‘अतिथि देवो भव’ नेपालीको सबैभन्दा ठूलो अस्त्र-पूर्व राजदुत, दिपक अधिकारी
परराष्ट्र मन्त्रालयका बिभिन्न निकायमा रहेर ४२ वर्ष सेवा गरी हालसालै सेवा निबृत्त दिपक अधिकारीसित कूटनितिका सयौं ज्ञान र दर्जनौं दर्जन अक्किल छन् । परराष्ट्र मन्त्रालयमै सरल, मेहनति, ईमान्दार र कर्मठ भनेर चिनिनुहुन्छ । सर्वश्रेष्ठ कर्मचारी, राष्ट्रसेवकका रुपमा सरकारद्वारा पुरष्कृत समेत हुनुभएका अधिकारीसित फ्रान्स-नेपाल र युरोपेली संवन्धका साथै युरोपका नेपालीहरुमा केन्द्रित रहेर नेपालप्लसका लागि अनुराधा पौडेलले लिनुभएको अन्तर्वार्ता !
फ्रान्सको लागि नेपालको राजदूत पदको अवधि सकिएसँगै अवकास लिँदै हुनुहुन्छ कस्तो अनुभूती भैरहेको छ ?
मैले परराष्ट्रको बिभिन्न तह र बिभागमा रहेर ४२ वर्ष सेवा गरेँ । सहचारी पदबाट शुरु गरेको करियर राजदुत भएर सकियो । करिअरको शुरुवातमा कलकत्तामा रहेँ जुन नेपालको आयात र निर्यातको द्वार हो । नेपालबाट कार्गो मार्फत हुने आयात र निर्यात यहिँबाट हुन्छ । कलकत्ताबाट फर्केको केहि वर्ष पछि मेरो अमेरिका, दिल्ली, आवुधावी पोष्टिँग भयो । त्यसपछि नेपालमा शिष्टाचार महापाल र अन्तिममा राजदूतको रुपमा फ्रान्समा आइपुगेँ । यो बिचमा अष्ट्रेलिया, मलेशिया, जर्मनी, चीन जस्ता मुलुकमा लामा छोटा तालिमहरु लिने मौका मिल्यो । फरक देशमा फरक पदमा काम गरेर मिश्रित अनुभवहरु सँगाल्दै देशको लागि काम गर्ने मौका मिल्यो ।
परराष्ट्रमा काम गर्दा नीजि जीवन कम भयो । बिवाह, ब्रतबन्ध जस्ता सामाजिक या शुभ कार्यहरुमा मात्र होइन आफन्तहरु बिरामी हूँदा अस्पतालमा भेट्न जानसम्म पनि पाइएन । मीठो पक्ष भनेको परराष्ट्रको जागिरमा जुन अवसर जुट्छ हामीलाई यस्तो अवसर अन्य ठाउँमा भेटिँदैन । आफ्नो मात्र होइन बिभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखसँग परराष्ट्रको सानो तहको कर्मचारी पनि साक्षात्कार हुन पाउँछ । मैले पनि पाएँ र ठूला सेरोमोनियम देखि सभा सम्मेलनहरुमा भाग लिने, देख्ने सिक्ने र देशको प्रतिनिधित्व गर्ने अवसर मिल्यो । दिनरात नभनी अहोरात्र खटेर काम गर्दा हामीलाई सन्तोष प्राप्त यस्तै कुराहरुबाट हुन्छ ।
कतिपय समय चुनौतीपूर्ण थिए । त्यसले गर्दा धेरै मेहनत पनि गर्नुपर्यो । नेपाल सरकारको आर्थिक परिबेशका बारेमा केहि भन्नु नै छैन । त्यसैमा रहेर काम गर्ने बाध्यता थियो । अन्य मुलुकका कुटनीतिज्ञहरुले जस्तो तालिम हाम्रा परराष्ट्रका कर्मचारीहरुले पाउँदैनन् । तैपनि बिशिष्ठ मुलुकहरुले उपलब्ध गराइदिएका केहि छात्रावृत्ती अन्तर्गत केहि तालिमहरु लिने मौका पाएँ । यस्तै तल माथि भैरहने अवसरहरुको सदुपयोग गरेर अवकासको मिति सम्म आइपुग्दा खुसी छु । सन्तुष्ट छु । मेरो कसैप्रति गुनासो छैन । बिकासोन्मुख सानो मेरो मुलुकले मलाइ जति दिन सक्यो त्यसकालागि मुलुकप्रति धन्य छु ।
कुरा यति नै हो कि काम गर्ने तौर तरिका र सँस्कृतिहरु फरक देशका फरक छन् र हामीले पनि त्यहि अनुसार अब सोच्नुपर्छ ।
यति धेरै देशहरुमा काम गरिसक्नुभएको रहेछ तपाइलाई बिशेष गरी मन परेको देश कुन हो ?
