गोएथे प्लाजामा उभिएर जन्म भूमीलाई हेर्दा
योहान वुल्फगांग फान गोएथे ।
पहिलो पटक २०३९ सालमा सुनेको एउटा नाम । तर मैले पनि सायद गोएथे होइन, गेटे पढेँ, सुनेँ हुँला । नेपाली र अंग्रेजी भाषामा योहान वुल्फगांग फान गोएथे नाम कम प्रयोगमा आएको अनुभव गरेको छु । नेपाली पत्रपत्रिका र पुस्तकहरुमा समेत जर्मन लेखक गेटे र बोल्नेहरुले पनि गेटे नै भन्ने गरेको सुनिन्छ । जर्मन नागरिकहरुसँग कुरा हुँदा मैले उनको थर ‘गेटे’ वा ‘गोएथे’ जे भनेर उच्चारण गरे पनि सधैँ मिलेन भन्ने सुन्दै आएको छु । जे होस्, गोएथे नामसँग मलाई पहिलो पटक साक्षात्कार गराइदिने व्यक्ति हुनुहुन्थ्यो, दिलबहादुर बोगटी ।
पाटन ढोका नजिकैको डेरामा हामी सँगै बस्ने गर्दथ्यौँ । उहाँ त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुहुन्थ्यो । बेला बेलामा केन्द्रिय पुस्तकालयबाट विश्वप्रशिद्ध कृतिहरु बोकेर फर्कनुहुन्थ्यो । यसरी भित्रिएका पुस्तक म हतारहतार पढ्न थालिहाल्थेँ । कति बुझ्थेँ, त्यो आफ्नै ठाउँमा छ ।
त्यो दिन पनि उहाँले गोएथेको ‘फाउस्ट’ लिएर आउनुभयो । पुस्तक कमै पाइने जमाना र ल्याइएका पुस्तक निश्चित दिनमा फर्काउनुपर्ने बाध्यताले पनि फेला परेका त्यस्ता पुस्तक पढ्न म हतारिन्थेँ । तर यसपटक ‘फाउस्ट’ पूरा गर्न सकिँन । यो विश्वप्रशिद्ध कृति हो भन्ने थाहा थियो । तर नपढि बिचमै छाडेको सम्भवत: त्यो मेरो पहिलो पुस्तक थियो ।
‘फाउस्ट’ बुझ्न नसकेको महसुस गरेकाले होला, मलाई गोएथे नाम राम्रैसँग याद भयो । त्यो बेला सुन्धारातिर घुम्न जाँदा उनको नाममा रहेको जर्मन भाषा प्रशिक्षण केन्द्रको बोर्डमा मेरो आँखा बारम्बार गइरहन्थ्यो । छात्रबृत्ति पाएर रुस पुगेपछि मेरी भाषा शिकक्षिकाले एकपटक भनेको सम्झन्छु, ‘जीवनमा पढ्नैपर्ने दुई लेखक हुन्, भिक्टर ह्युगो र योहान गोएथे ।‘ तर ती दुबैका कृति मैले पढेको थिईन । यो कुरा थाहा पाएपछि उनले भनेकी थिइन्, ‘दुःखद अवस्था, यति प्रसिद्द लेखकलाई पढ्दै नपढि कसरी स्कुल पास गर्यौं ?‘
हुन पनि रुसमा माध्यमिक बिद्यालयसम्म पुगिसक्दा बिश्वसाहित्यका महत्वपूर्ण कृतिहरुको अध्ययन गरिसक्ने परिपाटी रहेछ । ती रुसी शिक्षकले नाम लिएको र दिलबहादुर बोगटीले बोकेका पुस्तकका लेखक जुन ठाउँमा जन्मेका थिए, संयोगले म अहिले तिनै महान जर्मन लेखक गोएथेको शहरको बासिन्दा हुन पुगेको छु । जब जब म फ्रयांकफर्टको मध्य भागमा उभिएको गोएथेको पूर्णकदको सालिक छेउ पुग्छु, मलाई ती कुराहरु संधै सम्झना हुने गर्दछन् । फ्रयांकफर्टलाई प्रेमपूर्वक गोएथेको शहर पनि भनिन्छ । जर्मन नागरिकहरु गोएथेलाई लेखकका रुपमा मात्र नभई कुशल चित्रकार, बैज्ञानिक र दार्शनिकका रुपमा समेत सम्मान गर्दछन् ।
