शुक्रबार, वैशाख २१, २०८१

स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग

डा. हरिकुमार श्रेष्ठ२०८० कार्तिक ८ गते ६:०१

डा. हरि कुमार श्रेष्ठ

यात्राको तेस्रो दिन । कागबेनी र मुक्तिनाथको स्पर्स गरेपछि हामी दुईजना यात्री बसेको गाडी कालीगण्डकीलाई बायाँ पार्‍यौं । उत्तरतर्फ लोमान्थाङ्गको लागि मोडे चालक राजन भाइले । त्यो दिन कालीगण्डकीको मन खुशी थिएन, धमिलिएकी थिइन् ।

लोमान्थाङ्ग हाम्रो लागि नितान्त नयाँ गन्तव्य थियो । त्यहाँका बुच्काबुच्की, भीर, डाँडा, पाखा, नदीनालाका दुश्य र परिदृश्यहरू हाम्रो लागि सबै नयाँ । त्यसैले, जतिसक्दो त्यहाँको मन र माटो छाम्दै खोतल्दै यात्रालाई जीवन्त र परिपक्व बनाउनु थियो । कुरो त धेरै सुनेको हो माथिल्लो मुस्ताङ्गको । तर ‘आफू नमरी स्वर्ग देखिँदैन’ भन्ने कुरा साँचो रहेछ भन्ने कुराको पुष्टि गरेको छ यस यात्राले ।

काग खोला तरेपछि अगाडि राँकियो गाडी । पहाडहरू खण्डहर मरुभूमिजस्तो देखिन्थे । तर पनि यौवन पलाउँदै थियो र पो आकाश र बादलसँग मायाप्रीति गाँसी एकआपसमा चुम्बन गरिरहेका हुन्थे ।

केही अगाडि देब्रतिर आँखा पर्‍यो । कालीगण्डकी पारि पश्चिम किनारामा दुईवटा पहाडहरूको फेदीमा अवस्थित थियो एक सानो, अति सुन्दर र हरियालीले ढकमक्क तिरी गाउँ । यसलाई उपल्लो मुस्ताङ्गको पहिलो गाउँ पनि भनिने रहेछ । सायद नदी तिरमा भएकोले तिर गाउँ भन्दाभन्दै तिरी गाउँ भएको पो हो कि जस्तो लाग्यो । तर जाने समय मिलेन त्यहाँ ।

तिरी गाउँमा खेतीपाती गरिने गराहरू विभिन्न पुस्ताका फलफूलका रुखहरूले ढकमक्क देखिन्थ्यो । पाटा मिलेको बुट्टेदार गलैँचाहरू जस्तो । अन्न बाली भने भित्र्याइसकिएको जस्तो देखिन्थ्यो, त्यहाँका केही नाङ्गा गह्राहरू देख्दा ।

त्यसपछि हामी पहाडी मरुभूमिभित्र प्रकृतिले कुँदेका रङ्गीबिरङ्गी चित्रहरू खोतल्न अगाडि बढ्दै गयौँ । कालीगण्डकीले बगरको बिस्कुन सुकाइरहेकी थिईन् । पहाड होचिँदै थिए । आकाश फराकिलो बन्दै थियो । बादलसँगै लाप्पा खेल्दै कञ्चन नीलो रङ्गमा ।

प्राकृतिक दृश्यहरू हरियालीविहीन भए तापनि शव्दले बयान गर्नै नसकिने अति नै सुन्दर देखिन्थे । बादल पनि डाँडाको चुचुरो भागतिर टाँसिएर हिउँजस्तै देखिने ।

सीधा अगाडि बढ्दै थियौँ, एउटा पहाड ठ्याक्कै इजिप्टको पिरामिडजस्तै सुन्दर आकृति र शैलीमा ठिङ्ग अगाडि उभिएको दृश्यले मनै घुमाइदियो, कतै ईजिप्टको यात्रामा त छैनौं ?।

ईजिप्टको पिरामिड आकृतिको पहाड

भीर, पाखा तथा पखेरामा बुच्काबुच्की बिरुवाहरू, ढुङ्गा माटो बाहेक केही थिएन त्यहाँ । थियो त केवल आकाशमा बादलको गुल्छा । पहाडहरूमा हावा र हल्का वर्षादले निरन्तर कुँदिरहेको अलौकिक र अद्भूदको चित्रकला । जुन रङ्ग, आकार र सुवासको त्रिवेणी बनेर लमतन्न तन्किरहेको थियो कालीगण्डकीसँगै ।

अलौकिक क्षमताका चित्रकार, शिल्पकार तथा मूर्तिकारहरूले पूरै पहाडका तरेलीहरू खोपेर कुँदेका चित्र तथा मूर्तिहरू जस्तै देखिन्थे पहाडहरू । अझै गहिरिएर हेर्ने हो भने प्रकृतिको क्यानभासमा रङ्मङिएका थिए विश्व प्रशिद्ध चित्रकारहरू लियोनार्डो द भिन्सी, पाव्लो पिकासो, ईडवार्ड मुनिचले कोरेका विश्व प्रशिद्ध चित्रहरूभन्दा पनि विशेष, सुन्दर र महङ्गा आकृतिहरू ।

मानिसहरूले त्यसलाई कसरी हेर्छन् र बुझ्छन्, त्यस्तै भइदिन्थ्यो आकृतिहरू । हिन्दु भएर हेर्दा देखिन्थे अनगिन्ती मन्दिर तथा मूर्तिहरूका आकृति हनुमान, राम, सिता, रावण आदि। । बुद्धमार्गी बनेर हेर्दा त्यहाँ प्रशस्त बुद्धका गुम्बा, छोर्तेन, मानेपेमे, ध्वजापताका र झण्डाहरू देखिन्थे । त्यस्तै, क्रिस्चियन भएर हेर्दा चर्च र जिसस् देखिन्थ्यो भने मुश्लिम बनेर हेर्दा मस्जिदहरू अनि त्यस्तै त्यस्तै ।

