आइतबार, वैशाख १६, २०८१

हामी कसको शिकार भइरहेछौं ?

गोपी सापकोटा२०८० असार १३ गते १६:१८

लेखक-गोपी सापकोटा

नेपालमा कोभिड खोप लगाउने बेलाको कुरा हो । संसारका धेरै विकसीत देशहरुले आफ्ना देशबासीहरुलाई कोभिड खोप दिइसकेका थिए । बेलायतमा दोस्रो चरणको खोप लगाईंदै थियो ।

नेपालमा पनि कोभिड खोप पुगेको र लगाउन शुरु गरिएको थाहा पाएर हामी खुशी भएका थियौं । त्यही सन्दर्भमा एकदिन आमासँग फोनमा कुरा हुँदा उहाँले ‘हामीले त खोप नलगाउने’ भन्नुभयो । बुवा र आमा दुवै जनाले खोपप्रति विश्वास गर्नु भएन । उहाँहरुको कुरा सुनेर हामीले पनि उहाँहरुलाई कर गर्न सकेनौं । पहिलो खेपमा उहाँहरुले खोप लगाउनु भएन ।

खास त्यतिबेला के भएको थियो भनेर अहिले फर्केर हेर्दा भन्न सकिन्छ कि त्यतिखेर हामी ‘कन्स्पीरेसी थ्यौरी’ अर्थात् षडयन्त्र सिद्धान्तको शिकार भएका थियौं । यो त भयो, व्यक्तिगत कुरा । अब समाज, आम सन्चार र सामाजिक सन्जालको कुरा गरौं ।

अचेल नेपाली पत्रपत्रिका र अनलाइनहरुमा प्रकाशित तथ्य र तर्क सहित लेखिएका विचारप्रधान लेखहरुको बारेमा प्रतिक्रियाहरु दिंदा मानिसहरुले कुनै पनि तर्कमा उभिएर नभई पहिलेदेखि नै आफुले विश्वास गर्दै आएको आग्रहका आधारमा प्रतिक्रिया दिने गरेको पाईन्छ । त्यस्ता प्रवृत्तिहरु, र नेपाली जनमानसमा रहेको चेतना र विवेचनाको तह हेर्दा कतै हाम्रो समाज पनि षडयन्त्र सिद्धान्तबाट धेरै नै प्रभावित भइरहेको त छैन भन्ने लाग्छ ।

षडयन्त्र सिद्धान्त के हो ?

अक्सफोर्ड शब्दकोशका अनुसार कन्स्पीरेसी थ्यौरी अर्थात् षडयन्त्र सिद्धान्त भनेको ‘कुनै घटनाको लागि कुनै गोप्य तर प्रभावशाली संगठन जिम्मेवार छ’ भनेर गरिने विश्वास हो । यो एउटा यस्तो व्याख्या हो जसले शक्तिशाली र खराब समूहहरुद्वारा हुने षड्यन्त्रको अस्तित्वलाई स्वीकार गर्छ । विशेषतः राजनैतिक रुपले अभिप्रेरित त्यस्ता समुहहरुले पत्याउन सकिने खाले व्याख्याहरु गर्ने गर्छन् र मानिसहरुले ती व्याख्यामा विश्वास राख्छन् । उनीहरुले मुलधार र आधिकारिक ब्याख्यालाई चुनौती दिंदै फरक खाले व्याख्या गर्ने गर्छन् ।

षडयन्त्र सिद्धान्त शब्दले सामान्यतया नकारात्मक अर्थ दिन्छ, र यो पूर्वाग्रह वा अपर्याप्त प्रमाणमा आधारित हुन्छ भन्ने संकेत गर्दछ । षडयन्त्र सिद्धान्तले न त पूर्ण सहमति नै खोज्छ, न त यसलाई कुनै ऐतिहासिक वा बैज्ञानिक तरिकाले प्रमाणित नै गर्न सकिन्छ । यसले गलत सूचना बोक्ने भएकाले यो एकदमै छिटो फैलिन्छ ।

सामान्यतयाः हामीले सामाजिक सन्जालहरुमा नकरात्मक सन्देश दिने कुराहरु धेरै फैलिएको देख्छौं । त्यसरी नै षडयन्त्र सिद्धान्तमा आधारित सूचना र जानकारीहरु पनि छिटो छिटो फैलिन्छन् ।

शुरु कसरी भयो ?

