शुक्रबार, वैशाख २१, २०८१

मात्तिएकी कालिगण्डकी र अश्रुधाराले झस्काईरहने मुक्तिनाथको त्यो यात्रा

हरिकुमार श्रेष्ठ (पीएचडी)२०८० असोज २९ गते २३:०७

वारिपारिका पहाडहरू मरुभूमि बनेर नियाल्दै थिए मुक्तिनाथ क्षेत्रका कृषि कर्म, त्यहाँका स्याउ, ओखर र खुर्पानी, बोट बिरुवाको हरियाली । र लिँदै थियो मन्दिर तथा गुम्बाको मगमग बास्ना । हरियालीसँगैको अनुपम प्रकृतिको धरोहरले आँखै तान्यो, मनै लोभ्यायो ।

डा. हरि कुमार श्रेष्ठ

हामी विमानस्थलको आडमा रहेको मुक्तिनाथ होलमा बास बसेका थियौं । यात्राको तेस्रो दिन असोज छ गते लक्ष्मी (श्रीमती) र म बिहानै उठी नुहाई धुवाई गरेर तयार भयौँ । उपल्लो मुस्ताङ्गको लागि । स्वास्थ्य समस्याले मध्यरातदेखि जागाराम थियौँ हामी । ड्राईभर भाइ बिहान समयमै गाडी लिएर आए । हामी जोमसोमबाट ६ बजेतिर कागबेनी, मुक्तिनाथ हुँदै लोमान्थाङ्गको लागि प्रस्थान गर्‍यौँ ।

जोमसोम बजारको पल्लोछेउमा दाहिने फन्केर कालीगण्डकी नदीको पुल पार गर्‍यौँ । कालीगण्डकीले मात्तिएर दादागिरी शैलीमा क्षेत्राधिकार फराकिलो पार्दै कब्जा जमाइरहेकी थिइन् । जोमसोमलाई त्रसित र पीडादायी बनाएर । माथिल्लो मुस्ताङ्गमा वर्षा भयो भने निन्द्रा लाग्दैन जोमसोमबासीलाई ।

यदि नदीलाई त्यसको जलाधार क्षेत्रदेखि व्यवस्थित किसिमले तह लगाउन नसकेमा जलवायु परिवर्तनको कारण जोमसोम बजारको भविष्य जोखिमयुक्त देखिन्छ । तर बृक्षारोपणले पानी बढी पार्छ र जोखिम झनै बढाउँछ भन्ने केही स्थानीयहरूको भनाइले भने नदी नियन्त्रणमा थप अन्यौलता देखिन्छ कि जस्तो लाग्छ । यसबारे विशेष अध्ययन गरेर अगाडि बढ्न जरुरी छ ।

त्यसपछि हामी नदीलाई देब्रे पार्दै फराकिलो कच्ची बाटोबाट लाग्यौं। मनोरम पहाडी क्षेत्रको अवलोकन गर्दै नदी किनारै किनार कुद्न थाल्यौँ । जति अगाडि बढ्यो, प्रकृतिको अनुपम उपहार त्यतिनै विशेष र लोभलाग्दो देखिन्थ्यो । फराकिलो भूगोल । फराकिलो र कञ्चन नीलो लोभलाग्दो आकाशमा बादलको रङ्गले कलात्मक शैलीमा चित्र कुँदिरहेको थियो प्रकृतिले । हामी केही समयमा मुक्तिनाथ र कागबेनी जाने दोबाटोमा पुग्यौँ । बायाँतिर अगाडि बुचुक्क र गुजुमुज्ज परेको हरियो र रमाइलो कागबेनी उपत्यका देखिन थाल्यो । हामी मुख्य बाटो छाडी देब्रेतिर झरेर कालीगण्डकी नदी किनारतिर अगाडि बढ्दै गयौँ ।

वर्षादको भेल तथा बाढीले पुरेर पहिलाको बाटोको नामोनिशान थिएन । गाडी गुड्ने बाटोमा ढुङ्गा र गेगरको बिस्कुन थियो ।

गाडी केही अगाडि बढ्दै थियो, ड्राईभर भाइ हच्किए । गाडी अगाडि बढाउनसक्ने अवस्था भएन । हामी गाडीबाट ओर्लेर पाँच मिनेट पैदल हिंड्यौं । यात्रापछि बाउँठिएको उबडखाफड बाटो काटेर बिहानको पौने सात बजे कागबेनी पुग्यौँ ।