एकैछिनमा हामी ताङ्वे पुग्यौँ । त्यहाँ नदी किनारमा करीब एकहजार रोपनीमा माटोको पर्खालभित्र फैलिएको ग्रीन ताङ्वे लिमिटेड नामक कृषि फार्म स्थापना गरिएको रहेछ, जहाँ स्याउ, ओखर, खुर्पानीजस्ता फलफूल रहेछन् । तर सिँचाइ र व्यवस्थापनको कमीले सुख्खा हावा र बलौटे माटोको कारण फार्मको अस्तित्व समाप्त हुनलागेको अवस्था देख्दा भने कृषिको विद्यार्थीको नाताले निकैनै पीडाबोध भयो । यसको लागि सम्बन्धित निकायले विशेष ध्यान दिई समस्याहरू सुधार गर्न नितान्त जरुरी छ ।

आँखाहरू पहाडका तरेलीहरूसँग नअघाउँदै अगाडि देखिन थाले लमतन्न ईन्द्रेणी बनेर बसेको रातो, फुस्रो पहाड । प्रकृतिसँग जति सामिप्यता बढायो त्यति बढाउँदै जान मन लाग्थ्यो र त जीवन रङ्गिन र सहज बनिरहन मद्दत पुग्दथ्यो ।

ग्रीन ताङ्वे कटेपछि डिलबाट उत्तरतर्फको अति रोमाञ्चक दृश्यहरूलाई क्यामरामा कैद गरियो । वरिपरि देखिने आकाश, बादल र निवस्त्र अद्भूत कलात्मक पहाडको संगम कम मनमोहक थिएन । त्यहाँ हामी प्रकृतिका अनुपम पुञ्जहरूसँग लोभिएका थियौँ मन, आँखा र इच्छाको त्रिवेणी बनाएर । स्वच्छ दीलले पहाडलाई गहिरिएर हेर्न जान्नुपर्दछ अनि देखिन्छ स्वर्ग त्यहाँ । त्यसैले, नेपालमा स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग जाउँभन्दा अत्युक्ति पनि नहोला ।

वरिपरि च्याङ्ग्राहरू चर्दै थिए बथानमा । त्यहाँबाट हामी अगाडि बढ्दै थियौँ । ताङ्वेको सानो खोल्साको वारिपारि त झन् कल्पनै गर्न नसकिने प्रकृतिको अपराम्पार विचित्रको लिला रहेछ । त्यहाँ सोली घोप्ट्याएको दृश्यहरूले सीधै नीलो आकाशसँग चुम्बन गरिरहेको देखिन्थ्यो । वाउ मुस्ताङ्ग ! वाउ नेपाल ! भन्न मन लाग्यो ।

जति अगाडि बढ्यो, त्यति जादूमयी पहाडी श्रृङ्खलाहरूले मन तथा नयनका दुईवटा नानीलाई एकटकले तानेको थियो । कहिले त लाग्दथ्यो, जादूगारले मात्र चटक गर्छन् भनेको त त्यहाँ त पहाड, भीर तथा पाखाले पनि जादू वा चटक देखाउन जानेको रहेछ ।

छिनछिनमा मानिसको मन, सोँचाइ र हेराई बदल्दै । कतै देखिन्थ्यो सिङ्गो पहाड नै मन्दिर, गुम्बा, चर्च र मस्जिद बनेर आसानसँग मिलेर बसेका । लाग्दथ्यो, प्रकृतिले त कुनै धर्म, जातजाती, लिङ्ग र वर्ग बीच भेदभाव र विभेद गरेको छैन, गरेका छौँ त केबल हामी स्वार्थी मानिसहरूको जमातले मात्र । कहिले काहिँ त हामी निकै नै अप्राकृतिक र दयामा खडेरी लागेर क्रुर बन्दैगएका छौँ । त्यसैले त थोपरिएको छ विभेद र विनाशकारी युद्धहरू हाम्रै घर आगनदेखि विश्वसम्म ।

यस्तो सुन्दर तथा स्वच्छ भूमिमा केही दिन मात्रै बस्न सकेमा मनभित्रका विकार, खराब सोँच र प्रवृत्तिका भण्डारहरू सहजै रित्तिँदै अवश्य पनि दयाको मुल फुट्थ्यो होला जस्तो लाग्छ ।

पहाड भनेपछि रुख, बिरुवा, फूल, लहराहरू, पशुपञ्छी आदि मात्र नभई त्यहाँ त कलाकारिताको महासागर पनि हुन्छ भन्ने दह्रो प्रमाणहरू बोकेका छन् त्यहाँका सुन्दर, शान्त तथा विचित्रका पहाडहरूले ।

यस्तो भूमिलाई पर्यटकीय विशेष महत्वको क्षेत्रहरू जस्तै कृषि पर्यटन, कला पर्यटन, ईतिहास पर्यटन, भौगोलिक पर्यटन, धार्मिक पर्यटन, वैज्ञानिक पर्यटनको रूपमा विकास गर्नसके विश्वको एक खुल्ला प्राकृतिक विश्वविद्यालय बन्न सक्दछ । जसले मनग्य आम्दानी गरी मुस्ताङ्ग तथा नेपाल समृद्ध बनाउन थप टेवा पुग्न जान्छ ।