अहिलेसम्म थाहा पाए अनुसार षडयन्त्र सिद्धान्त शब्दको पहिलो प्रयोग अमेरिकी लेखक चाल्र्स एस्टर ब्रिस्टेडले गरेका हुन् । ११ जनवरी, १८६३ को द न्यूयोर्क टाइम्समा छापिएको सम्पादकलाई चिठीमा उनले त्यो शब्दको प्रयोग गरेका थिए । उनले ब्रिटिश कुलीनहरूले अमेरिकी गृहयुद्धको समयमा संयुक्त राज्य अमेरिकालाई जानाजानी कमजोर पारेर आफ्नो वित्तीय हितलाई अगाडि बढाएका छन् भन्ने सन्दर्भमा प्रयोग गरेका थिए ।

षडयन्त्र र षडयन्त्र सिद्धान्तमा फरक

स्टेफन लेवान्द्योस्की र जोन कुकले ‘द कन्स्पीरेशी थ्यौरी ह्याण्ड बुक’ मा षडयन्त्र सिद्धान्तका विभिन्न पक्षका बारेमा चर्चा गरेका छन् । उनीहरुले षडयन्त्र र षडयन्त्र सिद्धान्तको बीचको फरक पनि छुट्टाएका छन् ।

संसारमा वास्तविक षडयन्त्रहरु हुन्छन् नै । भक्सवागन नामक कार बनाउने कम्पनीले डिजेलबाट हुने प्रदुषणको परिक्षालाई छल्न षडयन्त्र गरेको थियो । अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीले इन्टरनेट प्रयोग गर्ने आफ्ना नागरिकहरु माथि जासुसी गरेको थियो । सुर्तीजन्य सामग्री उत्पादन गर्ने उघोगहरुले पनि धुम्रपानले मानव स्वास्थ्यमा पुर्‍याउने असरहरुका बारेका ढाँटेका थिए । ती सबै वास्तविक षडयन्त्र हुन् । त्यस्ता षडयन्त्रका प्रमाणहरु कम्पनीका आन्तरिक कागजातहरुमा भेटिन्छन् । त्यस्तै सरकारले त्यो विषयमा गर्ने अनुसन्धानहरुबाट पनि षडयन्त्रको बारेमा थाहा हुन्छ ।

तर षडयन्त्र सिद्धान्त चाहीं षडयन्त्र भन्दा अलि फरक हुन्छ । यो प्रमाण बिना नै लामो समयसम्म टिकिरहन सक्छ । षडयन्त्र सिद्धान्तहरु त्यस्ता सोच्ने तरिकाबाट प्रभावित भइरहेका हुन्छन्, जुन वास्तविकता पत्ता लगाउने अविश्वनीय तरिकामा आधारित हुन्छन् । षडयन्त्र सिद्धान्तहरु प्रमाणमा नभई शंकामा आधारित हुन्छन् । यिनीहरुले सम्बन्धीत प्रमाणहरुलाई चाहिने भन्दा धेरै व्याख्या गर्ने गर्छन् । कहिलेकाहीं षडयन्त्र सिद्धान्तकारहरुले प्रस्तुत गर्ने प्रमाण तथा तर्कहरु आफैमा विरोधाभासपूर्ण हुन्छन् ।