काठमाडौँको जस्तो रसायनहरुले विषाक्तिए जस्तौ हैन कि त्यहाँको हावा त जडिबुटीयुक्त बास्नाले रङ्मङिएको थियो ।

धेरै पहिला कागबेनीको बारेमा पढेको थिएँ। २०४३ सालमा मनाङ्गदेखि थोराङ्ग भन्ज्याङ्ग भएर मुक्तिनाथ, जोमसोम हुँदै पोखराको यात्राक्रममा देखेको पनि थिएँ कागबेनीलाई । कागबेनी गण्डकी प्रदेश अन्तर्गत मुस्ताङ्ग जिल्लाको बारागुङ्ग मुक्तिक्षेत्र गाउँपालीकाको वडा नंबर चारमा पर्दछ । अनलाइनबाट प्राप्त जानकारी अनुसार यो औसत समुद्री सतहभन्दा २,८०४ मिटरको उचाईमा छ । जम्मा ५८ . ३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यसलाई उपल्लो मुस्ताङ्ग जाने मूल ढोका वा प्रवेशद्वार पनि भनिन्छ। विदेशी पर्यटकहरूलाई स्वीकृति वेगर प्रवेश निषेध छ उपल्लो मुस्ताङ्गमा ।

उत्तरबाट दक्षिणतर्फ बगेर आएकी कालीगण्डकी र पूर्वबाट पश्चिमतर्फ बग्दै गएकी कागखोला नदीहरुको संगमस्थल हो कागबेनी । यसको ठीक पारिपट्टि पहाडको भित्तामा तिब्बती र अंग्रेजी भाषामा कागबेनी भनेर लेखिएको छ । यसले मुख्य सडकबाटै कागबेनीको पहिचान गर्न सहयोगी भूमिका खेलेको छ । यो ठाउँ कालीगण्डकी नदी किनारमा पहाडहरूको बीचमा अवस्थित हिमाली क्षेत्रकै पुरानो र सुन्दर ठाउँहरूमध्ये एक सानो उपत्यका गाउँ हो ।

मुस्ताङ्गमा जहाँ पानीको स्रोत छ, त्यहाँ बस्ति र रुख बिरुवा पनि छन् । यो ठाउँ कृषिको लागि उर्बर तथा उत्तम छ, जहाँ गहुँ, जौ, फापर, उवा (करु), स्याउ, ओखर, खुर्पानी, आरु र विभिन्न किसिमका तरकारी खेती गरिँदै आएको पाइन्छ । त्यस्तै, गाई, घोँडा, च्याङ्ग्रा त्यहाँ पालिने पशुहरूमा पर्दछन् ।

पहाडहरूलाई टाढाबाट हेर्दा फुस्रो, खरिखुण्ड मरुभूमि जस्तो देखिन्छ । त्यसभित्र सानासाना बुट्टेदार थोप्लाहरू पनि छन् जुन पशुपञ्छीको चरण क्षेत्र पनि हो । त्यसैले, बाटो किनारका पहाडमा हुलका हुल च्याङ्ग्राहरू चरेका पनि देखेका थियौँ । यस्ता थोप्ले आकृतिहरू माथिल्लो मुस्ताङ्गमा यत्रतत्र पाइन्छ । बाटोमा नजिकै गएर हेर्दा यो एक प्रकारको एक फिटजति अग्लो काँडेदार वनस्पती गोलाकार चकटी आकारको बुच्का रहेछ । पहाडमा कच्ची सडकहरू किरिमिरि आकारमा कहिँ उकाली, ओराली, घुम्ति त कहिँ लमतन्न तन्किएका छन्, जसले यात्रा जीवन्त बनाउँदै चम्काएको छ ।

अन्नपूर्ण पदमार्गभित्र पर्ने कागबेनी हिन्दू तथा बौद्ध धर्मावलम्वीहरूको पवित्र तीर्थस्थल हो । हिन्दुहरू मृत नातेदारहरूको आत्माको चीर शान्तिको कामनाको लागि पित्री पूजा, श्राद्ध गर्नको लागि त्यहाँ पुगेपछि मुक्तिनाथ दर्शनको लागि जाँदा रहेछन् । त्यस्तै, बौद्दमार्गीहरूको पूजापाठको लागि गुम्बा, छोर्तेन, मानेहरू, र घरघरमा फहराइएका रङ्गिचङ्गी ध्वजापताका र झण्डाहरू छन् । यसले के देखाउँछ भने नेपालको तराईदेखि हिमालसम्म धार्मिक रूपमा विभेद छैन, सहिष्णुता उच्च कोटिको छ । तर कहिले काहिँ केही उच्छृंखल तत्वहरूले तिनीहरूको निहित स्वार्थको लागि नेपालमा पनि धार्मिक द्वन्द मच्चाउन थालेका छन् । यसलाई नेपाली जनताले संयुक्त रूपमा परास्त गर्न जरुरी छ ।