पद अनुसारका जिम्मेवारीमा रहँदा सबै देशमा अलग अनुभव बटुलेँ । कलकत्ता हाम्रो देशको आयात र निर्यातको द्वार हो । नेपाली कार्गो आउने र जाने ठाउँ हो । एक जहाजबाट अर्को जहाजमा सामानहरु कसरी जान्छन् र कसरी क्लियरिंग हुन्छ, सामानहरु कसरि छरिन्छन् र हराउँछन् भन्ने देखेँ । त्यसपछि म द्वितिय सचिव अनि पछि प्रथम सचिव भएर अमेरिकाको वासिँगटनमा कुन्सुलर भएर काम गर्दा अमेरिकी समाजले कुनै पनि चिज या व्यक्तिलाई दिने महत्व अर्थात ‘भ्यालु सिस्टम’ बारे सिक्ने मौका मिल्यो । त्यसको केहि वर्ष पछि मेरो दिल्ली पोष्टिँग भयो । त्यहाँको बिशिष्ट अनुभव के रह्यो भने नेपाल भारत सम्बन्ध जति जाने पनि थोरै हुनेरहेछ । जति धेरै जानेको छु भनेपनि कमै हुने त्यति गहिरो रहेछ नेपाल भारत सम्बन्ध । सन् २०१० मा आवुधावीमा सरुवा भएपछि मैले नेपाली श्रमिकहरुका दुख र तिनको दर्दनाक अवस्था देखेँ । एउटा नेपालीले अर्को नेपालीलाई निर्ममता पूर्वक ठगि गरेको देखेको मैले पहिलो पटक त्यहीँ हो । भविष्यमा श्रमिक सम्बन्धि कुनै नीतिगत काम गर्नुपर्यो भने मैले मुलुकका लागि यो क्षेत्रमा राम्रै योगदान गर्न सक्छु जस्तो लाग्छ । आवुधाविबाट फर्केपछि मैले मन्त्रालयमै लामो समय काम गरेँ । कन्सुलर सेवा बिभागको निमित्त प्रमुख बन्दै बिभिन्न महाशाखामा काम गरेँ । फ्रान्स पोष्टिँग भएर राजदुतका रुपमा जानुपूर्व साढे दुइ वर्ष शिष्टाचार महापालको जिम्मेवारीमा थिएँ । यो पदमा रहँदा देश भित्र र बाहिर गरी २७ वटा उच्चस्तरिय भ्रमण भएछन् । यो बेला अनुभव भयो कि सबै भ्रमणहरु बास्तवमा एक कथा रहेछन् । नेपाल तथा अन्य मुलुक बिचका सम्बन्धहरुका इतिहासहरु रहेछन् । सन् २०१८ को काठमाण्डौंमा भएको चौथो विमस्टेक सम्मेलन चाहिँ मेरो कार्यकालको ठूलो इभेन्ट हो । यो सम्मेलनमा भाग लिन आउनुभएका बिदेशका ६ सरकार प्रमुख या राष्ट्राध्यक्ष र आफ्नै देशका प्रधानमन्त्री गरि सात वटा देशका बिशिष्ट पदाधिकारीहरुको सवारी एकैपटक गराउनु, हिँडाउनु या मन्चमा उभ्याउनु सहि समयमा फोटो खिचाउनु, कार्पेटको व्यवस्था गर्नु, भ्रमणको तालिका मिलाउनु, बसोबासको व्यवस्था गर्नु बारबार सुरक्षा निकाय देखि अन्य बिशिष्ट मानिसहरुसँग सम्पर्कमा रहिहरनु जस्ता कामहरु निकै चुनौतीपूर्ण हुन्छन् । यस्तोमा निकै होसियारपूर्वक काम गर्नुपर्छ । मैले यस्तो क्षण पाउनुलाई म आफू रिवार्डिँग भनौं या पुरस्कृत भएको क्षणको रुपमा लिन्छु । मेरो काम प्रतिको निष्ठा देखेर होला सन् २०१८ मा मलाई मेरा हाकिमले निजामती सेवा पुरस्कारका लागि शिफारिस गर्नुभयो र पुरस्कत पनि भएँ । करियरको अन्तिम समयमा म राजदूतका रुपमा पहिलो पोष्टिँग पाएर म फ्रान्स आइपुगेँ । नेपाल र फ्रान्सको दौत्य सम्बन्धको इतिहास निकै पुरानो छ र बिशिष्ठ छ । यहाँ आइपुगेपछि फ्रान्समा रहेको दुताबास अन्तर्गत पर्ने पोर्चुगलमा नेपालिहरुले भोगिरहेको कठिनाइ देखि दुताबासमा कर्मचारि अभाव हुनुको मर्म अनि युनेस्को तथा नेपाललाई अति नै माया गर्ने फ्रान्सेलीहरुको स्वभाव र फ्रान्सको सहयोगि नेपाली समुदायबाट परिचित भएँ ।
वर्तमान परिस्थितिमा हाम्रा काम गर्ने तौरतरिकाहरु समय अनुसार बदलिनुपर्छ भन्नुभएको छ माथि यसलाई हामीले कसरि बुझ्ने ?
अरु देशले कुटनीतिक क्षेत्रमा काम गर्ने कर्मचारीलाई दिने जस्तो अवसर हाम्रो मुलुकले प्रदान गर्दैन । मुलुक गरिब छ । कर्मचारिको स्तर उनन्तीको लागि लगानी गर्न सक्दैन जस्तो कुरा सुनिन्छ । लोकसेवा आयोगले परराष्ट्रमा काम गर्ने कर्मचारी छनौट गरेपछि कन्सुलर सेवामा काम गर्ने भए कन्सुलर सेवा महासन्धि र कुटनीति तर्फ भए कुटनीति सम्बन्धि महासन्धि र अन्तर्राष्ट्रिय प्रचलनहरुको बारेमा तालिम चाहिन्छ । यो बाहेक बिकसित विश्व राजनितिक परिस्थितिमा हाम्रा कर्मचारीहरुमा हुनुपर्ने भाषागत तथा एतिहासिक ज्ञान र शिपका कुरा अलग छन् । मुलुक भित्र जति तालिम दिइन्छ त्यो बदलिँदो परिस्थितिमा पर्याप्त छैन । देश भित्र काम बिगारे त अर्को साथीले सपार्न सक्छ । गल्ती कमजोरी भयो भने सरी भन्ने ठाउँ पाइन्छ । तर बिदेशमा काम गर्न जाँदा कुरा बिगार्यो भने त देशको छवि बिग्रन्छ । यो बढो संबेदनशिल कुरा हो । पहिला पहिला भाषा र कुटनितिक तालिमको लागि हाम्रा मित्रराष्ट्रहरुले पनि छात्रवृत्ति उपलब्ध गराउँथे । अहिले यो पनि कम भैरहेको छ । यसमा सरकारको ध्यान पुग्न जरुरी छ । सेना भर्ती लिएपछि तालिममा पठाएर बेस्सरी खारिन्छ । त्यसैगरी अन्तराष्ट्रिय जगतमा नेपाल चिनाउने कुटनीतिज्ञहरुले तालिम पाउनु पर्छ । उनीहरु भनेका बिदेशमा देश बोक्ने र चिनाउने मानिस हुन् । जिम्मेवारी दिने बेलामा ल भन्ने तर तालिम र श्रोत उपलब्ध गराएन भने कसरी काम गर्ने । एउटा कर्मचारीले आफ्नै बलबुतामा सिकेको आधारमा राज्यलाई चाहिने या राज्यले चाहे जस्तो काम हुन सक्दैन । तालिमको अभाव भएको मानिस पठाउनुमा त दोष राज्यको पनि हुन्छ । हाम्रै छिमेकी मुलुक भारत बंगलादेश र पाकिस्तानमा यसरी छनौट भएर आएका कर्मचारिलाई नै भाषा पनि सिक्ने र काम पनि गर्ने भनेर पाँच वर्षलाई पठाएका हुन्छन् । मैले यहि कुराको ध्यानआकर्षण गराउन खोजेको हुँ ।
यसो भन्दैमा कर्मचारीले आफ्नो ज्ञानको सीमा नबढाउने भन्ने होइन । हाम्रा नेपाली कुटनीतिज्ञहरुले आफूलाई तिखार्ने प्रयत्न सधैँ गर्नुपर्ने अवस्था छ । मेहनत सधैँ गर्नुपर्छ । व्यवहारिक कुराहरुको ज्ञान काम गर्दै जाँदा सिकिन्छ तर सैदान्तिक ज्ञान बढी भन्दा बढी लिएर पराराष्ट्रमा आउनु भयो भने मैले पढ्दा त यस्तो पढेको थिएँ भनेर गाह्रो बेलामा आफ्नो ज्ञान सहयोगी बन्छ ।
फ्रान्समा मात्र नभएर अन्यत्र पनि दुताबासहरुले प्रदान गर्ने सेवामा गुनासो किन सुनिन्छ ?