वास्तविक षडयन्त्र प्रमाणित हुने खालको हुन्छ तर षडयन्त्र सिद्धान्त चाहीं काल्पनिक धरातलमा उभिएको हुन्छ । षडयन्त्र सिद्धान्तले विभिन्न तरिकाले समाजलाई ध्वस्त बनाउँछ । यसले मानिसहरुलाई सचेत रुपमा राजनितिमा संलग्न हुन दुरुत्साहित गर्छ । यो तथ्य र प्रमाणको बाटोमा हिड्नु भन्दा काल्पनिक र भ्रमको बाटोमा हिड्ने गर्छ ।

षडयन्त्र सिद्धान्तको लोकप्रियता

षडयन्त्र सिद्धान्तहरु स्वभाविक रुपमा लोकप्रिय हुन्छन् । तिनीहरु सजिलै पत्याउन सकिने खाले हुन्छन् । तिनीहरु लोकप्रिय हुनुमा केही निश्चित पक्षहरुले काम गरिरहेको हुन्छ । मानिसहरुले षडयन्त्र सिद्धान्तलाई पत्याउनु र त्यस्ता कुराहरुको प्रचार प्रसार गर्ने कारणहरु निम्न अनुसार छन् ।

शक्तिहिनताको महसुस :

धेरैजसो शक्तिहिन र कमजोर मानसिकता भएका मानिसहरुले षडयन्त्र सिद्धान्तलाई धेरै पत्याउने, आत्मसाथ गर्ने र फैलाउने गरेको पाइन्छ । जब मानिसहरु डराएका हुन्छन्, त्यतिखेर उनीहरु थाहै नपाइकन षडयन्त्र सिद्धान्तबाट प्रभावित हुने गर्छन् । त्यस्तै सामान्यतया अलि कम पढेलेखेका मानिसहरु षडयन्त्र सिद्धान्तबाट धेरै प्रभावित हुने गरेको पाइन्छ । कमजोर र विपन्न वर्गका मानिसहरु यो सिद्धान्तको सजिलै शिकार बन्न सक्छन् । त्यस्तै पाका भन्दा कम उमेरका मानिसहरुले ती सिद्धान्तहरुलाई पत्याउने गरेको पनि पाइन्छ । तर केही मनोवैज्ञानिकहरुले भने धेरै पढेका र पाकाहरु पनि उनीहरुको मस्तिष्कको प्रकृति अनुरुप षडयन्त्र सिद्धान्तबाट प्रभावित हुने गरेको बताएका छन् । विशेष गरी कुनै पनि अनियमीत र श्रृखलाहिन कुराहरुमा पनि नियमीत र श्रृखलाबद्ध ढाँचाहरु देख्न सक्ने मान्छेहरु षडयन्त्र सिद्धान्तमा विश्वास गर्ने खालका हुन्छन् ।

नसोचेका घटनाहरुको व्याख्या :

कुनै असम्भाव्य घटनाहरु घट्दा मानिसहरु आफूले आफूलाई पूर्ण रुपमा सम्हाल्न सक्दैनन् । त्यस्तो परिस्थितिसँग जुझ्नका लागि सहयोग गर्ने संयन्त्रको रुपमा षडयन्त्र सिद्धान्त काममा आउँछ । जब देशमा वा संसारमा अचानक कुनै ठूलो घटना घट्छ, मानिसहरु स्वभावतः त्यो घटना किन र कसरी भयो भनेर खोज्न थाल्छन् । उनीहरु कता कता भित्र भित्रै डराइरहेका पनि हुन्छन् । त्यस्तो बेलामा आधिकारिक सूचना र जानकारी आइपुगेको हुँदैन, किनभने आधारिक सूचना दिने अधिकारीहरु अनुसन्धानमा व्यस्त हुन्छन् । त्यस्तो बेला षडयन्त्र सिद्धान्तकारहरुले ती घटनाका बारेमा आफ्ना विचारहरुलाई बाहिर ल्याउँछन् र आफ्ना व्याख्याहरुलाई प्रचार गर्ने मौका पाउँछन् ।

धम्कीहरुलाई झेल्नु :