अंग्रेजी साहित्यमा सेक्सपियरको जुन स्थान छ, जर्मनहरुका लागि गोएथेको स्थान त्यो भन्दा कम छैन । जर्मनीमा जन्मिएका अल्बेर्ट आइस्टाइन, कार्लमार्क्स, सिग्मंड फ्रायड जस्तै संसारले मानेका साहित्यकार हुन् गोएथे । गोएथे कवि थिए । नाटककार थिए । उपन्यासकार थिए । समालोचक थिए । दार्शनिक र वैज्ञानिक थिए । चित्रकार थिए र थिए प्रशासकपनि । उनको जीवन अध्ययन गर्दा यस्तो लाग्छ, उनले नपाएको केही थिएन । उनको रुप आकर्षक थियो । व्यक्तित्व ओजिलो थियो । सम्पन्न घरमा जन्मिएका थिए । उनले कहिल्यै आर्थिक अभाव महुसुस गर्नुपरेन ।
त्यति मात्रै होइन, आमाको कथा बुन्ने शैली र बुबाको वकालत पेशाको दक्षता दुबै गुण उनमा आएको थियो । १६ वर्षदेखि पूर्णकालीन लेखक झैँ लेख्न थालेका उनका बारेमा भन्ने गरिन्छ, उनको जीवनमा धेरै कुरा परिवर्तन भए । तर परिवर्तन नभएका दुई कुरा मात्र थिए, स्त्रीको प्रेम र लेखन । गोएथे ‘स्टुर्म् उन्ट ड्राङ’ (आँधी र जोड) नामक साहित्यिक आन्दोलनका अभियन्ता पनि हुन् । यसले प्रेम र स्वच्छन्दताको वकालत गर्दथ्यो । यसैको प्रभावमा लेखिएको ‘तन्नेरी भेर्टरका व्यथाहरु’ यो अभियानको उच्च नमूना मानिन्छ । तर उनले संसारलाई दिएको सर्वश्रेष्ठ कृति भने ‘फाउस्ट’ नै हो । यो यस्तो कृति बन्यो, जसलाई जर्मनी भाषाको मात्र होइन, संसारका सर्वकालीक सय कृतिहरुमा राख्ने गरिन्छ । यसको दुइ भाग लेख्न गोएथेलाई ५० वर्षभन्दा बढि समय लागेको बताइन्छ । ‘फाउस्ट’ दोश्रो भाग १९३२ मा छापिएको थियो । यति लामो समय लगाएर लेखिएको यो कृति साच्चै नै विश्व प्रसिद्ध बन्यो । यहि कृतिले उनलाई जर्मनी भाषाको महान साहित्यकारका रुपमा प्रतिष्ठित गरायो । कतिपयले उनको यो कृतिलाई आत्मकथाको प्रतिरुप पनि मान्ने गर्छन । किनकी फाउस्टको चरित्र र गोएथेका निजि जीवनका धेरै कुरामा समानता छन् ।
उनको बारेमा उल्लेख गर्नुपर्दा वाइमार प्रान्तका ड्युकसँग उनको नजिकको मित्रता थियो । केहि समय गोएथे ड्युकको दरबारमा मन्त्री पदमा नियुक्त भएका थिए । ड्युकले गोएथेलाई ‘फान’ पदवीले सम्मान गरेका थिए । बिशिस्ट योगदान पुर्याएका व्यक्तिहरुलाई मात्र आफ्नो थरको अघि यो सम्मानित पदवी जोड्ने पाउने अवसर मिल्थ्यो । केहि समय उनी वाइमारमा कला निर्देशकका रुपमा काम गरे । हरेक सुविधा र पदमा पुग्नेसँगै ख्याती पनि पाउने उनी त्यो बेलाका एक्ला व्यक्ति हुन् । गोएथे र अर्का समकालीन जर्मन कवि तथा दार्शनिक ‘फ्रेडरिक शिलर’ बीच मित्रता र वैमनस्यको सम्बन्ध कायम थियो । त्यति हुँदाहुँदै पनि उनीहरु पछी सहकार्यमा जोडिएका थिए । संयुक्तरुपमा उनीहरुले सुरु गरेको साहित्य सृजनालाई वाइमर क्लासिसिज्म’ भन्ने गरिन्छ ।