दिन छिप्पिँदै गइरहेको थियो । करीब दुई बजेतिर छुसाङ्ग पुगियो, जुन कालीगण्डकी र नर्साङ्ग खोलाको संगम पनि थियो । सुरक्षाको लागि प्रहरी चौकी, खाना बस्नको लागि होटलहरू र खेतीपाती । एक होटलको अगाडि त स्याउका बोटहरू लटरम्म भई स्वागत गरिरहेका थिए पाहुनाहरूलाई । स्याउलाई फूलका बोटहरूझैं अलङ्कारको रूपमा राखिएको रहेछ । होटल आगनको स्याउको बोटका चिल्ला र राता डल्लाहरूले मन लोभ्याएर मुख रसाए तापनि किनेर खान पनि नपाइने ।

लोमानथाङ्ग एक अलौकिक सुन्दरता र पृथक भौगोलिकता भएको विशाल उपत्यकामित्र ठूलो पर्खालभित्र फैलिएको माटोको शहर रहेछ । जहाँ, कृषि कर्म गरिने, मानेपेमे, गुम्बा, गुफा, दरवार, प्रचिन संकृतिले अड्डा जमाएर बसेका रहेछन् ।

त्यहाँबाट वरिपरि सल्बलाएका चित्रमय पहाडका ढिस्काहरू । भीरतिर ठाउँठाउँमा टाढैबाट भए पनि गुफाका द्वारहरू स्पष्ठ देखिन्थे । सायद परापूर्वकालमा हाम्रा पूर्वजहरूले जमीनमा घर बनाएर बस्नभन्दा अगाडि नदी किनारमा त्यसरी नै गुफा बनाएर बस्ने रहेछन् क्यारे । पछि नदी धसिँदै गहिरिएर जाँदा उक्त ठाउँ विकट र अनकण्टार देखिन पुगेजस्तो लाग्छ ।

छुसेरबाट लिइएको कालीगण्डकी पारिको रङ्गिन तस्वीर

नर्साङ्ग खोलामा एक झोलुङ्गे पुल थियो, जहाँबाट दिउँसै तारा देख्न सकिने गाउँ तेताङ्ग जान सकिने । यो खोलामा पनि अत्यधिक मात्रामा शिला ढुङ्गा पाइने कुराको जानकारी पनि पायौँ । तेताङ्ग गाउँबाट पहिलाको नुनखानी जाने बाटो रहेछ । समयको अभावले त्यतातिर जान सकिएन र त्यहिँबाट भए पनि आकाशमा तारा हेर्न खोजेँ तर कतै देखिनँ । ‘नजाने गाउँको बाटै नसोध्नु’ भने झैँ तेताङ्कतिरको जानकारी लिनतिर लागिएन ।

रमणीय थिए पहाडका बुट्टेदार तरेलीहरू, समथर नदी र नदी किनारका बस्तीहरू । विस्तारै उकालो चढ्ने बाटाको फेदीमा पुग्यौँ, जहाँबाट पहाडको कापबाट फुत्त निस्केकी थिइन कालीगण्डकी शिला ढुङ्गाको कोशेली बोकेर । अब त्यहिँबाट कालीलाई पार गरेर दाहिने पार्दै उकालो लाग्दै शुरु भयो अर्कै अध्याय ।

कताकति डाँडाहरूमा हरियालीको जुँगारेखी देखिन थालेको थियो भने कतै त उही मरुभूमिजस्तै फुस्रा र नग्न स्वरुप । बाटोको देब्रेतिर पहाडको चुचुरातिर हिँउले बास जमाएकै थियो र पो देखिन्थ्यो सेताम्यै र सुन्दर रूपमा पहाडका टुप्पाहरू । हल्का हिउँ पनि फुस्फुसाएको जस्तो देखिन्थ्यो त्यहाँ ।

उकालो लागेदेखि फराकिला, उकाली ओराली, घुम्ती भएका सडकहरूबाट पहाडहरू, खोल्साखाल्सी, खोला, स–साना सुन्दर बस्तीहरू, पहाडका तरेलीहरू, समथर पठारहरू प्रशस्त देखिन्थे । उकालोपछिको पहिलो दाहिनेतिरको गाउँ थियो चैले गाउँ । कताकति त फुटबल मैदानजस्तै आकारको जमीन । पहाडको माथिल्लो क्षेत्रबाट तलतिर हेर्दा लाग्दथ्यो हवाईजहाजको यात्रा गर्दा तलतिर देखिएका दृश्यहरूजस्तै । बस्ती वरिपरि खेतीयोग्य जमीन देखिन्थे त्यहाँका हरियालीलाई छाम्दाखेरी ।

पेटमा ईन्धन सकिन लागेको महशुस गराइरकेको थियो, हाम्रो हाउभाउ र बोलीमा आएको परिवर्तनले । यात्रा गर्नुपर्ने दूरी अझै लामै बाँकी छ भने ड्राइभर भाइले । त्यसैले, हामीसँग भएको बिस्कुट र चकलेटले भोक हरण गर्‍यौँ ।

हामी घ्याकर, समर, भेना, साङ्बोचे, घिलिङ्, जैते, घमी, चराङ्ग हुँदै बेलुकी पाँच बजे लोमान्थाङ्ग पुग्यौँ । बस्ती बस्तीमा खेतीपाती र रुख बिरुवाको हरियाली र दृश्य रमणीय थियो । त्यस क्षेत्रको कृषिमा मकै, स्याउ, करु (उवा), गहुँ, जौ, आलु, तरकारीमा बन्दा, काउली, खुर्सानी, गोलभेडा लगाउने रहेछन् भन्ने कुराको जानकारी पाइयो । घिलिङ्मा साइकल तथा मोटरसाइकल यात्रीहरू पनि रमाएका थिए ।

