्ट्रेलिया दाईले भने अनुसार विदेश जान सबै डकुमेन्ट तयार पार्यौ। बुढाले जान मानेन। सासू आमाले सम्झाईन् । तर पनि ऊ, म विदेश जान्न भनेर बस्यो। घुमेर, बसेर, बाबू आमाको अनि दाईको कमाई खाई। सुकुलगुन्डा भएर हिँडेको ऊ। के विदेश जान खोज्थ्यो र?

मैले आई ई एल टि एस को जाँच दिएँ। राम्रो नम्बर आएन। त्यही नि हुन्छ कि भन्ने आशा थियो। हामीले दाईको सल्लाह अनुसार भिसाको लागि कलेज अप्लाई गर्यौ। कलेजले अस्विकार गर्यो। कलेजले भाषा टेष्ट (आई ई एल टि एस) मा सबैमा छ (सिक्स) हुनुपर्छ । भन्ने निर्णय गर्यो। मेरो कुनैमा पाँच पोईन्ट पाँच (फाईभ पोइन्ट फाईभ) थियो। हाम्रो भिसा रिजेक्ट भयो।

बुढालाई केही छोएन यो कुराले । सासू, ससुरा सार्है चिन्तित भए। उनिहरु छोरा सुध्रन्छ कि भन्ने आशाले पनि विदेश पठाउन चाहन्थे। मलाई भने सार्है दुखि बनायो यो कुराले। तर उता अष्ट्रेलियाबाट दाइले नै सान्त्वना दिनुभयो। यता रिजेक्ट भएर केही हुँदैन। बेलायत अलि गार्हो छ । बरु डेनमार्क अप्लाई गर सजिलै भिसा दिन्छ।पैसा म पठाईदिन्छु।

अष्ट्रेलिया दाईकै सल्लाह बमोजिम। फेरि डेनमार्क जाने सपना बुन्दै कनसलटेन्सि धाएँ म । कनसल्टेन्सिले भन्यो ‘एकलै जानुस। बुढाबुढी हुदाँ रिजेक्ट हुने चान्स धेरै छ अहिले । पछि भिसा लागेपछि उतैबाट एकदुई महिना पछि बोलाउँदा सजिलो हुन्छ।

घरपरिवार सल्लाह भयो। मलाई एक्लै जाने सल्लाह दिए सबैले। सासू आमा मलाई विदेश पठाउन चाहन्थिन् ताकि मेरो साथले उनको छोरा पनि विदेशिने छ। घरमा बिग्रेको छोरा आँखा अगाडि हुनुभन्दा टाढा भएकै बेस होस् भन्ने चाहन्थिन उनी।

अब मलाई चिन्ता भयो आफ्नो छोराको। घरपरिवार माईतीको सल्लाह अनुसार छोरालाई मेरो माईतीघरमा छाड्ने कुरा भयो। मैले एक्लै भिसाको लागि विधार्थी भिसामा अप्लाई गरें।

भाग्यले साथ दियो यो पटक। भिसा लाग्यो। म डेनमार्क पढ्न जान पाउने भएँ। मैले दुई वर्षको छोरा माईती घरमा छाडेर हातमा पासपोर्ट च्याप्दै एक्लै विदेश उडें ।

“हवाई जहाज चडेर उड्दा अनेक सपना बुनें। छोरा सम्झें। घरपरिवार सम्झें। बुढाको आनीबानी सम्झें। आफ्नै घरभित्रको दर्दनाक घटना सम्झें। नेपालबाट उडेको केही घन्टामा कतार पुगें। कतारबाट डेनमार्क जाने सिलसिलामा कतार ट्रान्जिटमा अरु नयाँ विधार्थि साथीहरु भेटिए। यसै क्रममा यो रुबिनालाई पनि भेटें। ऊ पनि सानो छोराका साथमा थिई। यसको बुढा डेनमार्क आएको छ महिना भएको रहेछ त्यतिखेर। ‘बिध्यार्थी भिसामा नै हो’ भन्थी। त्यहि दिनबाट हामी साथी भयौं। आजसम्म पनि साथी छौं ।” यति भनेर उसले कुरा रोकि।