यो स्थान औसत समुद्री सतहबाट ३,७१० मिटरको उचाईमा छ जुन विश्वकै अग्लो स्थानमा अवस्थित एक मात्र हिन्दु मन्दिर हो । यसको वरिपरि प्रशस्त पानीका मुहानहरू, घना बोट बिरुवाहरू र मनोरम हिमाली सृङ्खलाहरू मुस्काइरहेका हुन्छन् ।

धार्मिक हिसाबले मात्र नभएर ईतिहास, संस्कृति, परम्परागत शैलीमा माटो, ढुङ्गा र काठको संयोजनद्वारा निर्मित अधिकांश पुराना ऐतिहासिक घरहरू छन् । घरहरूका बीचमा भएका साना र साँघुरा बाटाहरू । हरिया तथा नीलो जस्तापत्ताले छानो छाएको आधुनिक पक्की घरहरू । सुन्दर प्राकृतिक दृश्य तथा परिदृश्यहरूले भरिपूर्ण छ । त्यसैले पो मनोरम र विश्वव्यापी छ कागबेनी । अनि लोभिएर आउँछन् त्यहाँ विश्वका धेरै पर्यटकहरू । घरहरूका छत तथा गाउँभरी टाँगिएका धार्मिक महत्व बोकेका झण्डा तथा ध्वजापतकाहरू फहराइरहनाले बुद्धको जन्मदेशको यस पुण्यभूमि कागबेनीको रूपरङ्गलाई धपक्कै उचालेको देखिन्छ । त्यसैले यो ठाउँले सात सय वर्ष अघिका पूर्वजहरूको शिक्षा, कलाकौशल, सामाजिक कार्यलाई पनि प्रतिविम्बित गरिरहेको हुन्थ्यो ।

मुस्ताङ्गको धरोहर तथा उपल्लो मुस्ताङ्गको प्रवेशद्वार कागबेनी, जहाँ कागखोला यसको बीच भाग भएर बहन्छ

विस्तारै अगाडि के बढदै थियौँ, श्रावणको अन्तिम हप्तामा आएको बाढीले अस्तव्यस्त र उजाड भएको देख्यौँ कागबेनीलाई । उकुसमुकु र स्तब्ध भयौँ । नयनभरी आँशु छचल्किन थाले । वास्तवमा, त्यतिखेर थोराङ्ग नाका पास र मुक्तिनाथ क्षेत्रमा आएको अविरल वर्षाले काग खोला बौलाएर पहाडलाई निमोठ्दै, रुख, बोट बिरुवाहरु, माटो, गेगर र ढुङ्गालाई मुन्ट्याउँदै लगेछ । उसले सकेजति ढलाउँदै र बढार्दै महाविपद निम्त्याएर नराम्रोसँग गिजोलेको रहेछ कागबेनीलाई । तै बाढी उज्यालैमा गएको कारण मानवीय क्षति भएनछ । तापनि करोडौँको भौतिक क्षति व्यहोर्न बाध्य रहेछ कागबेनी ।

त्यहाँका वडा कार्यालय, ईलाका प्रहरी कार्यालय, सिँचाइ कुलो, स्कूल, धर्मशाला, मठमन्दिर, गुम्बा, बिजुली पोल तथा लाइन, नदी तटबन्ध तथा स्थानीयका घरहरू आंशिक तथा पूर्ण रूपमा ध्वस्त भएका रहेछन् त्यतिखेर । त्यस्तै गरेर, केही खेतीयोग्य जमीन तथा स्याउ, ओखर, खुर्पानीका फार्महरू, गोठहरू, दर्जनौ गाई, घोँडा, खच्चर, मोटरसाइकल, जीप, स्काभेटर, श्राद्धस्थान पुरिएका रहेछन् । त्यस्तै गरेर, जोमसोम–कोरला सडकखण्डको मोटर पुल, तिरी जोड्ने झोलुङ्गे पुल, ३ वटा काठेपुल बगाइसकेको रहेछ । बढी पानीको कारण माटोका घरहरू चुहिन थालेकोले झन् गरीबको जीवन अस्तव्यस्त र चुनौतिमय बन्दै गइरहेको रहेछ ।