घमी त्यो क्षेत्रकै राम्रो र होँचो फराकिलो गह्राहरू भएको खेतीयोग्य जमीन जस्तो लाग्दथ्यो, जहाँ एक विशाल स्याउ फार्म पनि व्यवस्थित किसिमले स्थापना भएको पाइयो । केही वर्षको अन्तरालमा मुस्ताङ्गमा स्याउ, खुर्पानी र ओखरले ठूलो फड्को मार्ने देखिन्छ ।

कृषि गतिविधिसहितको घमी गाउँ र वरिपरि पहाडको मनमोहक दृश्य

ठाउँ ठाउँमा बाटो भत्केकोले डोजरले रोजगारी पाइरहेको हुन्थ्यो । आँखाहरू पहाडका तरेलीहरूसँग नअघाउँदै अगाडि देखिन थाले लमतन्न ईन्द्रेणी बनेर बसेको रातो, फुस्रो पहाड । प्रकृतिसँग जति सामिप्यता बढायो त्यति बढाउँदै जान मन लाग्थ्यो र त जीवन रङ्गिन र सहज बनिरहन मद्दत पुग्दथ्यो । बाटोमा खोलानालाको नागबेली आकृतिले घमीको चमक बढाएको थियो ।

घमीको उकालो चढेपछि त आकाश निकै नै फराकिलो भएछ। थकानले लतारे पनि रमाइरहेको थियो हाम्रो यात्रा । कतै त ठूलाठूला फाँटहरू छन् । पानी छैन र खेती पनि छैन । तर पनि आफ्नै सौन्दर्य बोकेर जुरुक्क उठेका छन् ती फाँटहरू । एकैछिनमा दि खोला तरेर चराङ्ग पुग्यौँ । यो पनि एक खेतीयोग्य उपत्यका थियो । अत्यधिक हावा चल्ने चराङ्ग डाँडाबाट स्पष्ठ देखिन्थ्यो लोमान्थाङ्ग ।

केही महिना अगाडि मात्र विवाह बन्धनमा बाँधिएका राजा जिग्मेपलवर विष्टको नातिको ससुराली गाउँ थियो चराङ्ग । त्यो ठाउँमा कलात्मक गुम्बा थियो । दि खोला वारिपारि पहाडले सौन्दर्यको महिमा थपेको थियो । भोटेपिपलको आधिपत्य थियो रुखहरूमा । आफ्नो जमीन पर्खालले वा तारको जालीले छुट्याएको दृश्य झनै रमाइलो थियो ।

त्यसपछि हामी एकैछिनमा एउटा खोला तरेर लोमान्थाङ्ग प्रवेशद्वार प्रवेश गरी पुग्यौँ लोमान्गाङ्गको खेकु चोक ।

अक्सिजनको कमीले स्वासप्रस्वासमा अप्ठ्यारो महशुस भयो । त्यसपछि, उनले मसलाको धुलो चाटिन र अलिकति तातो पानी पिएर समस्या भगाइन् । त्यसैले, हिमाली क्षेत्रको यात्रामा टिम्मुर, ज्वानो, मरिच, जीरा, अदुवा, जौको सम्मिश्रणबाट तयार गरिएको धुलो र मन तातो पानी लैजान बिर्सन हुन्न भन्ने हाम्रो सल्लाह पनि हो यो ।

बढी थकान, जाडो र समय घर्किसकेको कारण हामी बाहिर गएनौँ । बेलुकीको खानामा आज नितान्त स्थानीय खाना जस्तै फापरको रोटी, मुस्ताङ्गे आलुको तरकारी, दाल, अण्डा, टिम्मुरको छोप निकै स्वादले थपीथपी खायौँ । खाना पीरो र नुन चर्को पनि थिएन । लक्ष्मीले करुको एक प्याक लगाइन् ।

खानापछि होटलवालासँग एकछिन भलाकुसारी गरियो । होटेल एक करीब ५० वर्षे एकल महिला र एक छोरा भएर चलाएका रहेछन् । कान्छा छोरा भने काठमाडौँमै पढ्दा रहेछन् । अहिले आमालाई सघाउने जेठा छोरा भने स्नातकतहसम्मको अध्ययन गरेका रहेछन् । बुबाको दुईवर्ष अगाडि आकस्मिक मृत्यू भएपछि काठमाडौँ शहर छाडेर गाउँमै केही काम गर्ने विचारले फिर्ता भएका रहेछन् यिनी । सलाम छ यस्ता युवालाई ।

कोठाको सबै झ्याल र ढोकाहरू बन्द गर्दा अक्सिजनको अभावले स्वासप्रश्वासमा समस्या आउला भनेर झ्याल केही खुला राखेकोले खासै समस्या भएन । बसाई र खानपीन उत्कृष्ट रह्यो ।

यात्राको चौथो दिन २०८० असोज ७ गते हामी बिहानै हामी होटलको छतबाट सूर्यको कीरणसँगै लोमान्थाङ्गको मुस्कान हेर्ने मौका जुरेको थियो । त्यतिखेर वरिवरिका पहाड र बस्तीहरूको रौनक निकैनै रमणीय, ज्वजल्यमान र आनन्दित थियो ।

