शुक्रबार, वैशाख २१, २०८१

बद्रीजी अलिकती पछुताउने समय जोगाउनु होला: आरके शर्मा

नेपालप्लस संवाददाता / काठमाडौं२०८० पुष ५ गते ११:०३

आर के शर्मा

गैर आवासीय नेपाली संघ (एनआरएनए) अहिले सम्भवत: सबैभन्दा काठिन मोडमा छ । गत अक्टोवरमा काठमाडौंमा भएको महाधिवेशनको विवाद पछी संस्था नै विघटन हुने हो कि भन्ने आशंका बढिरहेको छ । निर्वाचन प्रकृयालाई लिएर विवाद उत्पन्न भएको विषयलाई सहि सम्बोधन हुन नसकेपछी अध्यक्षका प्रत्याशी रहेका राजेन्द्र कुमार शर्माको नेतृत्वमा छुट्टै कार्यसमिती गठन भएको छ । अनलाइन निर्वाचनको प्रकृयामा त्रुटी देखिए पछी शर्मा समुहले तुरुन्तै असहमती प्रकट गरेको थियो । तर त्यसो हुँदाहुँदैपनि निर्वाचन जितेका भनिएका बद्री केसी समुहले सपथ लिएपछी शर्माको नेतृत्वमा अर्को समिती गठन भएको थियो । त्यस यता केसी समुहले गैर आवासीय नेपाली संघको कार्यालयमा कब्जा जमाएको छ भने राजेन्द्र कुमार शर्मा अक्टोवरमा भएको निर्वाचनमा त्रुटी देखिए पछी पुन: निर्वाचन हुनुपर्ने अडानमा छन । नेपालप्लस सँगको कुराकानीमा उनले भने “पुन: निर्वाचन गरौं, बद्री केसी नै अध्यक्ष भए पनि हामीलाई केही फरक पर्दैन । तर विधानत: हुनुपर्‍यो । धाँधलिरहित तरिकाले हुनुपर्‍यो । प्रस्तुत छ शर्मा सँग गरिएको कुराकानीको संपादित अंश-

तपाईं चुनाव हारिसके पछी पनि किन गन गन गरिरहेको ?

पहिलो कुरा त एघारौं महाधिवेशनमा ‘इलेक्सन’ होइन ‘सेलेक्सन’ भयो । विधानका धेरै कुराहरुको पाठ पढाउनेहरुले नै ब्यवहारमा त्यही विधान कुल्चे। प्रकृया मिचे । जो ब्यक्ति नेपाल मै थिएनन उहाँहरुका नाममा भोट हाल्ने लगायतका धेरै कुराहरुको दुरुपयोग भयो । यो मेरो हार वा जित भन्दा पनि गैर आवासीय नेपालीको पवित्र अभियानलाई अपहरण गर्न लागेको क्षणमा यो अभियानलाई बचाउनका लागि शुरु भएको संघर्ष हो । यसलाई गनगन भन्न मिल्दैन ।

हामीले बाहिरबाट हेर्दा अनियमितता भए जस्तो देखिँदैन । बरु तपाईंहरुको भोट नै कम आएको देखिन्छ त !

तपाईंहरुले बाहिरबाट हेर्दा नदेखिएको हुन सक्छ । तर भित्र भित्र त धेरै कुरा भएका रहेछन । जस्तो कि म तपाईंलाई सानो उदाहरण दिन्छु- एनआरएनका अभियानता विश्व बरालजीको भोट अर्कैले हालेको छ । कतारमा भएका कती मान्छेको भोट नेपालबाट अरुले नै हालेका छन । यो त अभिलेख मात्रै भएको कुरा हो । यसले नै प्रणालीको दुरुपयोग भएको प्रस्टै भएको छ त । यो त दशौं महाधिवेशन भन्दा पहिले देखि नै देखिएको हो। संस्था कसरी कब्जा गर्न सकिन्छ र सानो घेरामा कसरी राख्न सकिन्छ भन्ने कुरा त्यही बेला देखिएको हो । एउटै ब्यक्ति पटक पटक पद्दती (सिस्टम) नै कब्जा गरेर अध्यक्ष हुनुपर्ने कस्तो बाध्यता हो । अध्यक्ष बन्नका लागि यत्रो संस्थाको किन वली चढाउने ? उहाँहरुका गलत हर्कतहरुले यो संस्था प्रति धेरैको विश्वास गुम्दै गइरहेको छ । त्यसैले दुनियाँभर रहेका आम गैर आवासीय साथीहरुको विश्वास फर्काउनका लागि पनि निर्वाचन प्रकृयामा भएका त्रुटीहरु र अनियमितताको निराकरण हुन जरुरी छ । यसका लागि पुन: निर्वाचन नै एउटा र अन्तिम विकल्प हो ।