कुटनीतिक काम र कन्सुलर काम फरक र अथाह हुन्छन् । दुइपक्षिय सम्बन्ध राजनितिक आर्थिक र व्यापारिक कुटनीतिका काम राजदुतले हेर्न हो । त्यो बाहेकका सारा कामहरु कन्सुलर कामहरु हुन् । राहदानी वितरण गर्ने, भिषा दिने, अलपत्र परेका नागरिकहरुको उद्वार देखि कागजपत्र प्रमाणीकरण, शब व्यवस्थापन आदि काम कन्सुलर काम अन्तर्गत पर्छन् । यो सेवामा काम गर्ने व्यक्ति अरुका कुरा सुन्न सक्ने, संवदेनशिल तथा सहनशिल बन्नुपर्छ । सेवाग्रही कार्यालयमा आएर कराउने भनेको उसलाई मर्का परेर हो । उ पिडाले कराएको हुन्छ । यस्तोमा आफूले नियम अनुसार काम गर्न सकिन्छ भने गरिदिने र सकिँदैन भने यसो गर्नुस है भनेर शिफारिस गरिदिनुपर्छ । कतिपय ठाउँमा थोरै कर्मचारीहरु हुन्छन् र उनीहरुलाई ज्यादै भार परेको अवस्था हुन्छ । आज यो काम गर्छु भनेर बस्यो त्यहि बेला म घुम्न आएको थिएँ पासपोर्ट हरायो या ल फलानो त दुर्घटनामा पर्नुभयो या हराउनु भयो भन्ने जस्ता तत्कालै ध्यान दिनुपर्ने खबरहरु आइपुग्छन् । यस्ता आकस्मिक कामहरु कति हो कति । त्यसले गर्दा अन्य कामहरुमा ढिलाइ हुन्छ तिनलाई पुरा गर्न दिनरात नभनी काम गर्नुपर्न अवस्था छ दुताबासहरुमा । यस्ता कारणहरुले कहिलेकाही गुनासोहरु आउँछन् जसलाई सहज रुपमा लिनुपर्ने पनि हुन्छ ।
तपाइ जस्तै लामो समय कुटनीतिक क्षेत्रमा बिताउने परराष्ट्रका कर्मचारीहरुलाई अवकास पछि राज्यले कुनै न कुनै संयन्त्र मार्फत पुन प्रयोग गर्छ कि गर्दैन ?
हामीहरु राज्यको तलब भत्ता र सुबिधाहरु लिएर वर्षौँको अनुभवले खारिएकाहरु हौँ । निश्चित समयमा सबैले अबकास लिनैपर्छ । वर्षौँसम्म काम गर्दाको ज्ञान र शिप हामीसँग भएपनि अबकास पछि भने सरकाले राय सुझाब र सल्लाह लिने चलन आक्कल झुक्कल देखिएपनि पद्दती नै बसालेर काम लिने भएको छैन ।
अब फ्रान्समा रहँदा तपाइको अनुभव तर्फ फर्कौँ । कसरी व्याख्या गर्नुहुन्छ आफ्नो बसाइलाई ?
राजदुतका रुपमा फ्रान्स पोष्टिँग मेरो पहिलो अनुभव हो । नेपाल र फ्रान्सको औपचारिक सम्बन्ध १९४९ को अप्रिलबाट भएपनि अनौपचारिक सम्बन्ध भने पूर्व प्रधानमन्त्री जंगबहादुर राणाको १८५० को अगष्ट देखि अक्टोबर सम्म ५० दिनको बेलायत र फ्रान्स भ्रमणको कुराबाट शुरु भएको हो । त्यो बेला फ्रान्सका राष्ट्रप्रमुख नेपोलियन तृतिय हुनुहुन्थ्यो । सन् १८०४ मा जारी भएको नेपोलियन कोड बारे त्यो बेला प्रधानमन्त्री राणालाई व्याख्या गरिएको र त्यसैबाट प्रेरित भएर नेपालमा उहाँको पालोमा पहिलो संहिता कानुन जारी गर्नुभयो भन्ने इतिहास मैले पढेको थिएँ । अहिले वर्तमानमा फ्रान्स युरोपको महत्वपुर्ण देश हो र संयुक्त राष्ट्रसँघको पाच स्थाइ सदस्य मध्ये एक देश हो । ब्रेक्जिट पछाडि समग्र युरोपमा फ्रान्स मात्रै स्थायी सदस्य राष्ट्र बनेको छ संयुक्त राष्ट्र संघको । नेपाल र फ्रान्सको सम्बन्ध जोडिँदा दुइ देश बिच प्रत्यक्ष आदानप्रदान हुनेभएपनि पछिल्ला दिनहरुमा फ्रान्सेली सहयोग इयु मार्फत जान्छ । इयुमा जर्मनी पछि फ्रान्स अर्को महत्वपुर्ण देश भएकोले जर्मनी पछि फ्रान्सको सहयोग नेपालकालागि महत्वपुर्ण छ । नेपाललाई गाह्रो साह्रो परेको बेलामा हामीलाई फ्रान्सले सहयोग गरिरहेको हुन्छ । सभ्यता र संस्कृतिले उन्नत यो देशमा राजदूतको रुपमा काम गर्न पाउनु पनि मेरो लागि अर्को एक सौभाग्य थियो ।
तपाइ फ्रान्स आइपुग्नुभएको केहि समयमै प्रधानमन्त्री केपी ओलीले फ्रान्स भ्रमण गर्नुभयो । त्यो बेला के भएको थियो र त्यसपछिका प्रगतिहरु के के छन् जान्न सकिन्छ कि ?