त्यहाँबाट कोरला नाका (नेपाल–चीन सीमा) तर्फ बिहान करीब पौने सात बजे प्रस्थान गर्‍यौँ । लोमानथाङ्गबाट देब्रे र दाहिने गरी दुईवटा बाटोहरू रहेछन् । देब्रेतिरको बाटो अलि सहज र छोँटो भएकोले त्यतैतिरबाट जाने निधो गर्‍यौँ र फर्कँदा अर्कै बाटो छोसेर भएर ।

त्यतातिर पनि पहाड तथा डाँडाहरू खरिखुण्ड नाङ्गो र कताकति काँडेदार बिरुवाका बुच्का बुच्कीहरूले ढाकेको थियो । बाटोतिर जमीन प्राय स–साना समथर उपत्यका जस्ता देखिन्थ्यो । जमीन कित्ताकाट गरी घडेरीको रूपमा होँचा पर्खाल वा ढुङ्गाको घेराले सीमा छुट्याइएको थियो । सायद नेपाल–चीन सीमा खुलेमा शहरीकरणको प्रतीक्षामा भएर होला । मानव बस्ती वरिपरि भोटेपिपलकै बाहुल्यता थियो । त्यहाँ त जताजता जान्छ बाटो त्यतैत्यतै पच्ट्याइरहेको थियो बिद्युतका पोल र तारहरूले । बाटो कच्ची भए तापनि यात्रा सजिलो थियो । हिँउ जमेर पग्लन समय लाग्ने हुनाले मानव बस्ती एकदम पातलो थियो ।

अग्ला र नाङ्गा डाँडाहरूको कच्ची बाटोमा कहिले उकाली त कहिले ओराली, कहिले तेर्सो त कहिले नागवेली घुम्तिमा धुलो उडाउँदै अगाडि बढ्दै गयौँ । केही समयमा हामी लोमानथाङ्गबाट आठ किलोमिटरको दूरी पार गरी ३,९५० मिटरको उचाईमा अवस्थित नेचुङ्ग पुग्यौँ जहाँ नेपालको भन्सार, क्वारेन्टिन, सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी.को कार्यालय स्थापना भएको रहेछ । त्यहाँबाट नेपाल–चीन सीमा पुग्न चौध किलोमिटर बाँकी थियो ।

कहिले त लाग्दथ्यो, जादूगारले मात्र चटक गर्छन् भनेको त त्यहाँ त पहाड, भीर तथा पाखाले पनि जादू वा चटक देखाउन जानेको रहेछ ।

त्यसपछि हामी अगाडि बढ्दै थियौँ । बाढीले थिलो थिलो परेको समथर भूमि भेट्यौँ, जुन संरक्षणको पर्खाईमा थियो । औषत समुद्र सतहदेखि करीब ४,००० मिटरको उचाईमा पुगेपछि लक्ष्मी गाडीबाट बाहिर निस्केकी मात्र के थिइन उनलाई अक्सिजनको कमीले स्वासप्रस्वासमा अप्ठ्यारो महशुस भयो । त्यसपछि, उनले मसलाको धुलो चाटिन र अलिकति तातो पानी पिएर समस्या भगाइन् । त्यसैले, हिमाली क्षेत्रको यात्रामा टिम्मुर, ज्वानो, मरिच, जीरा, अदुवा, जौको सम्मिश्रणबाट तयार गरिएको धुलो र मन तातो पानी लैजान बिर्सन हुन्न भन्ने हाम्रो सल्लाह पनि हो यो ।

केहिछिनमा हामी उकालो उक्लँदै जाँदा च्याङ्ग्राका ठूलो हुल जमीनमा थुतुनो जोत्दै जीउने संघर्षमा चरिरहेको देख्यौँ, जहाँबाट नेपाल–चीन सीमा सजिलै देखिन्थ्यो । हामी नौ बजे करीब ४,६६० मिटरको उचाईमा अवस्थित नेपाल–चीन सीमामा पुग्यौँ ।

यो क्षेत्र निकै नै फराकिलो, समथर, सुन्दर र रमणीय थियो । हावाको बहाव निकै नै तेज थियो । बिहानी भने निकै नै घमाइलो र पारिलो । वरिवरि हिम तथा पहाडी श्रृङ्खलाहरूले बादलको गुजुल्टोसँग नीलो आकाशभित्र लुकामारी खेल्दै गरेको दृश्य अति नै मनमोहक थियो । यसले दशैं तिहारको आगमनलाई निम्तो दिइरहेको अनुभूति पनि भयो ।

केही युवा युगलहरू सारा पीडा भुलेर टिकटक, अङ्कमाल र भिडियो बनाउन व्यस्त थिए भने केही युट्युबरहरू त्यस क्षेत्रको बारेमा वर्णन गर्दै भिडियो बनाउन व्यस्त थिए ।

मैदानको बीचमा नेपाल र चीनको सीमा क्षेत्र छुट्याउने नेपालको तर्फको प्रतिनिधित्व गर्दै वि.सं. २०१९ मा निर्मित २४ नम्बरको एक्लो टिठलाग्दो फुच्चे सीमा स्तभ्म मात्र देख्यौँ । यहि सीमा स्तम्भको नजिकै अरु स्तम्भहरू भएको पनि जानकारी भयो । दशगजा क्षेत्र खुल्ला छ भने चीनको क्षेत्र भने तार बारले घेरिएकोले प्रवेश बन्द रहेछ ।

चीनभित्र लोभलाग्दो पूर्वाधारहरू जस्तै सीमा सुरक्षा बल, भन्सार, अध्यागमन कार्यालय र कर्मचारी आवाश भवनहरू तीब्र गतिमा सम्पन्न भई सीमा खुलाउने तयारी पूरा गरेर बसेको देखिन्थ्यो । तर कठै ! नेपालतर्फ भने पूर्वाधार विकासको लागि सीमामा कुनै कार्यको छनक नै पाइएन ।