आफूमा आइपरेको खतरा र धम्कीको स्थितिबाट बच्नका लागि षडयन्त्रकारीहरुलाई दोष दिने गरिन्छ । ठूला ठूला घटनाहरुमा सामान्य कारणहरु हुन सक्छन् भन्ने कुरा मानिसहरुले स्वीकार गर्न गाह्रो मान्छन् । षडयन्त्र सिद्धान्तकारहरुले ठूला घटनामा ठूला कारणहरु नै लुकेका हुन्छन् भन्ने कुराको विश्वास गर्छन् । जस्तो कि, बेलायतकी राजकुमारी डायनाको मृत्युको कारणमा मदिरा सेवन गरेर गाडी चलाएको कारणले कार दुर्घटना भएको भन्ने कुरा पत्याउन गाह्रो मान्छन् । उनलाई मार्नका लागि कुनै अर्कै शक्ति संलग्न थियो भन्ने कुरा पत्याउन तयार हुन्छन् ।

मुलप्रवाहको राजनीतिको अवज्ञा :

षडयन्त्र सिद्धान्तले मूलप्रवाहको राजनितीले गर्ने ब्याख्यालाई मान्दैन र विश्वास गर्दैन । त्यस्ता ब्याख्यालाई आधिकारिक धारणा नमानेर केही सिमीत व्यक्तिहरुले बनाएको कुरा हो भनेर प्रचार गरिन्छ । त्यो मूल प्रवाहको राजनितीलाई कमजोर बनाउने एउटा तरिका हो । त्यसले गर्दा जनमानसमा राजनितीप्रति नकरात्मक धारणाको विकास हुन्छ र मानिसहरु राजनैतिक बहसमा सक्रिय रुपमा सहभागी हुँदैनन् ।

सामाजिक सन्जाल र षडयन्त्र सिद्धान्त

पछिल्लो समयमा आएर सामाजिक सन्जालको शक्ति र पहुँच बढ्दै गइरहेको छ । यो मूलप्रवाहको मेडिया जत्तिकै शक्तिशाली छ । मुलप्रवाहको मेडिया पुग्ने जति ठाउँमा यो पुगेको छ र यसले मेडियाले जस्तै मानिसहरुलाई प्रभाव पारेको छ ।

कुनैपनि सकरात्मक भन्दा नकरात्मक कुराको प्रचार छिटो हुने गर्छ । साँचो सूचना र जानकारी भन्दा झुठो र आधारहिन सूचना र जानकारीहरु धेरै छिटो र धेरै टाढासम्म पुग्ने गर्छन् । त्यस्ता कुराहरुलाई षडयन्त्र सिद्धान्तका उपभोक्ताहरुले सामाजिक सन्जालमा जानेर वा नजानेर धेरै लाइक र शेयर गर्ने गरेको पाइन्छ । त्यसैले केही मानिसहरुले षडयन्त्र सिद्धान्त फैलिनुमा सामाजिक सन्जालको हात रहेको कुरा स्वीकार गर्ने गर्छन् ।

तर सामाजिक सन्जाल नभएको बेलामा पनि षडयन्त्र सिद्धान्तको उपस्थिति थियो । रोमन सम्राट निरोको मृत्युलाई केही समयसम्म नक्कली मानियो र उनी कतै गोप्य रुपमा बाँचेको कुरा गरियो । उनले ६८ ईसंमा आत्महत्या गरेका थिए ।

षडयन्त्र सिद्धान्तले कसरी ध्वस्त बनाउँछ ?