म फ्रान्स आइपुगेको दुइ महिना पछि नै फ्रान्सको भ्रमण तय भयो । जबकी फ्रान्स मेरो लागि नितान्त नयाँ मुलुक थियो । प्रधानमन्त्रीको भ्रमण सफल बनाउनु एक चुनौती थियो । सन् २०१९ को जुन महिनामा प्रधानमन्त्री केपी ओली फ्रान्स भ्रमणमा आउनुहुँदा फ्रान्सका रोजागार दाताहरुको परिषद (जसलाई मेदेफ भनिन्छ र यो नेपालको उद्योग वाणिज्य महासंघ जस्तो मान्न सकिन्छ ) मा आवद्द आठ वटा प्रतिष्ठित सँस्था या कम्पनीका प्रमुख व्यक्तिहरुसँग छुट्टाछुट्टै र समग्र भेटघाट भयो । उहाँ आएको बेला नेपालमा रोप वे बिकास देखि टेलिकम्युनिकेशन सेटिलाइट कुराहरुको उठान भयो । नेपालले बैदेशिक लगानीलाई प्रोत्साहन गरेको कुरा उक्त बैठकमा भएको थियो । यहि मौकामा प्रधानमन्त्री पेरिसको गिमे म्युजियम पनि जानुभएको थियो । उक्त म्युजियममा सन् १९८४ देखि नेपालबाट हराएका दुइ मूर्तीहरु उमा महेश्वर र बिष्णु अनि लक्ष्मी तथा गरुढको मूर्ती छ । त्यसमा नेपालले यि मूर्ती नेपालले पाउनु पर्छ भनेर दावी गरेको छ ।
प्रधानमन्त्रिको भ्रमण पछि म फलोअपका लागि पुन मेदेफमा गएँ र त्यहाँका प्रेसिडेन्टलाई भेटेँ । उहाँलाई एउटा टोली नेपाल पठाइदिनुभएमा म नेपालमा आवस्यक कोर्अडिनेशन गर्छु भनेको थिएँ । टोलीले नेपाल मै पुगेर हाम्रो देशको वस्तुस्थिति प्रत्यक्ष बुझ्न सक्छ र नियम कानुन बुझ्न सक्छ भनि आग्रह गरेको थिएँ । त्यो कुरा नोटिशमा भएकोपनि थियो तर लगत्तैको कोभिडले सबै कुरा ओझलमा पर्यो । मैले पुन यहाँको परराष्ट्र मन्त्रालयबाट पनि मेडेफलाई झकझकाइदिनुस् भनेको छु । फ्रान्ससँग हाम्रो देशसँग ‘लगानीको पारस्परिक प्रबर्दन र सुरक्षा संझौता’ भएको छ जुन पुरानो संझौता हो । विद्यमान ऐन कानुनले दिएको बैदेशिक लगानीको संरक्षण बारे उहाँहरु अवगत हुनुहुन्छ । तर प्रभाव नै पर्ने गरी लगानी भित्र्याउने विषयमा भने फ्रान्सेली लगानीकर्ताहरुले ‘डोयल बिजनेश इन्डेक्स’ लाई मुख्य आधार मान्नुहुन्छ । त्यो इन्डेक्समा हामीहरु ८० औँ पोजिसनतिर छौँ । भन्दाखेरी हाम्रो देशमा चीन र भारतको बिशाल बजार छ भनिन्छ तर त्यहाँ उत्पादन गरेको बस्तु यि दुवै मार्केटमा जान संभव छ कि छैन भन्ने कुराको उहाँहरुले ख्याल गर्नुभएको हुन्छ । कानुनी चुनौतीहरु, छिद्रहरु र राम्रा पक्षहरु बारे उहाँहरुले पनि बेसरी अध्ययन गर्नुभएको हुन्छ । यसो भन्दैमा हामी चुप लाने कुरा भएन किनकि आर्थिक कुटनीति पनि हाम्रै जिम्माको कुरा हो । लगानकर्ताहरुलाई भन्ने र झकझकाउने हाम्रो काम हो । नेपाल जस्तो बिशिष्ठ भौगोलिक स्थिति भएको हाम्रो मुलुकमा उहाँहरुको टीम लग्न पायो भने नेपालले बैदेशिक लगानी आकर्षित गर्न गरेका प्रयाशहरु बारे थप जान्नुहुन्थ्यो । हामीले नुबझेर धेरै दिएका छौँ कि, थोरै दिएका पो छौँ कि या मागेको दिएका छैनौ र नमागेका पो दिएका छौँ कि भन्ने कुरा हुन्थ्यो । प्रधानमन्त्रीले फ्रान्स भ्रमण गर्नुभन्दा केहि महिना पहिला भनौँ न २०१९ को मार्च महिनामा नेपालमा टेलिकम्युनिकेशन सेटेलाइट स्थापना र सुरक्षा तथा प्रिन्टिँग फेसिलिटी स्थापना गर्ने भन्ने बिषयमा एक ‘आशय पत्रमा’ हस्ताक्षर भएको थियो । तर यि दुवै बिषयहरु प्रधानमन्त्रीको भ्रमण पछि अगाडी बढेका छैनन ।
यि बाहेक फ्रान्सेली लगानीको सन्दर्भमा नेपाली पासपोर्ट र नेपालको राष्ट्रिय परिचयपत्र फ्रान्सको आइडिमिया भन्ने कम्पनीले उत्पादन गरिरहेको छ भने काठमान्डुको मेट्रो परियोजनामा फ्रान्सेली कम्पनीले रुचि देखाएको र सर्भे गरेको कुरा सुनें । तर त्यसपछि पछिल्लो अपडेट मलाइ थाह छैन ।
नेपाली व्यपारीहरुको इयुमा उपस्थिति कस्तो छ ?