बाढीको विभत्स रूप सम्झँदा अझै पनि झस्कने र भक्कानिँदै आँशु बर्साइरहने रहेछन् पीडितहरू । तिनका अश्रुधाराहरू कालीगण्डकीमा मिसिएर निरन्तर पीडाका सन्देश प्रवाह गरिरहेका छन्, जिम्मेवार तहमा बस्ने व्यक्तिहरूको जानकारीको लागि ।

प्रभावित घरधुरी तथा व्यक्तिहरूका सहयोगको लागि पुगेको राहतको न्यायोचित वितरण नभएको जनगुनासो पनि थाहा पाइयो । यो त ऐजेरुजस्तै मौलाएको छ जहाँतहिँ । सरकारलाई हम्मेहम्मे छ यसको निवारणको लागि । किनकि, कतिपय जिम्मेवार पद धारणा गरेकै व्यक्तिनै यस्ता कुकार्यमा संलग्न छन् ।

हामी अझै विस्तारै अगाडि बढ्दै श्राद्धस्थल तिर जाँदै थियौं । पुनः निर्माण तथा स्थानान्तरणका कार्यहरू भइरहेको जानकारी पनि भयो । यद्यपी, दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि श्राद्ध स्थल सम्याउने कार्यसम्म भएको छैन । तीर्थालुहरु भुईँमा केही चिज बिच्छ्याएर बस्दा पनि ढुङ्गाका चुच्चाचुच्चीले पुठै छेड्लाझैँ हुँदोरहेछ । त्यहिमाथि हड्डीमा छाला टाँसेर बस्ने बृद्धाहरूको समस्या सजिलै अध्ययन गर्नसक्थेँ म । त्यसैले, सम्बन्धित निकायले यथासक्य चाँडो पीडितहरूको घाउमा विना भेदभाव मलहमपट्टि लगाउने र ध्वस्त भएका संरचानाहरू पनि पुनः निर्माण हुन जरुरी छ ।

त्यस क्षेत्रको भूबनोट निकै कमजोर भएकोले कागवेनी भविष्यमा पनि जोखिमयुक्त नै छ । त्यसैले, बाढी आउने सङ्केत दिनको लागि साइरनको व्यवस्था गरी भवितव्य हुनबाट जोगाउनुपर्ने देखिन्छ । अर्को कुरा मुस्ताङ्गमा बनाइने पुलपुलेसाहरु पानी वा बाढीको चापले असर नगर्ने गरी यसको बहाव क्षेत्र (चौडाई र उचाई) को ख्याल गरी बनाउन जरुरी छ ।

आमाको मृत्युपछि विगत दुई वर्षदेखि श्राद्ध गर्नुको अलावा टुहुरा बालबालिका तथा बृद्धाहरू रेखदेख तथा पालनपोषण गर्ने संघ तथा संस्थाहरू जस्तै उमादेवी बस्नेतले सञ्चालन गरेकी सिर्जनशील चिल्ड्रेन वेलफेयर, मनहरा र दीलशोभा श्रेष्ठले सञ्चालन गरेकी आमाको घर, रवीभवन, काठमाडौंलाई केही सामग्रीहरू सहयोग गर्दै आएतापनि यसपटक कागबेनी पुगेको अवसरमा आमाको स्मृतिको साथै मृत आफन्तहरू सबैको आत्माको चीर शान्तिको कामना गर्ने विचार आयो ।