नेपाल–चीन सीमा स्तम्भ नं २४ मा ड्राईभर राजन, श्रीमती लक्ष्मीमाया श्रेष्ठ र म

बाह्य देशका पर्यटकहरू देखिन्थेनन् तर आन्तरिक पर्यटकहरू भने गइरहेका हुन्थे । त्यहाँ नेपालतर्फ त झरी तथा हिँउ परेमा ओत लाग्ने न त एक कटेरो नै छ न त स्वास्थ्य, सुरक्षा तथा भोकप्यास मेटाउने कुनै ठाउँको व्यवस्था छ । त्यसैले, नेपालतर्फको कोरला नाका निकै नै दारिद्रिक र पीडादायी अवस्थामा रहे तापनि यी सब चिजहरू लुकाएर भविष्यको सुनौलो बिहानी कुर्दै मुस्कुराइरहेको पाइयो । यद्यपी नेपालको यो अवस्थाले हामीलाई निकै नै पीडा बोध पनि भयो ।

स्वच्छ दीलले पहाडलाई गहिरिएर हेर्न जान्नुपर्दछ अनि देखिन्छ स्वर्ग त्यहाँ । त्यसैले, नेपालमा स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग जाउँभन्दा अत्युक्ति पनि नहोला ।

सन् १९४९ सम्म तिब्बत छुट्टै राजनैतिक अस्तित्वमा थियो । सन् १९५० मा जब चीनले तिब्बतमा शासन शुरु गरे, त्यसपछि सन १९६० को दशकतिरसम्म यो नेपाल र चीन बीचको मुख्य व्यापारिक, शैक्षिक, धार्मिक र ऐतिहासिक मार्ग रहेछ ।

जब तिब्बतीयनहरूको धर्म गुरु दलाई लामा भारतमा शरण लिन पुगे त्यसपछि विस्तारै तिब्बतका खामका बासिन्दा (खम्पा) हरूले नेपालको मुस्ताङ्ग र मनाङ्ग जिल्लाहरूको प्रयोग गरी चीन बिरुद्ध बिद्रोह गर्न थाले तब यो नाका बन्द भएको रहेछ । त्यसपछिका दिनहरूमा प्रत्येक वर्ष सीमा क्षेत्रका नेपाली नागरिकका लागि अल्पकालीन समयको लागि खुल्ने भए तापनि कोभिड १९ को कारण सुरक्षा र संवेदनशीलतालाई ध्यानमा राखी चिनीया पक्षले एकतर्फी रूपमा खुलाउने र बन्द गराउने गराएका रहेछन् ।

तर समाधान पत्रिकाको वर्ष २३ अंक १५ २०८० असोज १४ मा प्रकाशित ‘उपल्लो मुस्ताङ्गीलाई नाका सधैँ खुल्ने’ शीर्षकको समाचार अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको सिलसिलामा भएको कुराकानीमा नेपाल र तिब्बत सीमाना जोडिएका १४ नाका फेरि खोल्ने निर्णय गरेको पाइयो । यसमा मुस्ताङ्गका लोमानथाङ्ग र लोघेकर दामोदरकुण्ड गाउँपालीकाका बासिन्दाहरूले यो सुविधा उपयोग गर्न सक्ने रहेछन् ।

नेपाल सरकारले जतिसक्दो चाँडो नेचुङ्गमा रहेको भन्सार कार्यालयका कर्मचारीहरूलाई कोरला नाकामा खटाउने तयारी भए तापनि पूर्वाधारको अभावले जाडोको समयमा यी कार्यहरू प्रभावकारी होलान् भनेर भन्न सकिन्न । त्यसैले, सम्बन्धित निकायले जतिसक्दो चाँडो भौतिक पूर्वाधारको व्यवस्था गर्न जरुरी छ ।

काठमाडौँको अस्तव्यस्त शहरमा धुवा, धुलो र मानिसको चापमा पिल्सिएका हामीलाई त्यहाँ पुग्दा निकै नै राहत मिलेको थियो र हाम्रो मन र मस्तिष्क तान्न निकै नै सफल भयो कोरला नाका ।

तर एक त समयको पाउवन्दीको कारण धेरै लामो समय बस्ने फूर्सद पनि थिएन भने अर्को त हाम्रा गुरुजीलाई चिसो र अक्सिजनको कमीले टाउको दुख्न शुरु गरेकोले मनले विदा नदिँदा नदिँदै पनि एकछिनमा नै हाम्रो त्यहाँको बसाईलाई बिट मारी फर्कियौँ लोमानथाङ्कतिर ।

हिन्दु भएर हेर्दा देखिन्थे अनगिन्ती मन्दिर तथा मूर्तिहरूका आकृति हनुमान, राम, सिता, रावण आदि। । बुद्धमार्गी बनेर हेर्दा त्यहाँ प्रशस्त बुद्धका गुम्बा, छोर्तेन, मानेपेमे, ध्वजापताका र झण्डाहरू देखिन्थे । त्यस्तै, क्रिस्चियन भएर हेर्दा चर्च र जिसस् देखिन्थ्यो भने मुश्लिम बनेर हेर्दा मस्जिदहरू अनि त्यस्तै त्यस्तै ।

त्यतिखेरै हामीले गत रात बास बसेको पोतला होटलमा फोन गरी तीनजनाको लागि कुखुराको मासु सहितको खाना बनाइराख्न अनुरोध पनि गर्‍यौँ । किनकि, हामी भोकले सुसुपाल भइसकेका थियौँ ।