नेपाल बिकासोन्मुख मुलुकमा परेकोले नेपालले फ्रान्समा मात्र होइन समग्र इयुमा हात हतियार बाहेक नेपालको सबै चिज यहाँको मार्केटमा पठाउन पाउँछ । हामीले जति ल्याएपनि हुन्छ उता उत्पादन भएका बस्तुहरु । सामान निर्यात लागि डिउटी फ्री र कोटा फ्रि सुबिधा नेपाललाई छ । यति हुँदा पनि उलेख्य व्यपार बृद्दि हुन सकेको छैन । नेपाली व्यपारिहरुमा आक्रामक तरिकाले इयुमा व्यपार गर्न क्षमता बिकास नभएर नेपालले फाइदा लिन सकेको छैन भन्ने मलाइ लाग्छ । व्यपारिहरुको ठाउँमा दुताबासले नै यसो गर्नुस भन्न हामी सक्दैनौँ किनभने हाम्रो कर्मचारीको आकार नै निकै सानो छ । हरेक विषयहरु खप्टेर काम गर्नुपर्दा कुनै पनि विषयमा ज्ञाता बन्न नसकिने अवस्था छ र अरु देशका दुताबासले झै आर्थिक पाटो फलानो कर्मचारीको जिम्मा भन्ने छैन ।
तपाइँले कर्मचारी अभावको कुरा गर्नुभयो । पेरिस स्थित नेपाली दुताबासमा कर्मचारिको अभाव भएको भनि यहाँको नेपाली समुदायले राज्यसँग थप कर्मचारी पनि मागिरहको उहिल्यै देखि हो र तपाइ आफै यसको भुक्तभोगि हुनुहुन्छ । अझै पनि नेपाल सरकार गंभिर नहुने ?
सन् १९६७ मा पेरिसमा नेपाली राजदुताबास स्थापाना भएको रहेछ । त्यो वर्ष तीन जनाको दरबन्दी राखेर खुलेको दुताबासमा आजको दिनसम्म पनि तिनै जनाको मात्र दरबन्दी छ । एक जना सवारी चालक र अर्को एक डेस्कमा एक अस्थाइ कर्मचारी हुनुहन्छ । सन् २०२२ को फ्रान्स र सन् ६७ को फ्रान्समा धेरै फरक छ । उ बेला फ्रान्समा नेपालीको संख्या न्यून थियो । अहिले बढ्दो छ । लगभग १२ हजार जति नेपाली छन् भनिन्छ फ्रान्समा । पोर्चुगलको समस्या त झन् चरम छ । त्यहाँ पचास हजार नेपाली पुगे भनेर लेखेको पढेँ । यहि तीन जना स्थाइ र एक जना अस्थाइ अनि एक जना सवारि चालकले फ्रान्स र पोर्चुगल पनि हेर्नुपर्छ । कामको बढोत्तरी कति गुना भयो भनेर साध्य छैन । हामी त बिचरा नै भयौँ । इन्डोरा र मोनाको जस्ता साना दुइ मुलुक पनि फ्रान्सकै दुताबासका जिम्मामा पर्छन् भने हाम्रो मुलुकको अर्को मुख्य सहयोगि निकाय युनेस्को पनि पेरिसकै दुताबासले हेर्छ । बदलिदोँ राजनीतिक परिवेशमा कुटनीतिको बृहत पक्ष छ अर्कोतर्फ । फ्रान्समा रहेको नेपाली दुताबासको क्षमता सारै नै सानो छ र कामचलाउ मात्र भइरहेको छ ।
एकजना राजदुत मुनी दुइ जना कर्मचारी राखेर काम चलाउने सोचले राज्यलाई घाटा भैरहेको छ । राजदुत भनेको बाहिर निस्कने, अरु कुटनीतिज्ञहरु सँगको भेटाघाटामा जाने, बैठकमा जाने, अफीसियल कार्यक्रमहरुमा जाने, साथी बनाउने मानिस हो । किनभने कुटनितिमा जति धेरै साथी बनाइन्छ उति धेरै अन्तराष्ट्रिय मन्चहरुमा समर्थन र सहयोग लिन सजिलो हुन्छ । फ्रान्ससँग मात्र होइन हामीले युनेस्कोसँग पनि उस्तै राम्रो सम्बन्ध बनाउनुपर्ने छ । राजदुतले बिहान देखि बेलुका सम्म टेबुलमा बसेर काम गर्नुपर्ने होइन तर यहाँ भैराखेको त्यहि छ । कतिपय कुटनीतिका कुराहरुमा सोचेर, तर्क दिएर, अध्ययन गरेर र देशको हित सोचेर बिभिन्न पत्रहरुको जवाफ दिनुपर्ने हुन्छ । राजदुतको समय टेबुलमा बसेर भरभरी आइपर्ने काम गर्दैमा सकियो भने अन्तराष्ट्रिय मन्च तथा अबसरहरुमा नेपाल बन्चित हुन्छ । पेरिसमा रहेको युनेस्को सँग नेपालले सहकार्य गर्ने प्रशस्त अवसरहरु छन् । तर त्यहाँ पनि हामीले राम्रो समय दिन सकेका छैनौँ । यसरी भएन भनेर मैले कर्मचारी संख्या बढाउनु पर्छ भनेर शिफारिस गरेको छु । अहिलेका लागि यो शिफारिस बिचराधिन होला र एकदिन दुताबासमा थप कर्मचारीहरु आइपुग्नुहोला भन्ने अपेक्षा गरौँ ।
कति जना कर्मचारीहरुको माग गर्नुभएको छ ?
मैले एक जना भाषा बिज्ञ र अर्को शाखा अधिकृतको माग गरेको छु । शाखा अधिकृतले कन्सुलर काम हेरिदिनु भयो भने उपनियोग प्रमुखले युनेस्कोको काममा ध्यान दिन सक्नुहुन्थ्यो ।
पोर्चुगलमा अर्कै समस्या छ र दिनानुदिन नेपालीहरुको संख्या बढिरहेको छ । त्यहाँको समस्या समाधानका लागि के पहल भयो ?