एकाबिहानै मानिसहरू कागबेनी दोभानमा जम्मा हुन थालिसकेका थिए, नदी किनारमा आफ्ना मृत्यु भइसकेका आफन्तजनको स्मृतिमा । बिहानको सिरेटोले खप्परै खाने जाडो थियो । बाढीले बढारेको ठाउँमा ढुङ्गाको बगरले बस्नै गाह्रो । तापनि, यसको कुनै प्रवाह नगरी आफ्नो उद्देश्य करिब आधा–घण्टाभित्रमा पूरा गरियो । ब्राम्हणले सामुहिक श्राद्ध गराउँदा रहेछन् माइकबाट बोलेर, नेताले भाषण गरेजस्तै । यो दृश्य अनौठो लाग्यो हामीलाई । अनि जाडोको कारण लुगा खोल्नु पनि नपर्ने । तर काठमाडौँको पुष माघको ज्यानै खाने जाडोमा मृत्यु संस्कार वा श्राद्ध गर्दा किन नाङ्गै बस्नुपर्ने होला ? हिन्दु शास्त्र नपढे तापनि शास्त्रमा त यस्तो विभेद त गरेको छैन होला । त्यसपछि, मेरो मनमा यो प्रश्नले गिजोलिरहेको छ ।

फराकिलो, खरिखुण्ड निवस्त्र र नाङ्गो तर सुन्दर र मनमोहक भौगोलिक दृश्यहरूले कसको पो मन लोभ्याउँदैन र !

मृत्युपछि ब्राह्मणलाई गरिने धन दौलतको दान मृत आत्माले पाएर स्वर्गमा सुख शान्तिले बस्छन् भन्ने कुरामा विश्वस्त छैन म । किनकि मृत आत्मालाई त खरानी बनाएर नदीमा घुलिएर बगिसकेको हुन्छ । तर मृत आत्माको सम्मान तथा स्मृतिमा गरिने अन्य कुनै पनि पुण्य कार्यहरूमा पित्रीहरूले गरेका सत्कर्म र उदाहरणीय कार्यहरूको स्मरण हुनाले कर्तामा उर्जा थपिदिई सकारात्मक बाटोमा हिड्न अवश्य पनि प्रेरणा मिल्ने र पीडाको रापले जलेको मन शान्त हुने कुरामा भने विश्वस्त छु म ।

कागबेनीपछि हामीले मुक्तिनाथ दर्शनको लागि करीब आठ बजे बाटो ततायौँ । मन्दिर धाउँदैमा र पुज्दैमा पुण्य मिल्छ भने कुरामा विश्वास त छैन । तर कसैको आस्थाप्रति उच्च सम्मान गर्छु र आवश्यक परे सहयोगी पनि बनिदिन्छु । जति अगाडि बढ्दै गयौँ, त्यति फराकिलो, खरिखुण्ड निवस्त्र र नाङ्गो तर सुन्दर र मनमोहक भौगोलिक दृश्यहरूले कसको पो मन लोभ्याउँदैन र ! पहाडको पाखामा केबल काँडादार बुच्काबुच्कीको बर्चश्व कायम थियो । त्यहाँदेखि मुक्तिनाथ जाने बाटो पक्की र फराकिलो थियो । ठाउँठाउँमा बस्ती देखिन्यो । बस्ती वरिपरिका भोटेपिपल, स्याउ, ओखर, खुर्पानी, चीमा (बैँश) र अन्य खेतीपातीको हरियालीले रौनक तथा चमक बढाएको हुन्थ्यो ती ठाउँहरूको ।

मुक्तिनाथ मन्दिर

कागबेनी माथिको मुक्तिनाथ जाने सडकछेउ देब्रेपट्टि “शेर्थाङ्ग सेल्फी पार्क” रहेछ । प्रति व्यक्ति प्रवेश शुल्क रु. २० तिरेर भित्र प्रवेश गरियो । पार्कमा बिरुवाहरू खासै नभएपनि यसको बीच भागमा एक आकर्षक शंखे कीराजस्तो मानवनिर्मित आकृतिमाथि ठूलो शिला छ । अति जोडले चल्ने हावाको कर्कश ध्वनीले केही महाप्रलय नै निम्त्याउन लागेको आभाष हुन्थ्यो त्यो ठाउँमा । कपाल र लगाएको लुगा पनि एकैतिर सोहोरिँदै र फिजिँदै जोडले उड्न लागेको चरीजस्तै हुन्थ्यौँ हामी । लक्ष्मी हावाको धक्काले आत्तिएर अडिन, उभिनै धौ धौ । त्यसैले समाएर धानिदिनुपर्ने अवस्था भयो । जब दिन छिप्पिँदै जान्छ तब हावा पनि उन्मत्त भई मडारिँदै जान्छ । बालुवाको कण र ढुङ्गाको गेगर उचालेर एकतर्फी वर्षाईरहेको हुन्थ्यो । आफूलाई पनि सम्हाल्न र जोगाउनै कठिन । चर्को बतास चल्ने ठाउँ भएकोले मैले यो ठाउँको नाम नै “बतासे डाँडा” राखेँ । तर ठाउँ निकै नै रोमाञ्चकारी नै थियो । वरिपरिका रमणीय दृश्य तथा परिदृश्यहरुसँग आँखाले मितेरी लाउन पाउँदा ।