षडयन्त्र सिद्धान्तबाट कोही पनि अछुतो रहन सक्दैन । यसमा धेरै आस्था नराख्ने र त्यस्ता कुरालाई विश्वास नगर्ने भनिएका मानिसहरुमा पनि यसले ल्याएका नयाँ सूचना र जानकारीले नराम्रो असर पार्ने गर्दछ । कुनै पनि गलत कुरा धेरै पटक दोहोरिएमा त्यो ठीक हो भन्ने लाग्छ, र त्यो गलत कुरा नै सत्यको रुपमा स्थापित हुन बेर लाग्दैन ।

गलत कुरामा विश्वास गरेको परिणामको रुपमा कहिलेकाहीं षडयन्त्र सिद्धान्तको फन्दामा परिन्छ । कहिलेकाहीं राजनैतिक कारणले गर्दा षडयन्त्र सिद्धान्तहरु जानी जानी बनाइन्छ र रणनैतिक रुपमा त्यसको प्रचार प्रसार गरिन्छ । राजनैतिक स्वार्थ परिपूर्ति गर्नका लागि बनाइएका त्यस्ता षडयन्त्र सिद्धान्तले मानिसहरुको ध्यान मूल विषयबाट अर्कोतिर मोड्ने गर्छ र षडयन्त्रकारीहरुले आफ्नो उद्देश्य प्राप्त गर्न सक्छन् ।

आफूलाई मन नपर्ने र आफूमा परेको असजिलो पन्छाउन पनि षडयन्त्र सिद्धान्तको प्रयोग गरिन्छ । ग्लोबल वार्मिंङ (ब्रह्माण्डमा भैरहेको तापक्रम वृद्धि) मा अविश्वास गर्नु त्यसको एउटा उदाहरण हो ।

मानिसका आफ्नै वातावरणीय गतिबिधिहरुले गर्दा ग्लोबल वार्मींङ भएको हो भन्ने बैज्ञानिक सहमतीलाई नमान्नु पनि एउटा षडयन्त्र सिद्धान्त हो । वैज्ञानिक प्रमाणलाई राम्ररी विचार गर्नु भन्दा षडयन्त्र सिद्धान्तलाई विश्वास गर्नाले आफूले गरिरहेका गतिबिधिहरुलाई निरन्तरता दिन पाइने भएकाले पनि त्यसो गरिएको हो । यसमा षडयन्त्र सिद्धान्तकारहरुको स्वार्थ झल्किन्छ ।
षडयन्त्र सिद्धान्तका बिशेषताहरु

परस्पर बिरोधाभाषपूर्ण विचारहरुः

षडयन्त्र सिद्धान्तले कहिलेकाहीं बिरोधाभाषपूर्ण विचारहरु बाहिर ल्याउने गर्छन् । डायनाको मृत्युलाई एकातिर उनको हत्या गरिएको भनेर प्रचार गरियो भने अर्कोतिर उनले आफू नमरिकन मरेको नाटक गरेकी हुन भनेर पनि प्रचार गरियो । एकातिर उनको मृत्युको कुरा गर्नु र अर्कोतिर उनी जिउँदै छन् भन्ने कुरा गर्नु आफैमा बिरोधाभाषपूर्ण छन् । आधिकारीक सूचना माथि भ्रम फैलाउनका लागि सायद त्यसो गरिन्छ । षडयन्त्र सिद्धान्तले आफ्नो कुरा प्रमाणित गर्न केही गर्दैन ।

अत्यधिक शंकास्पद :

यो सिद्धान्तले आफ्नो कुरासँग नमिल्ने कुनै पनि कुरालाई विश्वास गर्दैन । आफ्नो विचारभन्दा फरक तरिकाले आएका विचारहरुलाई धेरै नै शंकास्पद नजरले हेर्ने गर्दछ । र आधिकारिक रुपमा आएका विचारहरुलाई विश्वास गर्दैन ।

केही गलत भएको हुनु पर्छ :

आधिकारिक उत्तरलाई धोका दिएर र नपत्याएर षडयन्त्र सिद्धान्त हुँदै नभएको कुराको पछि लाग्ने गर्छ । कहीं न कहीं केही न केही गलत भएको हुनुपर्छ भन्ने विश्वास बोकेर अगाडि बढ्छ । कुनै पनि रहस्यात्मक घटनामा मानिसहरु थप जानकारी पाउन लालायित हुन्छन् । त्यसैले पनि कहीं केही गलत भएको छ भन्ने विचारलाई विश्वास गरिरहन्छन् ।