एक वर्ष पहिलेको तथ्यांक अनुसार पोर्चुगलमा २१ हजार नेपाली आधिकारिक रुपमै रजिष्टर्ड भएका छन् । कोभिडका कारण रजिष्टर्डका लागि माग भएका र फाइल सदरकालागि पाइपलाइनमा परेका नेपालीहरुको संख्या पनि ठूलो छ । युक्रेन युद्द तथा अन्य कारणले त्यहाँ आइपुग्ने नेपालीको संख्या अहिले चालिस हजारको हाराहारीमा पुगेको भनिन्छ । अझ एकपटक त मैले एउटा पत्रिकामा नेपालीको संख्या पचास हजार पुगेको भनेर पढेँ । त्यहाँ नेपाली पुग्ने क्रम तिव्र छ । क्षण क्षणमा त्यहाँका नेपालीलाई दुताबासको आवस्यकता पर्छ । पोर्चुगलको नेपालीलाई पेरिस आउन टाढा र खर्चिलो छ भने राहदानी हराएका नेपालीका हकमा तिनले अन्य देशमा यात्रा गर्नु जोखिमपूर्ण पनि छ । हामी पेरिसका तीन जना स्थाइ कर्मचारीले के गर्ने । युनेस्को हेर्ने कि फ्रान्सका नेपालीलाई सेवा दिने कि पोर्चुगल हेर्ने कि । परिस्थिति एकदम जटिल भएपछि मेरै कार्यकालमा मैले नै फेरी युरोपभरीका नेपाली दुताबासहरु मार्फत कम्तीमा राहादानी दिने कामकोलागि अनुमति दिनु पर्यो भनि परराष्ट्रमा माग गरेँ । पछि यो कुरा स्विकृत भएर आयो । मेरो कार्यकालका अन्तिम अन्तिम दिनमा मैले जे सुकै होस भनेर बसेको भएपनि हुन्थ्यो तर जिम्वारीको बोधले छाडेन । अब पोर्चुगलका नेपाली युरोपेली जुन देशमा पुगेपनि कन्सुलर सेवालिन सक्नुहन्छ । अहिले यति भएपनि पोर्चुगलका नेपाली माथि न्याय गर्न सकेँ भनेर गर्व लाग्छ ।
केहि समय पहिला परराष्ट्रको एक टोली पासपोर्ट समस्याको हल गर्न पोर्चुगल आइपुग्यो । यसका लागि फ्रान्सबाट पनि एक कर्मचारी यहाँबाट जानुभयो । पछिल्लो अवस्था के छ ।
राहदानी प्राप्तीको निवेदन गर्नलाई जैविक तथ्याँक या वायोमेट्रिक तथ्याँक लिनुपर्छ । यसका लागि व्यक्ति स्वयं क्यामेरा अगाडी बस्नुपर्छ । विद्धुतीय अँगुठा छाप र दस्तखत दिनुपर्ने हुन्छ । पहिला जस्तो टाढैबाट दरखास्त पठाएर हुँदैन । यो वर्ष पोर्चुगलको हकमा बिदेशमा मेशिन लगेर विद्युतिय राहदानी बाँडेको नेपालको यो पहिलो अनुभव हो । परराष्ट्रको राहदानी विभाग बाटै टोली आएको थियो । एउटा टोली पठाएरै राहदानी नविकरण गरियो या हराएकाहरुलाई प्रदान गरियो । नेपाली दुताबासमा कर्मचारी संख्या साह्रै नै थोरै भएपनि एक जनालाई फ्रान्सको दुताबासबाट पठाइयो । उहाँहरुले एक महिना सम्म पोर्चुगल बसेर २३ शय भन्दा केहि बढी दरखास्त संकलन गर्नुभयो । त्यसमा साढे सात सय जति त हराएको मात्रै पासपोर्ट बने । बाँकी चाहिँ म्याद सकिएका या सकिन आँटेका र बालबच्चाहरुका थिए । हामीले अन्तिम दिन भनेर बन्द गर्दा पनि पचास जना जतिको दरखास्त परेको थियो । त्यहिँ बसिरहेको भए अरु पनि दरखास्त आउने अवस्था थियो । हाम्रो मिशन जम्मा एक महिनाको मात्र भएकोले बाँकी संभव भएन । अहिले केहि महिनाकालागि राहदानीको माग अलि घटेको छ । राहदानी प्राप्त गर्न कठिन हुन्छ भन्ने ज्ञान ‘राहदानी हराएका’ कतिपय दाजुभाइहरुलाई भयो होला भन्ने मलाइ लाग्छ ।
राहदानी हराएका भन्नुभएपनि कतिपय राहदानी जोखिपूर्ण यात्रा गर्दा फ्याँकिएका हुनसक्छन् । एउटा कुटनीतिज्ञले दाजुभाइहरु तपाइहरुले राहदानी नफाल्नोस है भन्नु पर्नेदिन आउनु कति बेमज्जाको क्षण हो ?
यो त चुनौती नै भयो । मुलुकमा कठिनाइ छ । अवसर छैन, त्यसैले बिदेश नगै भएन भन्ने बाहना छ अहिले । बिना रोकतोक बिदेश यात्रा गर्न पाउनु नागरिक अधिकारको कुरा पनि हो । अवसरको खोजी सबैले गर्नुपर्छ । तर कमसेकम राहदानी सुरक्षित हुनेगरी उहाँहरु गैदिनुभयो भने त्यो उहाँहरुलाई नै सजिलो हुन्छ किनभने बिदेशका सबै ठाउँमा नेपाली दुताबास छैन । पासपोर्ट हराउँदा राज्यको व्ययभार मात्र बढ्ने होइन कि अहिले त राहदानी प्राप्तीको पद्तीनै गाह्रो छ । अप्रिल महिनामा पोर्चुगलबाट राहदानी दिने हिसाबले एक महिने शिविर राखियो । राहदानीको मोबाइल किट झन्डै चालिस किलोको हुन्छ । त्यो हामीले यहाँबाट नै डिचएएल गरेर मेशिनलाई जहाज मार्फत पठायौँ । उता गएपछि भित्रका एक दुइवटा उपकरण बिग्रिएछन् । फेरी पेरिसको दुताबासमा इन्सटल गरेकोलाई उता लग्नुपर्यो । त्यो बाकस कम्प्याक्ट खालको छ । लाने लैजाने गर्दा ठोकिन्छ बिग्रन्छ । धेरै टाढा टाढा बोकेर जान सकिँदैन । जनशक्ति छैन । अनि त्यो लगेर मात्र भएन नेपालसँग इन्टरनेट कनेकस्सन मिलाउन पर्यो । उतापनि पराराष्ट्रको कर्मचारि स्ट्यान्डबाइ बस्नुपर्यो । यो निकै गाह्रो काम हो ।
मेरो आग्रह के हो भने बिभिन्न कठिनाइ झेलेर उहाँहरु गन्त्व्यमा आइपुग्नुहुन्छ । भरिसक्य सुरक्षित भइन्छ कि भइँदैन भन्ने कुरा ख्याल गरेर मात्र हिड्नुहोस । तपाइहरुलाई हिँडाइने बाटोहरु सुरक्षित छैनन् । पोहोर फ्रान्सको निस शहरमा एक जनाको ज्यानै गयो रातमा तिब्र गतिका सवारी चल्ने राजमार्ग पार गर्दा । एकजना अझै अस्पतालमै उपचाररत हुनुहुन्छ । यसरी अनिश्चित भएर हिँड्नुभन्दा आफ्नै मुलुकमा केहि गर्न सकिन्छ भन्ने कुरामा ढुक्क हुनपर्यो । त्यति मेहनत गरे आफ्नै मुलुकमा पनि केहि हुन सक्छ । तथापी हिँड्नु नै हुन्छ भने राहदानी सुरक्षित हुने मेलो गरेर हिड्नुस भन्ने आग्रह छ । राहदानी हराउँदा दुख हुन्छ । राहदानी बनाउन सकिन्छ नसकिने होईन तर धेरै हन्डर र र दुख खप्नुपर्छ । दुख पाएपछि भोग्ने त आफैंले हो नि । हाम्रा सबै मुलुकमा आवासीय दुताबास छैनन र भनेको समयमा सेवा लिन सकिँदैन ।
पोर्चुगलको समस्या हेर्दा नया दुताबास खोल्नुपर्ने देखिन्छ यसको लागि संभावना छ कि छैन ?