बतासे डाँमा अवस्थित शेर्थाङ्ग सेल्फी पार्कभित्र रहेको आकर्षक मानवनिर्मित शंखे कीराजस्तै आकृतिमाथि शिला ढुङ्गा

त्यसपछि, हामी विस्तारै पोखरादेखि १५८ किलोमिर दूरीमा रहेको मुक्तिनाथतिर उकालो लाग्दै गयौँ । चराहरु पनि नाच्दै रमाइरहेका थिए आफ्नै बेग र गतिमा । वारिपारिका पहाडहरू मरुभूमि बनेर नियाल्दै थिए मुक्तिनाथ क्षेत्रका कृषि कर्म, त्यहाँका स्याउ, ओखर र खुर्पानी, बोट बिरुवाको हरियाली । र लिँदै थियो मन्दिर तथा गुम्बाको मगमग बास्ना । हरियालीसँगैको अनुपम प्रकृतिको धरोहरले आँखै तान्यो, मनै लोभ्यायो ।

केही समयपछि देब्रेतिर रहेको उच्च घनत्वका अति व्यवस्थित विशाल फलफूल बगैँचामा आँखा पर्‍यो । जहाँका स्याउ, ओखर, खुपानीका बिरुवाहरू मरुभूमि बीच पनि गौरबका साथ ठिङ्ग ठडिएका थिए । तीब्र हावाको बहाव थेग्दै र आफ्नो यौवनलाई पस्कँदै । यसरीनै कृषि फार्महरूको स्थापना, विकास र विस्तार हुँदै जाने हो भने मुस्ताङ्गले मात्र लाखौँ युवाहरूलाई रोजगारी दिनसक्ने ल्याकत राख्दछ । अनि नेपाल र नेपालीको आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा ।

कागवेनी र मुक्तिनाथ बीचतिरको स्थानमा अवस्तित एक आधुनिक उच्च घनत्वको स्याउ बगैँचा

लक्ष्मीले यी दृश्यहरूको अवलोकन गरेपछि झनै जिल्लाभित्रको समग्र स्थानहरू कस्तो होला भनेर कौतुहलता बढेको महसुस गरिन् ।

हामी एकैछिनमा मुक्तिनाथको गाडी पार्किङ्गमा गएर रोकियौँ, तर व्यवस्थित थिएन । त्यहाँबाट करीब आधाघण्टाको पैदल यात्रापछि मुक्तिनाथ मन्दिर पुग्यौँ । तर बृद्धा, धेरै मोटा र कमजोर व्यक्तिहरुलाई अक्सिजनको कमीमा हिँडेर जानै सकस् । त्यसैले, बसपार्कदेखि मन्दिरसम्म भए पनि केबलकारको व्यवस्था भएमा सहज हुने थियो बृद्धाहरुको यात्रा ।

पहिला २०४३ सालतिर त गोरेटो बाटो जस्तो थियो । तर अहिले भने व्यवस्थित किसिमले ढुङ्गाको सिँढी र समाउने डण्डी राखिएको रहेछ । सिँढी चढ्नेक्रममा लक्ष्मीलाई अलि चिसो र अक्सिजनको कमीले स्वासप्रश्वासको पनि समस्या भयो । घरबाट जौको सातुसँग अदुवा, नुन, टिम्मुर, जीरा, मरिच, ज्वानोको धुलो मिसाएर लगेको पाउडर चाटेर तातो पानी पिएपछि राहत महसुस भयो ।

त्यस क्षेत्रको भूबनोट निकै कमजोर भएकोले कागवेनी भविष्यमा पनि जोखिमयुक्त नै छ । त्यसैले, बाढी आउने सङ्केत दिनको लागि साइरनको व्यवस्था गरी भवितव्य हुनबाट जोगाउनुपर्ने देखिन्छ ।