पिडित र नायकः

षडयन्त्र सिद्धान्तकारहरु आफूलाई मूलधारको राजनितीले पेल्ने गरेको ठान्छन् । एकातिर उनीहरु संगठीत उत्पीडनको शिकार भएको ठान्छन् भने अर्कोतिर खलनायकहरुको बिरुद्धमा आफू उभिएको भनेर नायकजस्तो पनि देखिन चाहन्छन् । त्यसरी उनीहरु पीडित र नायक दुई फरक चरित्रमा देखिन मन पराउँछन् ।

प्रमाणकै बिरोधः

षडयन्त्र सिद्धान्तले बनाएका कुनै पनि ब्याख्यालाई चुनौती दिने गरी कसैले प्रमाण नै पेश गरे पनि षडयन्त्र सिद्धान्तकारहरुले त्यस्ता प्रमाणहरुलाई षडयन्त्रबाट उत्पादित भनेर मान्छन् । त्यसले गर्दा जति बलिया प्रमाणहरु प्रस्तुत गरिन्छन्, षडयन्त्र सिद्धान्तकारहरु त्यति नै धेरै ती प्रमाणहरुलाई झुठा सावित गर्न तर्फ लाग्छन् ।

षड्यन्त्र सिद्धान्तले कसरी काम गर्छ ?

पहिलो कुरा त यसले मानवीय मनोविज्ञानसँग खेल्ने गर्छ । मानिस स्वभाविक रुपमा साँचो सूचना, तथ्य र त्यसको ब्याख्याको भोको हुन्छ । जब आधिकारिक रुपमा साँचो सूचना र जानकारी बाहिर आउन समय लाग्छ, त्यो समयमा षड्यन्त्र सिद्धान्तले काम गर्छ, र त्यही मौकाको फाइदा उठाउने गर्छ । गलत र आफूलाई फाईदा हुने विचारको व्याख्या गरी मानिसहरु बीच सो सूचना प्रवाहित गरिन्छ । आधिकारिक सत्यको अभावमा मानिसहरुले षड्यन्त्र गरेर पठाइएका विचार र व्याख्याहरुमा विश्वास गर्न थाल्छन् । उनीहरु सत्य तथ्यको खोजी गर्नु भन्दा हल्लामा आएका कुराहरु सुनेर धारणा बनाउन सजिलो मान्छन् ।

षड्यन्त्र सिद्धान्तमा मानिसहरुले किन विश्वास गर्छन् भने कुनै पनि घटनामा संलग्न गोप्य शक्तिहरु कुनै दिन हार्नेछन् र उनीहरुको बारेमा पर्दाफास हुनेछ भनेर प्रचार गरिन्छ । फेरि मानिसका मस्तिष्कमा पहिले नै केही सूचनाहरु हुन्छन् । षड्यन्त्र सिद्धान्तले भनेका कुराहरु उनीहरुले पहिले नै थाहा पाएको अथवा उनीहरुको सोचाइसँग मिले भने उनीहरुले ती कुराहरुलाई छिट्टै पत्याउने गर्छन् ।

आजको आधुनिकता तथा डिजीटल युगमा षड्यन्त्र सिद्धान्तले फैलाउन चाहेका कुराहरु अनलाइन र सोसियल मेडिया मार्फत् छिटै नै फैलिन्छ । गलत सूचना र जानी जानी फैलाउने अफवाहले षड्यन्त्र सिद्धान्त फैलाउनलाई सहयोग गर्दछ ।

