आँशुमा देखिने प्रतिविम्ब जस्ता तिलक दाई
मैले अधिर भएर सुनीरहें- पहिलो पटक सुनेको शब्द त्यहि हो- मुर्दाबाद । पश्चिमबाट आएको बस रोकिएको थियो चोकमा । बसको रोशनीले अँध्यारो चिरिएको छ । छतमा बसेका जोशिला युवा या त जिन्दाबाद या मुर्दाबाद चिच्याइरहेका छन् । मैले पहिलो पटक मुर्दाबाद सुनें । बाका हातमा एउटा अबिरको पोको थियो । हतारमा दुगुर्दै हुनुहुन्थ्यो । कस्तो भने भूकम्पले धर्ती हल्लिए जस्तो । भर्खरैको बाढीले वस्ती डुबाउन लागे जस्तो ।
पुरै गाउँ चोकमा उभिएको थियो । के हुँदैछ धेरैलाई थाहा थिएन । कतीको सास बढेको थियो- निकै पर देखी दुगुर्दै आएका थिए कती । किन आएका थिए त्यसको भने मेसो पत्तो थिएन । मैले धेरै सम्झिन बसको छतमा उफ्रिने मान्छेहरुलाई । म आमाको सारीको टुप्पो समातेर अलग्गै छेउमा थिएँ । मेरो चेत खुलेदेखि पहिलोपटक यस्तो देखिएको थियो गाउँ । “टिकोसम्म लगाइदिन सकें” बाले भने “धन्न तिलक रहेछ र यती मेसो मिलायो” । धेरैले टिको पनि दल्न पाएनन् ।
जिन्दाबाद र मुर्दाबादका नारा मलिन बन्दै गएपछी आधा आधीलाई बल्ल थाहा भयो बसको अगाडि अडिएको कारमा बीपी कोइराला थिए भन्ने कुरा । धार्मिक ग्रन्थमा सुनीने अलौकिक पात्र जस्ता थिए बीपी । उनी आए । एक्कैछिन अडिएर गए । तर मान्छेहरुको विश्वास कतै गएन, झन बढ्यो ।
हाम्रा बारीहरु बाँझै हुन्थे । सिंचाइ चाहिएको छ सानो भए पनि । खाने पानीको एउटा मात्र विकल्प इनार हो, जहाँँ बाह्रैमास भ्यागुता डुबुल्की मार्छन । त्यो पानी पिउन हुन्छ कि हुँदैन कसैले सोधखोज गरेको छैन । हामी त्यही पानी पिउँछौं । बर्षामा जयश्री खोलो माथिसम्म आउँछ र आधा गाउँलाई त्राहिमम बनाउँछ ।
एक पटक हामी रातभरी सुतेका छैनौं । खोलो उर्लेर घर सम्मै आउँछ कि जस्तो भयो । बालाई बीपी प्रती ठूलो आशा छ । कुनै दिन बहुदलिय ब्यवस्था आयो भने बीपीसँग गाउँका सबै आवश्यकता माग्न सजिलो हुने छ । के मेरा बा को खोलो छेक्ने उन्मुक्त चेतना सय वर्ष बाँच्न सक्दैन र ! त्यो बेला मेरो इत्रुको टाउको भित्र कती कुरा अटाउन सक्थे थाहा भएन । तर एउटा कुरा खेल्यो धेरै बेर- उडन तस्तरीको आवेगमा एक्कैछिन हाम्रै गाउँमा अडिएर हिंडेका ति बीपी कोइराला कस्ता होलान ? अथवा ति उडन तस्तरी जस्ता महामानवका नजिकै बस्न पाउने हाम्रा तिलक दाई कती भाग्यमानी होलान ? मेरो सम्मोहन त्यहिँबाट शुरु भयो ।
बहुदल आउने बेलामा अली अली संगत सुरु भयो- तिलक दाईसँग । खासमा मलाई यस्तो लाग्यो, धेरै पर नसोचौं । म भर्खर स्कुल पढ्दै गरेको १४ वर्षको ठिटोले के सोच्न सक्छु ? त्यहि, बिजुलीको तार, पिउने पानीका काला पाइप, जयश्री खोलामा तटवन्ध गर्नका लागि अलिकती जाली । मेरा बाले बीपी कोइरालासँग आशा गरेको कुरो । तिलक दाईको प्रसिद्दी उल्काको थियो गाउँमा । हामीलाई लाग्यो, तिलक दाई अब मन्त्री हुनेछन् । र हाम्रा तिनै पुराना आवश्यकता पुरा हुनेछन ।
२०४८ सालमा चुनाव जित्न सकेनन् तिलक दाइले । गिरिजा प्रशाद कोइरालाले टिकट दिने बेला चलाखी गरे । तिलक दाइलाई अली पर उछिट्ट्याए । उकेरा लगाएको ठाउँ अर्कैको हात पर्यो । पटक पटक यस्तै भयो । गिरिजा प्रशाद कोइरालाले यि बुढाको टाउको उधिनेर आफ्नो हतियारमा धार लगाए । चुनाव हारे पनि गाउँ बनाउने उनको अभियान हारेन । तै पनि पावर पावरनै हुन्छ । खासगरेर प्रजातन्त्रमा पावर जरुरी नै हुन्छ । गैंडाकोटलाई हेर्ने हो भने देखिन्छ तिलक सापकोटाको प्रतिबिम्ब । त्यहि त हो एउटा राजनीतिज्ञले गर्ने समाजसेवा ।