हामी छेसर गुफा हेर्नको लागि नेचुङ्ग कटेपछि देब्रेतिरको अर्कै बाटो हुइँकियौँ । एकैछिनमा हामी सानो र गुजुमुज्ज परेको भोटेपिपलकै बाहुल्यता भएको हरियाली बस्तीभित्र घुस्यौँ र मुख्य बाटोबाट देब्रेतिर मोडिएर छेसर गुफामा पुग्यौँ ।

छोसेरस्थित परापूर्वकालमा मानवनिर्मित पाँचतले गुफा

गाडी पार्कको लागि फराकिलो ठाउँ थियो तर गाडी संख्या भने कम । मैले सोँचेको थिएँ कि उक्त गुफा पोखराको महेन्द्र तथा चमेरे गुफाहरू जस्तै होला भनेर । तर गुफा त नितान्त फरक कलात्मक प्रकृतिको । गुफा पहाडभित्र खोपेर बनाइएको पाँच तलाको मजबुद, अलौलिक, अद्भूत र विचित्रको रहेछ । पाँचलताको गुफामा विशेषता भनेको भर्‍याङ्ग बाहेक अन्य वनावट पूर्ण रूपमा पहाडकै भाग थियो ।

गेटमा घामको पार ताप्दै लमतन्न परेर सुतेका एक बृद्धले निगरानी राख्दा रहेछन् त्यो गुफा । हामी दुईजनाको लागि प्रति व्यक्ति रु. १०० का दरले टिकट लियौँ । ड्राईभरलाई पैसा नलाग्ने । भित्र पस्ने प्वाल (ढोका) र माथि चढ्ने भर्‍याङ्ग साँघुरो भएकोले सावधानीपूर्वक नहिँडेमा टाउकोले माथि सिँघौरी खेल्न पुगिहाल्ने वा पैतला फुत्केर बल्ड्याङ्ग खाइने डर ।  पाँचै तलाका विभिन्न आकार प्रकारका होँचा र ध्वाँसे कोठाहरू निहुरिँदै चहारियो ।

आगमनको पहिलो कक्षमा रहेको धुलाम्यै बेञ्चमा बसेर आगन्तुक पुस्तिकामा केही शव्दहरू कोरेर उपस्थिति जनायौँ । धेरैजसो कोठाहरू अन्धकार थिए, त्यसैले त्यहाँ हेर्नको लागि बत्ती बाल्न पर्ने । सायद आदिमकालका हाम्रा पूर्वजहरूको वासस्थान पहाडको प्वालमा सीमित रहेछ जस्तो लाग्छ, जहाँतहाँ त्यस्तै । त्यसपछि हामी लोमान्थाङ्गतिर लाग्यौँ ।

केही समयमा जब हामी लोमानथाङ्ग वारी पुग्यौँ, सडक किनारा नजिकै परित्यक्त अवस्थामा रहेको घरको आकृति ठिङ्ग ठडिएर लोमानथाङ्ग प्रवेशको लागि स्वागत गरिरहेको देखिन्थ्यो । जसलाई पर्यटकीय तथा पूरातात्विक हिसाबले जोगाइराख्न जरुरी देखिन्छ ।

कालीगण्डकीले बगरको बिस्कुन सुकाइरहेकी थिईन् । पहाड होचिँदै थिए । आकाश फराकिलो बन्दै थियो । बादलसँगै लाप्पा खेल्दै कञ्चन नीलो रङ्गमा ।

खोला नजिकै बाटो छेउ डाँडामा गाडी रोकेर लोमान्थाङ्गको मनमोहक दृश्यहरूलाई क्यामरामा कैद गरियो । त्यसपछि ठाडै ओराली झर्दै खोला तरेर उकाली पारगर्दै लोमानथाङ्गस्थित पोताला होटलमा पुगियो ।

लोमान्थाङ्ग गाउँ

होटलमा पुग्नासाथ खाना पनि तयार भएकोले सर्वप्रथम पेटपूजा गर्नतिर लागियो । खाना हामीलाई असाध्यै मिल्ने साधारण र स्वस्थकर थियो । अघिल्लो साँझाजस्तै नुन चर्को, पीरो र चिल्लो थिएन । भोक अति लागेकोले खानाको वास्तविक स्वाद राम्रैसँग थाहा पाइयो र थपी थपी खाइयो ।

खानापछि पोतला होटलका भाइ सोनाम विष्टले हामीलाई लोमानथाङ्ग वरिपरि घुमाउँदै त्यहाँको जानकारी पनि दिए । लोमानथाङ्ग एक अलौकिक सुन्दरता र पृथक भौगोलिकता भएको विशाल उपत्यकामित्र ठूलो पर्खालभित्र फैलिएको माटोको शहर रहेछ । जहाँ, कृषि कर्म गरिने, मानेपेमे, गुम्बा, गुफा, दरवार, प्रचिन संकृतिले अड्डा जमाएर बसेका रहेछन् । विश्वसम्पदामा सूचिकृत विशेष संरक्षित क्षेत्र रहेछ । यो साविकको लोमानथाङ्ग, छोसेर र छोन्हुप गाउँ विकास समितिहरू मिलाएर बनेको गाउँपालीका रहेछ ।