मेरो नेतृत्व भनेको एनआरएन किन भयो भन्ने कुरा पनि आउँछ होला । यसलाई म अलिकती स्पष्ट पार्छु । जब यि तमाम अनियमितता र निर्वाचन प्रकृयामा भएका त्रुटीहरुका बारेमा प्रश्न उठे बद्री केसी लगायत तिनै जना अध्यक्षले दुई हप्ता भित्र छनविन र अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउने भन्ने सहमती गरे । तर केसीजीले सहमती तोड्दै सपथ लिनुभयो र झन शंका चुलियो । त्यसैले संस्थालाई बचाउन कोहि कोही आउनै पर्दर्थ्यो ।

‘भुइँमान्छेहरूको प्रतिनिधित्वका लागि एनआरएनए अध्यक्षमा मेरो उम्मेदवारी’ आर के शर्मा

तपाईंहरुले पुन: निर्वाचनको कुरा उठाइरहनु भएको छ । एक पटक अधिवेशन भएर चुनाव भइसकेपछी कुनै अनियमितता र प्रमाण विना कसरी पुन: चुनाव हुन्छ ? अनियमितता र प्रकृयागत त्रुटीका ठोस प्रमाण छन तपाईंहरुसँग ?

मैले अघि नै भनें, विश्व बरालजी नेपालमा हुनुहुन्थ्यो, उहाँको भोट कसैले अमेरिकाबाट हालिदियो । ‘फेस भेरीफिकेशन’ भनिन्थ्यो खोइ त ? कतारमा भएका टिका कार्कीको नेपालबाट भोट हालियो । एउटाको भोट कसैले हालिदिनु भनेको सानो प्रमाण हो र ? चोर त सियो चोरे पनि चोर हो जहाज चोरे पनि चोरै हो नि त । अर्को कुरा अनलाइन मतदान हुँदै गर्दा तपाईंको पासवर्ड के अर्कैलाई थाहा हुन्छ ? अनलाइन प्रकृयामा र अनलाइनको आचार संहितामा नै म्यानुअल पासवर्ड बाँड्न पाइदैन । तर यिनिहरुले ८०० भन्दा बढीलाई म्यानुअल पासवर्ड बाँडे । यो पुरै अनलाइन पद्दतीकै विरुद्दमा छ र उनिहरुले गरेको चलखेल सजिलै बुझ्न सकिन्छ । हेर्नुस त कस्तो तमासा भएको थियो । लाइनमा बसेका कतिले मत नै हाल्न पाएनन । उपाध्यक्षका उम्मेद्वार रोविन्द्र श्रेष्ठले भोट हाल्न पाएनन । भोट हाल्ने बेलामा ‘अलरेडी भोटेड (पहिल्यै मतदान गरिसकेको)’ भनेर आयो । सामाजिक संस्थामा यहाँँ भन्दा बढी प्रमाण के चाहिन्छ ?

तपाईंले अहिले भनेजतिका कुराहरु यि यस्तो भएको थियो भनेर कसैलाई देखाउन मिल्ने प्रमाण हुन् कि होइनन् ?

पक्कै पनि देखाउन मिल्ने छन । भोट हाल्न नपाउनु भएकाहरुले लिखीत निवेदन नै दर्ता गराउनु भएको छ । भेरोले नै त्रुटी भएको हो भनेर स्विकारेको छ र पछी सच्याइएको भनेको छ । एनआरएनकै पद्दतीमा (सिस्टम) मा होला ‘म्यानुअल पासवर्ड’ बाँडेको कुरा । दुनियामा निर्वाचन भनेको यस्तो कुरा हो जहाँँ मत जाहेर भैसकेपछि सच्याउनै मिल्दैन । यदै कुनै कारणले सच्याउन पर्ने भो भने त्यसलाई पुन: मतदानले मात्र सच्याउने सामर्थ्य राख्छ ।