००००
फ्रयांकफर्ट सहरको केन्द्रमा रहेको गोएथेको पूर्णकदको बिशाल शालिकलाई पार गर्दा सधैँजस्तो देखिने एउटा दृश्य हो, उनलाई सम्मान गर्नेहरुको भिड । प्रायः जुनसुकै बेलापनि त्यहाँ कोही न कोही तस्बिर खिचिरहेको देखिन्छ । समूह समूहमा अवलोकनकर्ताहरु आइरहेको देखिन्छ ।
यो बेला मलाई काठमाडौँ र देशका कुनाकुनामा राखिएका विभिन्न व्यक्तित्वको शालिक याद आउँछ । ती शालिकलाई श्रद्धापूर्वक हेर्ने र तस्बिर खिच्ने व्यक्तिहरुको सङ्ख्या कति होला ? हामीले व्यक्तिको शालिक त बनायौँ । तर उनीहरुको व्यक्तित्व चाहीँ बुझाउन सकेनौँ । गोएथे प्लाजा नामको यो चोकमा हुल बाँधेर जर्मनहरु गोएथेलाई श्रद्दा गर्न आइरहेका हुन्छन् । यसै चोक नजिकको एक कुनामा गोएथेको पुरानो घर छ जसलाई अहिले संग्रालय बनाइएको छ । उनी यहि घरमा सन् १७४९ मा जन्मेका थिए । यहि घरमा उनको बाल्यकाल र युवावस्था बित्यो । सन् १७९५ मा यो घर बिक्रि गर्नु अघिसम्म उनी यहि घरमा बसे । गोएथेको यो घरलाई २ सय ५० बर्ष अघि जस्तो थियो त्यसै गरि अहिले पनि सम्भार गरि राखिएको छ । अझ त्यसको मौलिकता नबिग्रिने गरि कतिपय आधुनिक कुराहरु पनि त्यहाँ थपिएका छन् । यो संग्रहालय घुम्दै गर्दा त्यति बेला सम्पन्न मानिसहरुको रहनसहन र जीवनशैली बुझ्न मद्दत पुग्छ ।
जर्मन नागरिकहरुकालागि त यो ठाउँ तिर्थस्थल नै हो । तर जर्मन मात्र होइन, गोएथेका कृतिहरु अध्ययन गर्ने जोकोही पनि यो ठाउँ पुग्दा प्रभावित नरहिरहन सक्दैनन् । गोएथेको संग्रहालय धेरै ठूलो छैन, तर सफा र ब्यबस्थित छ । संग्रालयको पहिलो तलामा अठारौँ र उन्नाइसौं शताब्दीका चित्रकलाहरुको संग्रह छ ।
गोएथेका पितासँग चित्रकलाको ठुलो संग्रह थियो । गोएथे आफैं चित्रकार पनि भएकोले त्यो संग्रहमा उनले अरु केहि थपथाप गरे । चित्रकारिता र रंग सम्बन्धि उनले कृति नै लेखेका छन् । गोएथे र उनका समकालीन साहित्यकारहरुका झन्डै चालिस हजार पाण्डुलिपिहरुको संग्रह छ । उनको भान्सा घर, स्नान गृह, सयन कक्ष आदि अवलोकन गर्दा उनि यतै कतै छन् कि भन्ने महशुस हुन्छ । त्यतिबेला कसरि घर तातो पारिन्थ्यो भन्ने कुरा थाहा पाउन सकिन्छ ।