पोर्चुगल र स्पेनमा नेपालीहरुको उल्लेख्य उपस्थिति हुन थाल्यो भन्ने भएपछि दुइ मुलुक मध्ये एकमा दुताबास खोल्ने र दुइवटै देश हेर्ने भन्ने कुरा भयो र स्पेनमा दुताबास खुल्यो । तर स्पेन बसेर राजनीतिक रुपमा पोर्चुगल हेर्न नपाइने र पोर्चुगल बसेर स्पेन हेर्न नपाइने भन्ने रहेछ । यो कुराको जानकारि पहिला भएन । नहुँदाखेरी कन्सुलर बाहेक राजदुतको हिसाबले दुइ देश बिचका सम्बन्धका कामहरु अहिलेपनि फ्रान्सबाटै हेरिन्छ । नेपालीहरुको संख्या उल्लेख्य भएको सन्दर्भमा अब चाहीँ त्यहाँ नयाँ दुताबास खोल्न सबै कुराको संयोग मिलेको देखेको छु । धेरै नेपाली हुनुहुन्छ । दुइ चार जना कर्मचारी राखेर दुताबास खोल्दा खेरी कन्सुलर काम गरेरै उठेको राजश्वबाट दुताबास चलाउन राज्यलाई धेरै दायित्व पर्दैन । यो हुन नसके कम्तिमा एक वैतानिक महावाणिज्यदुतको कार्यालय चाहिन्छ ।
श्रम ऐनमा श्रम सहचारीको पनि व्यवस्था छ । दुताबास खोल्न नसके कम्तिमा एक श्रम सहचारी पठाएर काम चलाउन सकिँदैन ?
श्रम स्विकृति लिएर गएका श्रमिकहरुलाई ध्यानमा राख्ने भनेर श्रम ऐनमा श्रम सहचारीको व्यवस्था भयो । तर यो व्यवस्था ढ्याक्क तलमाथि नसोचि जबरजस्त रंगढंग नमिलाइकन बनाइयो । श्रम सहचारीले पनि बिदेशमा कुटनीतिक आवरणमा मात्र बस्न पाउँछ । यो पदको मानिस कि त राजदुताबास कि त महावाणिज्य दुताबास मार्फत रहेर काम गर्नुपर्छ । अर्काको देशमा म श्रम सहचारी हुँ भनेर एउटा कार्यालय खोलेर बस्ने स्विकृति नै हुँदैन । बिना स्विकृति अर्काको मुलुकमा गएर फोटो खिच्ने व्यक्तिगत विवरण संकलन गर्ने काम गर्न पाइँदैन । धेरै मुलुकमा यस्ता कामपनि कुटनीतिक जिम्मेवारीमा बसेका कर्मचारीको नै हो । दुइ मन्त्रालयका फरक कर्मचारी एउटै कार्यालयमा हुँदा समन्वय गर्न गाह्रो हुन्छ । कुटनीतिक नियोगमा काम गर्दा मन्त्रालयमा रिपोर्टिँग गर्ने काम भनेको नियोग प्रमुखको हो । श्रम सहचारीलाई पनि यहि कामकालागि रिपोर्टीँग गर्नु भनेको छ । राजदूत मुनिको पदमा बस्ने श्रम मन्त्रालयको शाखा अधिकृत या उपसचिब एउटा कर्मचारीले के कुरा मात्र बुझेर के रिपोर्टिँग गर्ने । एउटा निकायले गर्नुपर्ने काममा अर्को निकायले पद सृजना गरेर कर्मचारि पठाइदिँदा मतभेद सृजना हुन्छ । यसरी राज्यका दुइ फरक अंगहरु एक आपसमा लडाउने भिडाउने काम गर्दा कार्यसम्पादनमा असर पार्छ । अझ कति सम्म थियो भने श्रम ऐन शुरुमा आउँदा ‘केहि गरी मतभेद सृजना भएमा श्रम सहचारीले भनेको कुरा राजदुतले मान्नुपर्ने’ भनेर लेखेको थियो । यो त जबरजस्त भयो नि । अन्तराष्ट्रिय प्रचलन एकतर्फ छ हाम्रो काम गराइको शैली अर्को तर्फ छ । तल्लो तहको निकायको राय सल्लाह नबुझि आग्रह या पूर्वाग्रह राखेर नीति तर्जुमा गर्दा कानुन नै कार्यान्यवनमा जाँदैनन् । जसले गर्दा घाटा मुलुकालाई नै पर्छ ।
फेरी फ्रान्सतिरै फर्कौँ, तपाइले फ्रान्सको नेपाली समुदायको कुनै विशेष चरित्र भेट्नुभयो कि ?