संसारका केही चर्चित षडयन्त्र सिद्धान्तहरु

जाम्बियाको भोकमरीः आनुवंशिक रूपमा परिमार्जित खाद्य पदार्थहरूको बारेमा षड्यन्त्र सिद्धान्तहरूमा विश्वास गरेर जाम्बियाको सरकारले अनिकालको समयमा खाद्य सहायता अस्वीकार गरेको थियो, जब कि त्यो समयमा त्यहाँ तीस लाख मानिसहरू भोकबाट पीडित थिए ।

ओबामाको जन्मः पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई उनको जन्म केन्यामा भएको थियो भनेर हल्ला चलाइएको थियो । तर वास्तवमा उनको जन्म हवाईमा भएको थियो । अर्कान्सासका पूर्व गभर्नर र ओबामाको राजनीतिक प्रतिद्वन्द्वी माइक हकाबीले सन् २०११ मा ओबामाको जन्म र नागरिकताको बिषयलाई लिएर कुरा उठाएका थिए र जुन समाचारको हेडलाइन बनेको थियो । त्यस्तै ओबामाको सरकारलाई कुनै धनी वर्गले पर्दा पछाडिबाट चलाएको कठपुतलीको सरकार पनि भनियो ।

डायनाको मृत्युः बेलायती राजकुमारी डायनाको मृत्युलाई लिएर पनि षडयन्त्र सिद्धान्त हाबी भएको थियो । सडक दुर्घटनामा मारिएकी डायनालाई बेलायतकै राजपरिवारले हत्या गर्न लगाएको थियो भन्ने हल्ला फैलिएको थियो । पछि त्यो विषयमा अनुसन्धान गरेर उक्त कुरामा सत्यता नभएको निष्कर्ष निकालिएको थियो । त्यस्तै उनको हत्या राजदरबारले नभई बेलायतकै इन्टेलीजेन्स एजेन्सी एम आई फाइभले गराएको भन्ने हल्ला पनि चल्यो । फेरि कतै डायना आफैले आफ्नो नक्कली मृत्यु गराइन, र अहिले उनी कुनै अज्ञान टापुमा आनन्दले बसिरहेकी छिन् भन्ने हल्ला पनि चल्यो ।

चन्द्रमामा पाइलाः सन् १९६९ मा अन्तरिक्ष यात्रीहरुले चन्द्रमामा पाइला टेके । सन् १९७० मा चन्द्रमामा कोही पनि पुगेकै थिएनन् भन्ने कुरा चर्चामा आयो । निल आर्मस्ट्रङ्गले चन्द्रमामा पाइला टेकेका थिए भन्ने कुरा झुठो थियो भन्नेहरु भेटिन्छन् । डा। ली मेल्लोरले आफ्नो पुस्तक ‘कन्स्पीरसीज अनकभर्ड’मा भन्छन्, कासिङ्गले निल आर्मस्ट्रङ्गले खिचेको तस्विर माथि शंका गर्दछन् । तस्विरमा अमेरिकी झण्डा फहराइरहेको देखिन्छ । चन्द्रमामा हावा छैन भने त्यो झण्डा कसरी फहरायो भनेर त्यो तस्वीर चन्द्रमामा खिचिएको हुन नसक्ने कुरा बताउँछन् ।

तर अन्तरिक्ष इतिहासकार क्रिश रिलेले भनेका छन्, भ्याकुममा एकपटक समातेर झण्डालाई फहरायो भने त्यो त्यस्तै रहन्छ, किनभने त्यसलाई अर्को रुपमा बदल्नका लागि त्यहाँ हावा नै थिएन ।

त्यस्तै बेलायतको नेक्सस म्यागेजीनका प्रकाशक मार्कोस एलेनले जुन परिस्थितिमा निल आर्मस्ट्रङ्ग र अल्ड्रीनले चन्द्रमामा फोटो खिचे, त्यो चाहिने भन्दा राम्रो देखिएको भन्ने धारणा राखे । ‘पुरै शरिर ढाकिने गरी लुगा लगाएका उनीहरुले कसरी त्यति राम्रो खिच्न सक्छन् ? त्यसैले उनीहरु चन्द्रमामा पुगेका थिए भन्ने कुरालाई पत्याउन मुस्किल भयो ।’ उनले शंका गर्छन् ।