अनलाइनबाट पाएको जानकारी अनुसार त्यहाँको स्थानीय भाषामा यसको विशेष अर्थ रहेछ । लाको अर्थ हृदय वा मन, मनको अर्थ कामना र थाङ्गको अर्थ मैदान वा फाँट । वास्तवमा यसको भूगोल अनुसारनै यसको उचित नामाकरण गरिएको रहेछ । माथिल्लो मुस्ताङ्गका अधिकांस भागहरू तिब्बती पठार वा माथिल्लो मनाङ्गसँग मिल्दोजुल्दो रहेछ भने त्यहाँ बोलिने भाषा, धर्म, चालचलन, रितिरिवाज, भेषभुषा, संस्कृति, संस्कार, खेतीपाती तथा पशुपालन, घर र बस्ती पनि मिल्दोजुल्दो पाएँ ।

त्यहाँ हामीले तीनवटा गुम्बाहरू (चोयोदे, झुम्बा र तुप्चिन) पनि हेर्‍यौँ । चोयोदे गुम्बामा एकजना खेम्पो कुङ्गा तेञ्जिङ् गुरुङ्गसँग पनि भेट गर्ने अवसर प्राप्त गर्‍यौँ, जो अति साधारण र सभ्य व्यक्तित्वका धनी व्यक्ति रहेछन् । खेम्पो काठमाडौँ आएको समयमा भेट्ने बाचाका साथ हामी त्यहाँबाट विदा भई अर्को दुई गुम्बातिर लाग्यौँ । गुम्बाहरू दिनको १२ देखि १ बजेसम्म बन्द रहने भए तापनि खेम्पोको सहयोगमा साँढे बाह्र बजेतिर भ्यायौँ गुम्बाहरू घुमेर ।

झुम्बा ७०० र तुप्चिन ६०० वर्ष पुरानो सभ्यता तथा संस्कृति बोकेको गुम्बाहरूमा कलात्मक र आकर्षक भित्ता, पोष्टर, बुद्ध तथा बुद्धसँग सम्बन्धित धैरे मुर्तिहरू थिए जसले समस्त आगन्तुकलाई खुल्ला पुस्तकालयको रूपमा प्रस्तुत गरेका थिए ।

पहाडहरू खण्डहर मरुभूमिजस्तो देखिन्थे । तर पनि यौवन पलाउँदै थियो र पो आकाश र बादलसँग मायाप्रीति गाँसी एकआपसमा चुम्बन गरिरहेका हुन्थे ।

प्राचिन सभ्यताको धनी रहेको यो ठाउँमा ७०० वर्षभन्दा पुराना गुम्बा र गुफाहरूले हाम्रो गर्वलाई त्यहाँको उचाईसँगै उचालेको थियो । त्यसैले, त्यहाँ यससम्बन्धी अध्ययनको लागि पनि मानिसहरू यात्रा गर्ने रहेछन् त्यहाँ ।

त्यसपछि हामी त्यहाँको पूर्व राजाको दरबार हेर्न गयौँ । चौधौँ सताव्दीमा तत्कालीन राजा आङ्देन साङ्वो विष्टको पालामा निर्माण गरिएको रहेछ । त्यतिखेर यो छुट्टै राज्य रहेछ । नेपालको संघीय गणतान्त्रिक व्यवस्था स्थापनाको बेलामा अन्तिम राजा जिग्मेपलवर विष्ट रहेछन् र तत्पश्चात हालसम्म पनि त्यहाँका जनताहरूले राजपरिवारलाई अभिभावकको रूपमा मान्दै आएका रहेछन् । दरवारको आडैमा एक गल्लीको किनारामा राखिएको पूर्व राजारानीको तस्वीरमा उनीहरूको सम्मान स्वरुप दैनिक ढोग गर्ने प्रचलन रहेछ ।

यो दरवारले करीब दुई रोपनी पाँच आना क्षेत्रफल ढाकेको रहेछ, जसमा पाँच तलामा गरी एक सय आठ कोठाहरू भएको जानकारी पाइयो । दरबारको वरिपरि पर्खालले घेरिएको र पूर्वतर्फ एक मुल ढोका रहेको पाइयो । तर बाहिरका व्यक्तिहरूलाई भित्र प्रवेश निषेध भएकोले भित्र जान सकिएन ।

त्यसपछि हामी विदावादी भएर फर्कियौँ जोमसोमको लागि । बाटोमा कालीगण्डकी भेटेपछि एकछिन शिला ढुङ्गा खोज्नतिर लाग्यौँ । कागवेनी नदीभरी छरिएर रहेका साना ठूला काला चिल्ला ढुङ्गाहरूमा प्रकृतिले नै कोरेका चित्रहरू अनौठा र सुन्दर मात्र थिएनन् कि हिन्दु धर्मावलम्बीहरूले यसलाई देवताकै रूपमा पूजा गर्ने गर्दछन् । हामी करीब ६ बजेतिर जोमसोमस्थित पहिला बसेकै होटल मुक्तिनाथमा गई बस्यौँ ।

वास्तवमा हरेक नेपाली तथा विश्वजगततले नेपाल कस्तो र प्राकृतिक रूपमै कति सुन्दर कलात्मक रहेछ भनेर बुझ्नको लागि एक पटक अवस्य घुम्नैपर्ने क्षेत्रको रूपमा लिएको छु मैले उपल्लो मुस्ताङ्गलाई । मानिसहरूको असल व्यवहार, मीठो खाना, राम्रो बास र सुरक्षाको लागि पनि जहाँतहाँ निकै नै सहज रहेछ मुस्ताङ्ग ।

यहि यात्राबारे लेखिएका डा श्रेष्ठका अघिल्ला लेखपनि हेर्नुस्-

मात्तिएकी कालिगण्डकी र अश्रुधाराले झस्काईरहने मुक्तिनाथको त्यो यात्रा

रुप्सेको उर्लंदो बैंस र मृत्यु टरेको त्यो रात

तपाइँको प्रतिक्रिया

फेसबुक