चुनावमा कस्तो भएको थियो हेर्नुस त- राती खगेन्द्र न्यौपानेले जिते, बिहान केशव पौडेलले जिते । एउटै निर्वाचनमा दुई वटा परिणाम कसरी आउन सक्दछ ? जब यस्ता हास्यस्पद कुरा भए निर्वाचन समितिले लिखित रुपमै भन्यो, निर्वाचनमा त्रुटी भयो । निर्वाचन समितिको त्यो बयानले नै त्यो चुनाव त्यतिखेरै रद्द भएको छ । चुनावका अन्तर्राष्ट्रिय मान्यता अनुसार पनि निर्वाचनमा त्रुटी भन्ने शब्द नै हुँदैन । यदि त्रुटी भन्ने शब्द आयो भने त्यसको उपचार भनेको पुन: निर्वाचन मात्र हो ।

कुनै चमत्कार नभए एनआरएनए विघटनको नजिक

त्यो बेला तपाईंहरुले ‘सिष्टम’ नै ‘ह्याक’ गरियो भन्नु हुन्थ्यो । अहिले पनि त्यही कुरा हो तपाईंहरुको ?

त्यसलाई म्यानुपुलेट गरिएको हो । म तपाईंलाई एउटा उदाहरण दिन्छु, तपाईंले कसैलाई एउटा दौरा सिलाउन दिनुभयो भने त्यसको खल्ती कहाँ राख्ने भन्ने कुरा तपाईंले भन्ने हो । सिलाउने मान्छेले तपाईंको रुची अनुसार ‘कस्टमाइज’ गर्छ । भेरोको पनि त्यसरी नै बुझ्दा हुन्छ । कहाँँ कसरी भोट हाल्ने भन्ने कुराको नेतृत्व बद्री केसीले नगरे होलान भन्न सकिन्न । किनभने मैले त पछी मात्र थाह पाएँ- मतदाताको नामावली कम्तिमा पनि पाँच दिन पहिला पठाउनुपर्ने रहेछ । एक दिन पहिले मात्र पठाएका रहेछ । यि लगायत धेरै कुराहरु छन जुन हामीले कानुनी अड्डामा दिनु पर्दा दिने छौं । यो सामाजिक संस्था हो । यसरी जालझेल गरेर सत्ता हत्याए जस्तो, राष्ट्रपती शासन लगाएर कसैलाई कोर्रा हाने जस्तो हुँदैन । यहाँँ नेतृत्वमा पुग्नका लागि सबैको मन र विश्वास जित्नुपर्ने हुन्छ । बद्री केसीजीहरु त लुलो र एक्लो हुनुभएको छ।

अब तपाईंहरु के गर्दै हुनुहुन्छ त ? बाहिर बाहिर बोलिरहने कि केही ठोस कदम छन ?

हाम्रो तालुकदार मन्त्रालय, परराष्ट्रमा हामीले गुनासाहरु हालेका छौं । मन्त्रालयले हाम्रो सुनुवाई गर्ने छ भन्नेमा हामी विश्वस्त छौं । त्यहाँबाट पनि भएन भने हामी न्यायलयको ढोकामा जाने छौं । दुनियाभरका नेपालीहरुको समर्थन हामीलाई छ । किनभने अहिले यो संस्थाको विकृती सफा गर्ने जिम्मा हाम्रो काँधमा आएको छ त्यसलाई कहीं न कहीं एउटा तहमा पुर्‍याएर छोड्छौं ।

तपाईंहरु मन्त्रालयको निर्णय कुरेर र विकृती सफा गर्ने भनेर बसिरहनु भएको छ । तर नेपालमा भएका एनआरएनका साधन र श्रोतहरु त प्रयोग भइरहेका छने नी ?

त्यो प्रायोग भएको होइन दुरुपायोग भएको छ । यसो नगर्नका लागि हामीले त्यहाँका कर्मचारीहरुलाई पनि निवेदन दिएका छौं । आर्थिक कारोवारका हिसावकिताव साथीहरुले पक्कै पनि दिनुपर्ने छ । कसैलाई भुलभुलैयामा पार्नको लागि बद्रीजी र उहाँको समुहले जे गरिरहेको छ त्यो एकदम भारी सावित हुनेछ । बद्रीजी त्यसो नगर्नुस । अलिकती पछुताउने समय राख्नुस् ।

अब मन्त्रालय र अदालत अली पर राखेर सोचौं- तपाईंहरुबिच आपसमै सहमती हुने सम्भावना छ कि छैन ?

संस्थालाई बलियो बनाउने र इज्जतिलो संस्था बनाउने कुरा आए भने किन सहमती नहुने । तर यसका लागि पुन: निर्वाचनमा जानुको विकल्प छैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक