प्रेम नमर्ने शहर
प्रत्येक वर्षको गर्मी मौसमले हामीलाई नेपालबाट पेरिस आउनेहरुसँग नयाँ सम्बन्ध जोडेर जान्छ । फ्रान्सेली भनाइ छ,‘मेरा साथीका साथी मेरा पनि साथी हुन्’ । यसको मतलब यो होइन कि पेरिसमा एक दुइ दिन भेटिएकाहरु दिर्घ साथी बन्छन् । यो १८ वर्षको अवधिमा मसँग ककसको परिचय भयो र कोको हामीकोमा आइवरी जानुभयो अब त मैले ध्यान दिन पनि छाडिसकेकी छु ।
केहि साता पहिला सेतोपाटी अनलाइन कि पत्रकार शोभा शर्माजी पेरिस आइपुग्ने खबर पाएँ । नेपालमा महिला तथा बालबालिकाहरुका केही विशेष, महत्वपूर्ण कथाहरु मार्फत मार्फत मैले शोभाजीलाई अप्रत्यक्ष चिनेकी थिएँ । उहाँका केहि अनुपम कथाहरुले मलाइ तानिरहेको छ ।
मलाइ यसैपनि नेपालका महिला पत्रकारहरुको हिम्मत देख्दा नमन गर्न मन लाग्छ । त्यसैले पनि प्रत्यक्ष भेट्ने मौकालाई मैले सदुपयोग गर्न खोजेँ । तर म अचम्म बेफुर्सदिली थिएँ । बेफुर्सदकै बिच हाम्रो जोडीले उहाँलाई स्वागत गर्ने भयौँ ।
जुन महिनाको २१ तारिख । भोलिपल्ट बिहानको ६ बजे शोभा जी ‘ब्ला ब्ला कार’ भन्ने बस मार्फत पेरिसको बेर्सी बस स्टेशन आइपुग्ने निधो रहेछ । म बिहान बस स्टेशनमै लिन आउँछु भनेर खबर पठाएँ ।
पेरिस प्रेमीहरुको शहर हो । कहिल्यै प्रेम नमर्ने शहर हो । बिछोडिए मोनालिसा स्टाइलको एकोहोरो प्रेमलाई अमर बनाउँछ र जोडीए रंगिन बनाउँछ ।
यता २१ तारिखको दिन सन् २३ को सबैभन्दा लामो दिन थियो । वर्षको लामो दिनमा फ्रान्सका सबैजसो शहरमा ‘संगित पर्व’ हुन्छ । हामी आफ्नै टोलको संगित पर्वमा रमायौँ । हाम्रै टोलमा उत्पादित स्थानिय वियर र स्थानिय खाना खाइवरी हामी रात घर फर्कियौँ । शोभाजी लाई लिन जानुपर्ने भएकोले मैले बिहान पाँच बजेको ‘आलार्म’ राखें । मोबाइल स्विच अफ गरेर सुतेँ ।
कोभिडले पुन आक्रमण गरेर केहि दिन थलिएको यो जीउले एक ग्लास वियर पनि थेग्न सकेनछ । स्थानिय वियर कडा हुनेरहेछ । मैले त्यो कुरा ख्याल गरिन । यस्तो निन्द्राले भुसुक्क भईएछु कि मोवाइलको घन्टी पनि सुनिन । व्युझँदा त सात बजिसकेको रहेछ र झम झम वर्षा भैरहेको रहेछ ।
ला अनि शोभा जी ? उहाँ त बसपार्कमै । त्यो बेर्सीको स्टेशन नाम मात्रको छ । पानी परे भिजिन्छ । जाडो लागे हिटर पाइन्न । चिया खाजा खाउँ ठाउँ छैन । अलि कुनातिर ओत लागौँ पिसाब गनाएर उस्तै फोहर छ । यो युरोपको बस स्टेशन भन्न सुहाउने खालको छैन ।
शोभाजीले ‘बस रोकिएको अगाडि छु’ भनेर मेसेज पठाउनुभएको रहेछ । आफू ओच्छ्यानमा । आठ बजे त फेरी मलाइ काममा पुग्नुपर्नेछ ! फसाद भो । शोभाजीलाई फोन गरेँ र ‘कुनै नजिकैको बारमा छिरेर चिया पिउँदै गर्नुहोला’ भने ।
मेरो ठाउँ श्रीमानजीले लिनै पर्यो । घरमा बिँड उखेलिइएका दुइ छाता रहेछन् । छाता गतिला नभएको एक मुख रिस पोखेर उहाँ पेरिस लाग्नुभयो र म काममा भुलेँ ।
बेलुका शोभाजीसँग भेट भो । बिहानको चिसो, रातको अनिँदो र एकाबिहानै मेरो फोन नउठेकोले गर्दा उहाँलाई एकछिन त रुन मन लाग्यो रे । आफ्नो व्यवस्था गरौँ म आउँछु भनेको छु । फोन गर्यो उठ्दैन । सरी माग्नु बाहेक मेरो उपाय थिएन ।