रुषाले कुरा रोकेपछि दुबै मुखामुख गरेर हाँसे। रुबिना केही भन्न खोज्दै थिई। उसले रोकि। ‘तपाँईलाई गफको सुरमा वाईन हाल्नै भुलिछे यसले’ रुबिना तिर हेर्दै वाईनको बोतल तानी रुषाले ।

रुषाको गफ सुन्दै हामीले दुई बोतल वाईन पिएछौं।

अन्तिम बोतल वाईन खोल्दै फेरि कुरा अगाडि बढाई-

‘यहाँ डेनमार्क आएपछि। यहि रुबिनाको बुढा मार्फत कोठा,काम खोजें। हामी सँगै एउटै घरमा बस्न थाल्यौं। एउटा घरमा तीन रुम थियो। एउटामा घरबेटी। एउटा रुममा रुबिनाको परिवार अनि एउटा सानो रुममा म बस्थें । सुरुमा सार्है नरमाइलो लाग्यो मलाई। घरपरिवारबाट टाढा हुँदाको पारिवारिक विछोड। बालख छोरो छाडेर आएको पीडा। यहाँ विदेशको दु:खिया जिन्दगी। अनि जिवनमा भोगेका अनगिन्ती पीडा।’

उसले थप्दै गई- तरपनि मैले हरेस खाईन। हार मानिन। सघर्ष गर्दै गएँ। पढाइ र काम निरन्तर दिँदै गएँ । समय वित्दै गयो। म विदेश आएको पनि छ महिना बित्यो। काम गरेर कलेज फि तिर्न गार्हो। त्यहीपनि कमाएर कसैलाई दिनु नपर्ने। जिनतिन चल्दै थियो। सासू ससुरा र अष्ट्रेलिया बस्ने दाईले सबै आर्थिक सहयोग गरे। छ महिना पछि परिवार सल्लाह अनुसार बुढालाई बोलाउने कुरा भयो। मलाई डर लाग्यो। बुढाभने आऊँन मन नगर्ने। मलाई पनि भित्र मन देखि बोलाउन मन थिएन। सासू ससुरा र अष्ट्रेलिया बस्ने दाईको कारण बोलाउनु पर्ने बाध्यता थियो। पैसा जति लागोस्। उनिहरु जसरी पनि आफ्नो छोरा अनि भाईलाई विदेश पठाउन चाहन्थे।

उनिहरुको आफन्त ईटली र स्पेनमा थिए। भिसा लागेर गयो भने उतै बस्छ पनि भन्थे। उनिहरुले मेरो लागि पनि पैसा खर्च गर्न लोभ गरेनन् । धेरै बुहारीहरुको लागि सासू छुचि हुन्छन्। मेरो लागि सासू आमा बराबर नै थिईन्। उनले मलाई हरेक कुरामा सहयोग गरिन्।

मलाई भने बुढालाई यहाँ ल्याएर आफूलाई बोझ थप्नु थिएन। तर के गर्नु ? फेरि परिवारकै दबाबमा बोलाउने निर्णयमा पुगें।

अब समस्या ! आए पछि उसको व्यवहार कस्तो हुन्छ? आनीबानी कस्तो हुन्छ? यहाँ कोठा काम पाउन मुस्किल। उसको र मेरो नेपाल मै सम्बन्ध राम्रो थिएन। यो त झन युरोप। घरपरिवारसँग हुँदा त कुलतमा लागेको मान्छे। यहाँ त झन। भने जस्तो स्वतन्त्र छ। केही भईहाल्यो भने? यस्ता अनेक भारी प्रश्न तेर्सिए मनमनै। कसैले भने बुढा र छोरालाई सँगै बोलाउने सल्लाह दिए। मैले बुढाको बानीले गर्दा छोरा बोलाउने आँट गर्न सकिन।

छोरा नेपालमै माईती घरमै राख्ने निर्णय गरे । बुढाको भिसाको लागि अप्लाई गरें। दुई महिना पछि बुढाको भिसा लाग्यो। अब बस्न के गर्ने ? फेरि अर्को समस्या थपियो। म एक्लै बस्थें सानो रुममा। उसलाई कहाँ राख्ने अथवा कोठा कहाँ खोज्ने ? फेरि आफैंले निर्णय गरें-फरक फरक ठाउँमा बस्ने। तर घरको ठेगाना भने एकै ठाऊँ राख्ने।