तीन वर्ष तिलक दाई सँगसँगै नेपाली कांग्रेसको संगठनमा हिंडेपछी कस्तो लाग्यो भने यो मेरो बाटो हुँदै होइन । म तिलक दाइले जसरी आफ्नो जीवन अरुको सेवामा कसरी बिताउन सकुला र ? यसको मतलव अविछिन्न रुपमा केलाउलान् अरुले । माटोको सुगन्धले मात्र बाँच्ने आडभरोसा दिँदो रहेनछ । म हिंडे ! तिलक दाइको चेतना गाउँमै रह्यो ।
पटक पटक चुनाव भए । यि बुढाले भक्ती गान गाउन जानेनन्, बाहिर परे । एक दिन तिलक दाईको निस्पृह आवाज सुनियो- “तँ गैंडाकोट आइजा त काम पर्यो” । म हावाको बेगमा गैंडाकोट पुगे ! भोलीपल्ट दलदलेबाट बिस मिनेट सरासर उत्तर हिँड्यौं । माथिको त्यो बडेमानको पहाड छिचोलेपछि बुलिङटार पुगिन्छ । घनघोर जंगलले ढाकिएको त्यो पहाड छिचोलेर बुलिङ्टार पुग्न आठ घण्टा लाग्छ । अहिले मोटर मै जान मिल्छ रे । उतिबेला ठाडो उकालो चढ्नुपर्थ्यो नेटामा पुग्दासम्म । त्यसपछी बल्ल तेर्सो र ओरालो थियो ।
बाह्र बजेको टन्टलापुर घाममा मोटर साइकललाई कुन्नी कसको आँगनमा राखेर हामी उकालीयौं । बुढ्यौलीले पनि होला, तिलक दाईलाई पाँच मिनेटमै बिसाउनुपर्ने । रातीको १२ बजे पनि पुगिन्न कि क्या हो । त्यसरि नै हिँड्यौं हामी धेरै माथि सम्म । तल दलदलेका टिनका छानाको चमक मधुरो हुँदै गयो । सुईईईईई~~~~ तिलक दाई फेरी थ्याच्च बसे । “तिर्खा लाग्यो पानी खाउँ त” । तिलक दाईको अनुहार पसिनाले पुरिएको देखियो । कांग्रेसको राजनीति गर्न कहाँ सजिलो छ र ? “किन यसरी ज्यान फाल्नुहुन्छ राजनीतिमा ? तपाईंका दौतरीहरु कहाँ पुगी सके”- मैले सोधे । दाई बोलेनन् ।
हामी माथि पुगिसकेका थियौं । रात बिस्तारै छिप्पिँदै थियो । आज बुलिङ्टार पुग्न कठिन छ । एउटा घरको पिंढिमा हामीले झोला बिसायौं । घरबेटी अनुग्रहित बने । तिलक सापकोटालाई आफ्नै पिंढिमा पाउदा तिनको खुशी रोकिएन । ओहो, त्यो क्षण कतै भिडियोमा समेट्न पाएको भए । तिलक दाइले त्यहि बेला भने- “तैले दिउँसो सोधेको प्रश्नको उत्तर यहि हो । मैले बेइमानी गर्न सिकेको छैन” ।
के हुन्छ र एक जना इमान्दार भएर ? अथवा मलाई मान्छेहरु इमान्दार हुन्छन भन्ने लाग्दै लाग्दैन भन्ने होइन । केहि मान्छे भेटेको छु जो इमान्दार थिए । ति पनि तिलक दाई जस्तै थिए । हराए । यि कोही पनि हराउनु हुँदैन थियो । कम से कम पुल तरेर जाँदा हरेक खोलापारिको गाउँमा एकजना तिलक सापकोटाको प्रतिविम्व देखिनुपर्ने थियो ।
समाज अधैर्य छ । उपभोगको लालच हुन्छ । लालच भएन भने समाज अघि बढ्न सक्दैन । ईतिहास हेर्नुपर्छ अलिकती । नाम लेखाउनु पर्छ कुनै पातोमा । मैले त्यहि भनिरहेको हुन्छु ।
तिलक दाई भन्नुहुन्छ- “कर्म गर्नुपर्छ फलको आशा त्यस्तै हो ।” यो त गीताले पनि भन्छ । म अहिले दुर देशबाट तिलक दाई सम्झीरहेको छु । बुलिङ्टार मुन्तिर शान्त बगिरहेको काली नदी देखेको छु । जहाँँ म काली नदिमा हाम्फालेको थिएँ र तपाईं माथिल्लो ढिकमा बसेर टाउको समात्नु भएको थियो । मैले तिलक दाईका आँशु बगेको देखेको छु । प्रतिबिम्ब त आँशुमा पनि देखिन्छ नि । ‘ह्याप्पी बर्थ डे तिलक दाई ।’