बेलुका खाना खाएर एकैछिन सन्ध्याकालिन हिँडाइमा गइयो । चिनजान शुरु भयो हाम्रो । ‘भोली बेलुका आइफल टावर सँगै चढौं’ भनेर निधो गर्यौँ ।
आइफल धरहरामाथिबाट मानिसले ‘आइ लभ यु’ लेखेका रँगिन बेलुनहरु उडाउँछन् । त्यहाँ पुगेपछि सकेसम्म आफ्ना प्रेमी या परिवारलाई फोन गर्छन् र सन्देश पठाउँछन् । यतिले पुग्दैन मानिसलाई र टावरको उपल्लो तलामा रहेको ट्वाइलेटका भित्तामा प्रेमले भरिएका अनेकौँ रँगका मेसेजहरु लेखेर छाड्छन् । यतिले पनि पुग्दैन र चावी किनेर ल्याउँछन् र पर्खालको कुनै ठाउँ भेटे भने ताला लगाएर जान्छन् ।
त्यो दिन उहाँले लुभ्र संग्राहलयकी मोनालिसा हेरेर आउनुभएछ । गोलीले पनि फोर्न नसक्ने शिशाको फ्रेम भित्रको अर्को फ्रेममा बिराजमान मोनालिसा देखेर शोभा जी आश्चर्यचकित हुनुभएछ । आकार हेरेर मोनालिसाको प्रसिद्दीबारे टिप्पणी गर्नु उचित नलागेपनि उहाँलाई चाहीँ मोनालिसा ठूलै भित्तामा सजिएकी होलिन् जस्तो लागेको थियो रे ।
भोलिपल्ट काम सकाएर म बेलुका आठ बजे आइफल टावर पुग्दा उहाँ सेन नदीको ‘डुंगा शयरमा’ हुनुहुँदो रहेछ । शोभा जी र म आइफल टावर चढ्ने टिकट काट्ने भयौँ र मेरा श्रीमान चौरतिर कतै भुल्ने बिचारमा रहनुभयो । हामीले टिकट लिने बेलामा आइफल टावरको टुप्पोमा जाने लिफ्ट बिग्रेछ । म त कयौँ पटक माथि गैसकेँ तर नेपाल देखि यहि आइफल टावर चढ्न आएकी शोभाजीको टुप्पोमा पुग्ने रहर बिग्रेको लिफ्टले छिन्यो । उहाँको छिनिएको रहरसँगै मेरो मन दोब्बर भाँचिएर आयो ।
अति सुन्दर मौसमको फाइदा हामीले दोस्रो तलामा भरपुर उठायौँ । सूर्यास्त हेर्यौँ । सेन नदी माथिको सूर्यका किरणको छायाँ र पेरिसको व्यवासायिक स्थान ला दे फन्स माथिको सूर्यास्त अद्वितिय थियो । यहि बेलामा आइफल टावर नजिकै बस्नुहुने कविन्द्र कायस्थ दाइले, ‘अनुराधा बहिनी तपाइहरु आइफल टावर घुमिवरी मेरो घरतिर आउनु सँगै खाना खाउँला‘ भन्नुभयो ।
सूर्यास्त पछि दाइकोमा पुग्न सकिने आँकलन गरेर मैले हुन्छ दाइ भनेँ । ‘हामी तीन जना छौँ है’ भनेर जानकारी पनि गराएँ ।
बेलुका १० बज्यो । सधैँ झैं पिलिक पिलिक चम्कनुपर्ने आइफल टावर त्यो दिन चम्केन । मलाइ भने चिन्तै भयो । यसै त टुप्पोमा पुग्न पाउनुभएको छैन त्यहि माथि यो दृष्य छुट्यो भने उहाँलाई झन पछुतो पर्ला भन्ने उल्टो पिर लाग्न थाल्यो । यो दृष्य हेर्न हामीले अब रातको ११ बजाउनैपर्ने थियो । त्यसैले केहि थान फोटोहरु खिच्न तिर भुल्यौँ । शोभा जीलाई टावरबाट देखिने दृष्यले लोभ्याएको छनक मैले पाएँ ।
शोभा जी एँगल मिलाएर फोटो खिच्ने पत्रकार हुनुहुँदो रहेछ । जस्तो पायो त्यस्तो दृश्य नखिच्ने र सामाजिक सन्जालको पनि उतिसारो प्रयोग नगर्ने उहाँको एउटा ‘ओपन सेक्रेट’ को मैले भेउ पाएँ । त्यो थियो उहाँको देब्रे हातको ट्याटु ।
अरुले अनुहारको तस्विर खिच्छन् । खिस्स हाँस्छन् । बेला न कुबेला खिस्स हाँसेर फोटो खिच्ने मेरो पनि बानी छ । तर उहाँ एकदमै स्वभाविक । आफ्नो देब्रे हात बारमा राखेर सूर्यास्तको त्यो क्षणमा दुइ आकृतिका ट्याटुको तस्विर मिलाइ मिलाइ खिचेको मैले हेरिरहेँ । देब्रे हात र दुइ ट्याटु । कुनै कथा छ कि ट्याटुको ?