संग्रहालयमा दुइ घरहरु जोडिएका छन्- एक गोएथे हाउस र अर्को गोएथे म्युजियम । दोश्रो बिश्वयुद्द कालमा संयुक्त सेनाको गोलाबारीबाट फ्रयांकफर्ट शहर ध्वस्त भएको थियो । त्यतिबेला यो घर पनि अछुत रहने कुरा भएन । युद्दकालमा यहाँ रहेका सबै सामग्रीहरु स्थानान्तरण गरेर सुरक्षापुर्वक राखिएको रहेछ । युद्धपछी तुरुन्तै यो घरलाई पुरानो गौरव कायम रहने गरि पुनर्निर्माण गरिएको थियो । विश्वयुद्ध जस्तो त्रासद अवस्थामा आफ्नो ज्यान जत्तिकै प्यारो गरेर गोएथेका सामग्रीहरुको संरक्षण गरेबाट पनि जर्मनहरुको नजरमा उनको इज्जत आँकलन गर्न सकिन्छ । उनको सम्मान कति छ भने उनको नाममा बिश्वबिद्यालय, सडक, अस्पताल, आदिको नामकरण गरिएको छ ।
पश्चिमी मुलुकमा लेखक–सर्जकहरुलाई सम्मान गर्नु धेरै पुरानो संस्कार हो । रुसमा लिओ टोल्स्तोय, अलेक्जेंदर पुश्किन, फ्योदर दोस्तोएभ्स्कि, बेलायतमा विलियम शेक्सपियर सम्मानित सर्जकका केही नाम हुन् । यस्ता अनेक सर्जक मात्र होइन, कतिपय पुस्तकका पात्रहरुलाई समेत सम्मान गर्ने परम्परा पश्चिममा छ । उनीहरु बसेको घरलाई राष्ट्रिय संग्रालय बनाइएको छ र उनीहरुलाई राष्ट्रिय बिभुति । कतिपय देशहरुले त यस्ता ठाउँहरुलाई घुम्नकालागि प्रमुख पर्यटकीय गन्तब्यमा पनि राखेको देखियो । शेक्सपियर र टोल्स्तोयको जन्म घरलाई त्यसै श्रेणीमा राखिएको मैले अनुभव गरें । त्यस्ता ठाउँहरु पुग्दा म आफैं पनि साहित्यको तिर्थस्थल पुगेको अनुभव गर्छु । बिद्यालयले साना नानीबाबुहरुलाई त्यस्ता ठाउँहरु घुमाएर उनीहरुको जीवनगाथा सुनाउने गर्छन् र उनीहरुको जीवनबाट केहि सिक्न र प्रेरणा लिन अभिप्रेरित गर्छन् । तर विकासोन्मुख मुलुकहरुमा भने त्यस्तो प्रचलन कम भएको अनुभव हुन्छ ।
भारतमा रबिन्द्रनाथ टैगोर अपवाद हुन्, जसले उच्चस्तरको सम्मान पाएका छन् । उनी जन्मिएका र उनले जीवन बिताएका महत्वपूर्ण स्थानलाई सङ्ग्राहलय बनाइएको छ । भारत अधिनस्त अंग्रेजहरुको राजधानी कलकत्ता हुनु र रबिन्द्रथान जस्ता नोबेल पुरस्कार विजेता कलकत्ताबासि हुनुले पनि यो प्रभाव परेको हुनुपर्छ ।
जर्मनी आउनु हुने पाहुनाहरुलाई मैले घुमाउन लैजाने एउटा महत्वपूर्ण ठाउँ फ्रयांकफर्टको केन्द्रमा रहेको गोएथेको त्यही बिशाल शालिक हो । यो सालिक र गोएथे बसेको घर घुम्दैगर्दा हामीले डिल्लीबजार–मैतिदेवी बीचको महाकवि देवकोटाको घरलाई सम्झने गर्छौं । देवकोटाको घरलाई संग्रहालय बनाउने नेपाल सरकारको निर्णयले दुई वर्ष यता धेरैलाई खुसी दिएको हुनुपर्छ । देवकोटा र देवकोटाजस्ता नेपाली भाषा र साहित्यको जग दरिलो बनाउने स्रस्टाहरुलाई यस्तै सम्मान दिन पहल सुरु गर्न ढिला भैसकेको छ ।