मैलै एकजना नेपाली दाई मार्फत पाकिस्तानीको घरमा ठेगाना राखें। उसैको घरमा सानो कोठा पाएँ। बुढालाई त्यही राख्ने निर्णय गरेर नेपालबाट बोलाएँ ।

नेपालबाट सोध्थे ‘के पठाईदिऊ ?’ मैले आफूलाई चाहिने सामानका साथ छोराको एउटा फोटो मगाएँ।

समय बित्यो। ऊ आउने अघिल्लो दिन म सुत्न सकिन। मनमा अनेक कुरा खेले। ऊ कतार एयरवेजबाट ७ बजे डेनमार्कको कोपेनहेगन एयरपोर्ट झर्यो।

म एयरपोर्ट लिन पुगें। ऊ बाहिर निस्कियो। मलाई मेरो श्रीमान (बुढा) प्रति केही भावना नै जागृत भएन। न त माया नै। बरु कहिले छोराको फोटो हेरुँ भन्ने भयो। ऊ लगेजका साथ ठिङ्ग गेट बाहिर उभिएको थियो। म खालि हात पुगें । उसले मलाई देखेर टाउको झुकायो। मैले सन्चो बिसन्चो केही सोधिन। मात्र ‘जाऊँ’ भनें। ऊ लगेज घिसारेर मेरो पछि लाग्यो।

ट्रेन चढेर मैले उसलाई गन्तव्य तिर लगें। बाटोमा एक शब्द बोलिन म। उसले सोध्यो ‘म सँग अझै रिसाएकि छौ ?’

मैले उसलाई नहेर्या जसरी गोजीमा भएको चस्मा लगाएँ । मन भित्रबाट आँसु आयो। तर बुढाप्रती माया आएन। म भित्रभित्रै रोएँ। रोक्न सकिन । आँसु बाहिरै देखिए ।

जब नयाँ कोठामा पुगें। उसलाई कोठाको बारेमा सबै भनें। भान्छाकोठा र चर्पी देखाई दिएँ। अनि भनें ‘म होस्टल बस्छु। अर्को कोठा नपाउन्जेल तिमी यहाँ बस्। म होस्टल नै बस्छु। अर्को कोठा पाएपछि सँगै बसौला।’ मैले ढाटे उसलाई ।
ऊ अक्क न बक्क भयो।

फेरि सोधें ‘भोक लाग्या छ ?’ उसले यतिमात्र भन्यो ‘छैन।’

मैले भनें ‘ल त्यसो भए तिमी रेष्ट गर। म कलेज जान्छु। भरे आउँछु।’ छेउमा एक बोतल पानी राखिदिएँ। ऊ चुप बस्यो।

फेरि सोधें ‘सामान र छोराको फोटो खोइ?’ उसले लगेज खोल्यो। प्लाष्टिक भित्र भएको फोटोको फ्रेम दियो। समान निकाल्दै थियो। मैले ‘ल तिमी सुत म भरे आउँछु’ भनें। मैले छोराको फोटो भएको प्लाष्टिक बोकेर हिँडें। सामान प्रति ध्यान नै दिईन।

फोटो कहिले हेरुँ हेरुँ भयो। हतार हतार कोठा पुगें। प्लाष्टिक खोलेर हेरें।

पिताम्बर ब्रस्त्रमा सजिएको अर्धनग्न तस्बिर। तल धोती लगाएका। उज्यालो अनुहार। निधारमा सानो चन्दने टिका। शिरमा मयुरको प्वाँख समेतको सानो श्रीपेज । गलामा फूलको मालाका साथ सानो मोतिहार। गाँजलु आँखा। एउटा हातमा सानो बाँसुरी बोकेका । मात्र कमि थियो सुदर्शन चक्रको । लाग्यो ऊ, साँच्चै नै भगवान श्रीकृष्णको दोस्रो रुप हो। मेरो छोरा । मेरो श्रीकृष्ण…..मेरो प्रधुम्न ।

फोटो हेर्दाहेर्दै आँसुका ढिक्का खसे। हात जोड्दै भगवान श्रीकृष्ण लाई सम्झें । अनि बोले। हे कृष्ण ….हे कृष्ण …..हे कृष्ण । जसरी द्रोपदी आफ्नो चिर हरण हुँदा। रक्षार्थका लागि बोलेकि थिईन ।
क्रमश ……

तपाइँको प्रतिक्रिया