तर मार्कोसको तर्कलाई खण्डन गर्दै क्रिश रिलेले अन्तरिक्ष यात्रीहरुलाई त्यहाँ पठाउनु भन्दा पहिले नै फोटोग्राफीको तालीम दिइएको हुन सक्ने कुरा अघि सारेका छन् । उनले निल र अल्ड्रीनले धेरै फोटोहरु खिचेको र राम्रा फोटाहरुलाई मात्रै बाहिर ल्याइएको हुनुपर्ने बताए । त्यसो त स्वभाविक रुपमा राम्रा फोटोहरु नै छाप्ने गरिन्छ ।

कोभिड १९ : कोभिडका बेलामा केही षडयन्त्र सिद्धान्तहरुले मानिसहरुको सोचाईमा कब्जा जमाएका थिए । केही मानिसहरुले युरोपमा बनाइएका ५ जी टावरहरुले गर्दा कोभिड आएको भनेर विश्वास गरे । त्यस्तै कोभिडको भाइरस चीनले जानी जानी उत्पादन गरेको थियो भन्ने हल्ला पनि फैलियो । सो सम्बन्धमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनका अधिकारीहरु चीनको बुहान पुगेका थिए । तर कोभिड चीनको उहानबाट शुरु भए पनि भाइरस चीनले बनाएको कुरा प्रमाणित भएन । जब कोभिडको भ्याक्सीन निस्कियो, त्यसपछि त्यो भ्याक्सीन लगायो भने मानिसको डि।एन।ए परिवर्तन हुन्छ भन्ने हल्ला आयो । त्यही कारणले धेरै मानिसले भ्याक्सीन लगाउन मानेनन् । कतिपयले त कोभिड नक्कली हो, यो रोग नै छैन, मात्र हल्ला फैलाइएको हो समेत भने ।

नेपालको सन्दर्भ: नेपालको सन्दर्भमा कुरा गर्दा अहिले मानिसहरुले सामाजिक संजालमा लेख्ने प्रतिक्रियाहरु कति तथ्यपरक छन् ? कहिलेकाहीं तथ्यको आधारमा रहेर गरिएका व्याख्याहरुको नै चर्को बिरोध भइरहेको देखिन्छ । तथ्यको बिरोध षडयन्त्र सिद्धान्तले गर्ने गर्छ ।

हामी धेरैजसो झिना मसिना विषयहरुमा अल्झिरहेका हुन्छौं । हामीलाई साना कुराहरु नै ठूला लाग्छन् । कतै कसैले हामी वास्तवीक मुद्दाहरु र विषयहरुमा नपुगौं भनेर स–साना कुरामा नै अल्झाउनका लागि षडयन्त्र सिद्धान्त बनाएको त छैन ?

नेपालमा आफ्ना राजनैतिक तथा आर्थिक स्वार्थहरु पुरा गर्नका लागि षडयन्त्र सिद्धान्तहरु बनाइएका हुन सक्छन् । तिनै सिद्धान्तहरुले हामीलाई प्रभावित पारिरहेका हुन सक्छन् । हाम्रा सोचाइहरु, हामीले गर्ने बहसहरु र हामीले सामाजिक सन्जालहरुमा दिने अभिव्यक्तिहरु पनि हामी आफैंले थाहै नपाईकन षडयन्त्र सिद्धान्तको प्रभावमा परेका हुन सक्छन् ।  कतै हामी कुनै षडयन्त्र सिद्धान्तको शिकार भइरहेका त छैनौं ? हामी कुन र कसको षडयन्त्र सिद्धान्तको शिकार बन्दै गइरहेका छौं, सोच्नुपर्ने बेला आएको छ ।

तपाइँको प्रतिक्रिया