मोनालिसालाई दा भिन्चिले प्रेम गरेरै अमर बनाए । मलाइ मानिसको व्यक्तिगत कुरा सोध्न एकदमै डर लाग्छ । त्यसैले मैले यि दुइ आकृतिलाई प्रतिक मानेँ । एक मोर्डन हक्कि र एक्लै हिँड्ने शाहस भएकी नेपाली महिलाले बोकेका दुइ आकृति । जीवनभर पछ्यारहने चित्र ।
आइफल धरहरामाथिबाट मानिसले ‘आइ लभ यु’ लेखेका रँगिन बेलुनहरु उडाउँछन् । त्यहाँ पुगेपछि सकेसम्म आफ्ना प्रेमी या परिवारलाई फोन गर्छन् र सन्देश पठाउँछन् । यतिले पुग्दैन मानिसलाई र टावरको उपल्लो तलामा रहेको ट्वाइलेटका भित्तामा प्रेमले भरिएका अनेकौँ रँगका मेसेजहरु लेखेर छाड्छन् । यतिले पनि पुग्दैन र चावी किनेर ल्याउँछन् र पर्खालको कुनै ठाउँ भेटे भने ताला लगाएर जान्छन् । किनकी पेरिस प्रेमीहरुको शहर हो । कहिल्यै प्रेम नमर्ने शहर हो । बिछोडिए मोनालिसा स्टाइलको एकोहोरो प्रेमलाई अमर बनाउँछ र जोडीए रंगिन बनाउँछ ।
यति लेख्दै गर्दा मलाइ अलि बढी नै लेखेँ कि जस्तो लाग्छ । तर म कहिलेकाहिँ केहि कुराहरुको मिहिन अवलोकन गरेर त्यसमा आफ्नो सोचाइको काव्यलाई अलि रंगिन रुपमा घोल्न रुचाउँछु ।
यो बेर्सीको स्टेशन नाम मात्रको छ । पानी परे भिजिन्छ । जाडो लागे हिटर पाइन्न । चिया खाजा खाउँ ठाउँ छैन । अलि कुनातिर ओत लागौँ पिसाब गनाएर उस्तै फोहर छ । यो युरोपको बस स्टेशन भन्न सुहाउने खालको छैन ।
मैले यसो पनि किन लेखेको भने एकजना फ्रान्सेली यात्राकारका तस्विहरु हेर्छु म बेलाबखत । यिनी यात्राकार जहाँ जान्छन् आफ्नो लामा लामा खुट्टा भएको नीलो पुतली बोकेर जान्छन् । यात्राकारका भन्दा बढी उनको पुतली पछाडी अति सुन्दर दृश्यहरु उनको पेजमा देखिन्छन् । उनको यो पुतली प्रेम एउटा प्रेम कथा हो जुन उनको छुटेकी प्रेमिका सँग जोडिएको छ ।
बेलुका ११ बजेको पिलिक पिलिक आइफल टावर हेरेर हामीहरु कविन्द्र दाइको घरमा पुग्यौँ । पेरिसको चक्रपथसँग जोडीएको इभ्री चोकमा उहाँको बसाइ । एकतिस तले भवनको यो ठाउँ अमेरिकाको मेन हटन सहर जस्तो । पेरिसको मेनहटन ।
‘ल तपाइलाई देखि ल्याएँ यत माथि हेर्नु त, मैले बत्ती तल बालेर हाम्रो अपार्टमेन्ट कुन चाहिँ हो भन्ने संकेत गरिरहेको छु’ भन्नुहुन्छ मध्यरातमा कविन्द्र दाइ । त्यसो भन्दैमा कसरि थाह पाउने ? किनकि सात आठ वटा भवन जता हेर्यो उतै यो गर्मीमा झ्याल खुला छन् र बत्ती बलेका छन् । जेठो माइलो साइलो कुन भवन हो त्यो अन्यौलतामा चिर्न शोभाजी सफल हुनुभयो । २४ तला माथि दाइको बसाइ उहाँको निवासबाट पूर्व र उत्तर पेरिसको रमणीय दृष्य हेर्दै खाना खाइयो ।