मनोरम पहाडको काखमा रहेको मुक्तिनाथ क्षेत्र हिन्दु तथा बौद्धमागीहरूको लागि महत्वपूर्ण प्रशिद्ध धार्मिक तीर्थस्थल हो । यस्तै गरेर, अन्य धर्मावलम्बी यात्रीहरूको लागि पनि यो क्षेत्र अति नै आकर्षित भएको छ । खास गरेर, भारत तथा नेपालका विभिन्न स्थानहरूबाट वर्षेनि लाखौँ तीर्थालुहरू पुग्छन् मुक्तिनाथ । केही तीर्थालु मनाङ्गदेखि थोराङ्ग भन्ज्याङ्ग पार गरेर आउँछन् । अधिकांश तीर्थालु भने पोखरा, पर्वत, म्याग्दी, जोमसोम हुँदै पुग्छन् त्यहाँ ।

यो स्थान औसत समुद्री सतहबाट ३,७१० मिटरको उचाईमा छ जुन विश्वकै अग्लो स्थानमा अवस्थित एक मात्र हिन्दु मन्दिर हो । यसको वरिपरि प्रशस्त पानीका मुहानहरू, घना बोट बिरुवाहरू र मनोरम हिमाली सृङ्खलाहरू मुस्काइरहेका हुन्छन् । यी दृश्यहरूले उकालो बाटोमा सासै रोकिएलाजस्तो भएर नौनाडी गलिसके तापनि त्यहाँ पुगेपछि चाँडै नै उर्जा मिलेर सजिलै मेटिन्छ थकान पनि ।

बिहानको ९ः३० बजे मन्दिर छेउको पारिलो घाममा रहेका बेञ्चमा झोला बिसायौं । हावा सिर्र बहिरहेको थियो । तर काठमाडौँको जस्तो रसायनहरुले विषाक्तिए जस्तौ हैन कि त्यहाँको हावा त जडिबुटीयुक्त बास्नाले रङ्मङिएको थियो ।

कोही तीर्थालुहरु आंशिक रूपमा नाङ्गिदै थिए भने कोही टाउको माथि एकसय आठ (१०८) धाराको पानी थाप्दै सिउसिउ गरेर दौडिएका थिए । कोही पारिलो घामको रापमा आनन्द लिएका थिए । कोही पूजापाठमा व्यस्त । कतिपय व्यक्तिहरू सीधै धारामा टाउको थाप्थे भने कतिपय भने चिसो नगडोस् भनेर थाप्लोमा नयाँ र शुद्ध कपडाको टुक्रा राखेर धारोमा टाउको थाप्दै जान्थे ।

लक्ष्मीले भने थाप्लोमा नयाँ कपडाको टुक्रा राखी सबै धारामा टाउको थाप्दै गईन् । त्यो सकेर मन्दिर अगाडिको दुईवटा कुण्डमा डुबुल्की मारिवरी आइपुग्दा जाडोले कठ्याङ्रिएर हिँउजस्तै चिसो थिइन् । जाडोले थरथर्ति काम्दै त कता कता पाँच वर्षअघि भएको मुटुको समस्या (हर्ट अट्याक) पुनः दोहोरिने पो हो कि जस्तो लाग्यो । लुगा फेरेर पारिलो घामको रापले एकैछिनमा तङ्रिन् र पो ढुक्कसँग बस्न र राहतको स्वास फेर्न पाइयो । यदि घाम नलागेको दिन भए त जीउनै धौधौ । त्यसैले, यात्रीहरुलाई बस्ने न्यानो कोठाको व्यवस्था भएमा केटाकेटी, बृद्धा तथा अशक्त व्यक्तिहरुलाई मुक्तिनाथको थप आनन्द मिल्ने थियो ।

विगतमा मैले देखेका ती क्षेत्रहरू र अहिलेका ती क्षेत्रहरूमा परिवर्तन भई रूपरङ्ग फेरिसकेको पाएँ । बजार क्षेत्र पनि विस्तार र विकास भइरहेछ । संसारमा हरेक चिजहरू यसरी परिवर्तन भइरहेछ र पो सुन्दर छ संसार । र चलायमान छ हाम्रो जीवनपनि । यदि यसरी परिवर्तन नहुने भएको भए पतेराले चुसेको सुन्तलाको केस्राजस्तै निरस हुन्थ्यो होला हाम्रो जीवन ।

पहाडमा कच्ची सडकहरू किरिमिरि आकारमा कहिँ उकाली, ओराली, घुम्ति त कहिँ लमतन्न तन्किएका छन्, जसले यात्रा जीवन्त बनाउँदै चम्काएको छ ।