नेपालीहरु हामी जस्ता छौँ जता गएपनि त्यस्तै रहन्छौँ । देश परिवर्तन हुँदैमा आनिबानी फरक हुने भन्ने कुरा हुँदो रहेनछ । पेरिसको सन्दर्भमा दुताबासको काममा नेपाली सघसंस्थाले धेरै पटक हातेमालो गरिदिनुभयो । मैले पनि नेपाली संघ संस्थाद्वारा आयोजित कार्यक्रमहरुमा सकेसम्म उपस्थित हुने कोशिष गरेँ । काम गर्दैजाँदा कतिपय दाजुभाइसँगको सम्बन्ध सेवाग्राही भन्दा माथि उठेर व्यक्तिगत पनि बन्यो । नेपालीहरुको देश प्रति सारै नै चिन्ता गर्ने बानी जहाँ गएपनि उस्तै छ । बिहान उठ्यो नेपाली पत्रपत्रिका पढ्ने, हेर्ने अपडेट हुने र चिन्तित हुने स्वभाव छ । बाढी, पैह्रो, भूँइचालो जस्तो विपत्तिमा ज्यादै संबेदनशिल हुने स्वभाव छ । यो राम्रो पक्ष हुँदाहुँदै पनि नेपालीहरु जहाँ पुग्नुभएको छ त्यो देशको रितिथिति र प्रचलनमा भिज्न कोशिष गर्नुहोस भन्नु मन लाग्छ । युरोपमा आएको नेपाली रातारात युरोपियन जस्तो बन्न सकिँदैन । तर यहाँ जसरी नियम कानुनमा हिँडिन्छ, बोलिन्छ र व्यवहार गरिन्छ आफूलाई त्यो साँचोमा फिट गर्ने कोशिष गर्नुपर्छ । यो भनेको नयाँ समाजमा रुपान्तरण हुने र अभिन्न बन्ने प्रयत्न हो र अरुको समाज प्रति पनि देखाएको आदरभाव हो । आफ्नै समुदाय भित्र नेपाली पारा देखाउँदा केहि भएन तर विदेशी सग संगत गर्दा या व्यवहार गर्दा नेपाली ढाँचा र ढर्राले हुँदैन । यो कुरा सबै बिदेशिएका नेपालीले बुझ्नुपर्छ । फ्रान्सको सन्दर्भमा यहाँको नेपाली समुदाय आफ्नो गच्छे र योग्यता अनुसार फ्रान्सेली समाजमा मिलेर बस्नुभएको देखेँ ।
राम्रो पक्ष के भने फ्रान्समा रहेको नेपाली समुदाय प्रति फ्रान्सेली सरकारको कुनै गुनासो देखिन । यसले मलाइ प्रसन्न पनि तुल्यायो । यहाँका पदाधिकारिहरुसँग कुरा गर्दा उहाँहरुले नेपाली समुदायको नराम्रो कुरा गर्नुभएन । नेपाली प्रति फ्रान्सेली सरकारको सद्भाव रहेको पाएँ । कोभिडको बेलामा मैले राजदुतका हैसियतले हाम्रो नेपाली समुदायको हित रक्षा होस् भनेर ध्यानाकर्षण गराएको थिएँ । उहाँहरुले चिन्ता व्यक्त नगर्नु भन्ने जवाफ पनि दिनुभएको थियो तर त्यो महामारीमा यहाँको सरकारले यो या त्यो समुदाय भनेर छुट्टाएर हेरेन र समभाव राख्यो ।
अनि फ्रान्सेलीहरु नि ? के देखिन्छ उनीहरुको आँखाबाट नेपाल हेर्दा ?
फ्रान्सेलीहरु नेपालीहरुलाई असाध्यै माया गर्नुहुन्छ । नेपालीहरुको विदेशीहरुलाई मान मर्यादा गर्ने बिशिष्ठ स्वभाव छ । यति मान मर्यादा र सम्मान शायद उहाँहरुले अन्त घुम्न जाँदा पाउनुहुन्न । एक पटक नेपाल गएर आएको फ्रान्सेली उताबाट फर्कँदा नेपालको साथी बनेर आउनुहुन्छ । पोहरको वर्ष फ्रान्सको नेशनल एसेम्बलीका अध्यक्ष अफीसियल भिजिटमा नेपाल जानुभएको थियो । उताबाट फर्केपछि तुरुन्त उहाँ साथीभाइ र परिवार लिएर व्यक्तिगत भिजिटमा नेपाल जानुभयो । नेपालीहरुको विनम्रता र विनयशिलता हाम्रो सम्पत्ती हो जुन पर्यटक लोभ्याउन सक्ने नेपालीको ‘सफ्ट पावर’ पनि हो । यो हामीले कहिल्यै गुमाउनुहुँदैन ।
यो बाहेक नागरिक स्तरको सम्बन्ध पनि निकै बलियो छ । सिल्भाँ लेभिले नेपालको इतिहास लेख्नुभयो । जसलाई अहिलेसम्मकै आधिकारिक हो भनि दावी गरिन्छ । त्यसपछि मोरिस हेर्जोग र लुइ लासनालले गर्नुभएको अन्नपूर्ण प्रथम आरोहणको इतिहास एक विश्व किर्तिमान थियो । उहाँकै नामबाट अन्नपुर्ण जाने बाटोको नाम नामाकरण भएको छ । त्यसको लागि पेरिस स्थित नेपाली दुताबासले पनि शिफारिस गरेको थियो । मार्क बातार्ड हुनुहुन्छ अर्को । उहाँले सबैभन्दा छोटो समयमा अक्सिजन बिना सगरमाथा आरोहण गरेर इतिहास रच्नुभएको छ । अहिलेसम्म उहाँकै नाउँमा रेकर्ड छ । एरिक भाली लगायत दिग्गज विद्वानहरुको अध्ययन अनुसन्धानहरुको कुरा मननिय छ ।
थुप्रै फ्रान्सेली गैरसरकारी संस्थाहरु पनि छन् । सानो तिनो कोष जुटाएर नेपालका ग्रामीण भेगमा शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली लगायत बाटो निर्माणा सरसहयोग गरिरहेका छन् । यो उहाँहरुको स्वतस्फुर्त सहयोग हो । कोभिडको ठिक अगाडि २०१९ मा ३१ हजार फ्रान्सेलीहरुले नेपाल भ्रमण गर्नुभएको थियो । कोभिड पछाडि सन् २०२२ मा चानचुन १६ हजार फ्रान्सेलीले नेपाल भ्रमण गर्नुभयो । अब फ्रान्सेली पर्यटकको संख्याले पहिलाको जस्तै आकार लिन थालेको छ । कुनै मुलकबाट ३१ हजार नागरिक नेपाल घुम्न जानु भनेको चानचुन कुरा होइन । उहाँहरु घुमेर आउनुहुन्छ त्यसपछि त उहाँहरुले नै नेपालको प्रचार गर्नुहुन्छ । हाम्रो देशको बारेमा प्रचार प्रसार गर्ने हाम्रो जिम्मेवारी हो र कर्तब्य पनि भयो तर हाम्रो बारेमा हामी आफै बोल्नुभन्दा घुमेर आउने बिदेशीले गरेको अनुभूति बाहिर जाँदा त्यो बढी बिश्वससनिय हुन्छ । फ्रान्समा हाम्रो पर्यटन प्रवर्धन भएको कारण पनि उहाँहरुले नै नेपालको बारेमा बोलिदिएको कारणले हो । मैले माथि नै भनें ‘अतिथिदेवो भव’ को भाव जुन छ हामी सँग त्यो हाम्रो पर्यटन प्रवर्धनको सबैभन्दा ठूलो अस्त्र हो ।