दुखको कुरा धेरैबेर गफ्फिन हामी सँग समय थिएन । शोभाजीलाई बिहान चार बजे विमानस्थल पुग्नुपर्ने थियो । त्यसैले हामी कविन्द्र दाइकोबाट रातको साढे एक बजे घर फर्कियौँ ।
हामीले अघिल्लै दिन एयरपोर्ट जान भनेर राती तिन बजेकालागि गरेको उबर ट्याक्सी रिजर्भ गरेका थियौँ । रिजर्भ गरेको ट्याक्सी नै आएन । पैसा तिरेको छ तर ट्याक्सी छैन । फोन गरौँ नम्बर छैन । यस्तो धोका मिल्यो कि कुरै नगरौँ ।
छोरोले हामीलाई मध्य दिनमा उठायो र नयाँ समाचार सुनायो, ‘ममी गाडि कहाँ लगेर रोक्नुभएको थियो र ? असी युरो जरिवाना आएको छ है ।’
हामी आफैंले शोभा जीलाई लिएर बिहान चार बजे एयरपोर्ट पुग्यौँ । उहाँलाई बि गेटमा छाडेर घर फर्किन हिम्मत भएन । निन्द्राले आँखा खप्टिन थालेपछि सडक छेउमा गाडी रोकेर सुत्न थालेँ म । तर मेरा श्रीमान जी यसरी तिर्खाउनुभएछ कि पानी खोज्न थाल्नुभयो । गाडी भित्रका पानीका बोतल सबै रित्ता थिए ।
बिहान पख पसल खुले पो पानी किन्न पाइन्छ र ! बुढा तिर्खाले छटपटाउने म निन्द्राले । मैले गाडि रोकेको नजिकै एउटा रेष्टुरेन्ट रहेछ । त्यो रेष्टुरेन्टमा भित्रबाट धमाधम सरसफाइ चलिरहेको रहेछ । मेरा श्रीमानजीले त्यहि रेष्टुरेन्टको ढोका टकटक गर्न थाल्नुभयो । म अर्धनिन्द्रामा उहाँतिर हेर्न थालेँ । १० मिनेट जति टकटक गरेपछि कामदार आएर भित्रबाट के भयो भनेर इशाराले सोधे । उहाँले पनि इशाराले नै पानी पानी भन्नुभयो ।
इशाराको भाषा जति प्रभावकारी भाषा दुनियाँमा कतै गएपनि हुँदैन भन्ने कुरा मेरा श्रीमान र कामदार बिचको आवाजविहीन बोलिचालीले प्रमाणीत गर्यो । उनीहरुले दुइ बोतल पानी हातमा थमाइदिए । मेरा श्रीमानजीले एक श्वासमा बोतलको पानी रित्याएको मैले पहिलो पटक देखेँ ।
अर्को बोतल पानी पिएर हामी दुवै केहि बेर सुत्यौँ । घर आइपुग्दा बिहानको साढे सात भएको रहेछ । यति बेलासम्म त शोभा जी जर्मनीको बोन शहर पुगिसक्नुभएको थियो होला ।
हामीहरु घर फर्केर सुत्यौँ । छोरोले हामीलाई मध्य दिनमा उठायो र नयाँ समाचार सुनायो, ‘ममी गाडि कहाँ लगेर रोक्नुभएको थियो र ? असी युरो जरिवाना आएको छ है ।’
कुरो जरिवानाको थिएन । कुरो हाम्रो बहुलापनले घुमघामको थियो । यस्तो बहुलापन जसको संझनाले शोभाजीका दुइ ट्याटु झैं पच्छाइरहने छ ।