तर मन्दिर परिसरका भौतिक संरचना, सफाई तथा तीर्थालुहरूको लागि केही सुविधाहरू जुन रफ्तारमा हुनुपर्ने थियो भएको छैन । विकास त चलिरहेछ कछुवाको गतिमा वा ‘अड्को पड्को तेलको धुप’ जस्तै ।

परिवर्तनको लागि हार्न वा थाक्न हुँदैन वा पूर्णविराम लगाउनु हुँदैन, कर्मठ र देशप्रेमी योद्धाहरूले । जतिसुकै अत्यासलाग्दो अप्ठेरो नै किन नहोस् रहस्यहरू खोतल्दै, समस्याहरूसँग जुध्दै अगाडि बढ्नु भनेको जीन्दगीलाई सजिलो, सुख र खुशीको बाटोतिर लम्काउनु हो । लाग्छ मुस्ताङ्गी जनताहरू पनि एकाग्र भई लामबद्ध छन् मुस्ताङ्गको विकासको लागि ।

तर मुक्तिनाथ मन्दिरको आयस्रोत परिचालन पारदर्शी नभएको हो कि जस्तो अनुभूति भयो । यसको लागि एक ट्रष्ट बनाएर सञ्चालन गर्न सकिन्छ र त्यहाँबाटै उठेको रकमबाट त्यहाँको व्यवस्थापन गर्न प्रचुर हुने देखिन्छ । यसको लागि स्थानीय तहबाट पहल हुन आवश्यक छ ।
‘।

मुक्तिनाथ मन्दिर परिसरमा रहेको १०८ धाराहरू

मैले २०४३ सालममा मनाङ्गदेखि थोराङ्ग भन्ज्याङ्ग पार गरी आएर साथीहरूसँग यी सबै कार्य सम्पन्न गरेको थिएँ । रातिको स्वास्थ्य अवस्थाले चिसोमा शरीर भिजाउन गइनँ । लक्ष्मीले पनि यदि बिरामी भएमा यात्रा अधुरो हुनुभन्दा ननुहाउनुनै उत्तम ठानिन् र ननुहाउन जोड गरिन् ।

मन्दिरको पूजाआजाको कार्यपछि हामी अग्लो पहाडको काखमा अवस्थित बुद्धको प्रतिमा भएको पार्क हुँदै प्राकृतिक ग्याँसबाट निरन्तर दीप प्रज्वलन भएको स्थानमा गयौँ । बुद्ध पार्कले बुद्धको जन्मथलो लुम्बिनीको झल्को दिने प्रयाश त गरेको थियो । तर त्यति चहलपहल थिएन । थियो त मुक्तिनाथ मन्दिरतिर मात्रै ।

मौसम जाडो भए तापनि दीप प्रज्ज्वलन भएको ठाउँमा भने केही न्यानो महसुस भयो । तर त्यहाँको चमकता वा आकर्षण उत्साहजनक थिएन। त्यसैले, दीप प्रज्ज्वलन भएको स्थान पनि परित्यक्त अवस्थामा भएको जस्तै लाग्दथ्यो । त्यहाँ मानिसहरुको चहलपहल शुन्य प्राय थियो । सहयोगीहरु पनि कोही थिएनन् । आफैले, कहाँ छ दीप ज्वलन भएको ठाउँ भन्दै खोज्नुपर्ने । त्यतिखेर भने अलि नमजा लागेर आयो त्यहाँको व्यवस्थापन प्रति । पहिला त त्यस्तो थिएन । त्यसैले, ती क्षेत्रहरुलाई पनि उत्तिकै प्राथमिकताका साथ विकास तथा विस्तार गर्न जरुरी छ ।

मुक्तिनाथ क्षेत्रमा अवस्थित बुद्ध पार्क

त्यसपछि, झर्‍यौँ गाडी भएतिर । बाटोमा भारतीय तीर्थालुहरूको औधी भीड भइसकेको रहेछ । अनि बजारमा गएर खानपीन गरी दिउँसो १२ बजे लाग्यौँ कागबेनीतिर । त्यहाँबाट दाहिनेतिर मोडिएर उपल्लो मुस्ताङ्गको लोमान्थाङ्ग पुग्नुथियो त्यो दिन हामीलाई ।

तपाइँको प्रतिक्रिया

फेसबुक