शनिवार- साहित्य / सृजना / नियात्रा
असम साहित्य सम्मेलन : एक ऐतिहासिक महोत्सवको सम्झना– घ
(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस, तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस, चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला, पाँचौं भागकालागि यहाँ क्लिक गर्नुहोला र छैठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, सातौं भागकालागि यहाँ क्लिक गर्नुहोला, आठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, नवौं भाग हेर्न यहाँ क्लिक गर्नुहोला र १० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, ११ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, १४ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १५ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १६ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १७ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १८ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १९ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २१ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २४ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २५ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २६ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २७ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २८ औं भागकालागि यहाँ क्लिक गर्नुहोला, २९ औं भागकालागि यहाँ क्लिक गर्नुहोला, ३० औं भागकालागि यहाँ क्लिक गर्नुहोला )
पत्रकारिता— आधुनिक साहित्यकार सिर्जित एक स्वतन्त्र विधा बनेको छ संवाद–साहित्य । निवर्तमानमा यो सबै भाषाका साहित्यमै सर्वजन स्वीकृत उल्लेखनीय विधा बनेको पाइन्छ । यस विधामा पत्रपत्रिका र अखबार दुवै अन्तर्भुक्त छन् । सन् १८४६ मा बाप्टिस्ट मिशनरीहरूले असममा अरुणोदय पत्रिका प्रकाशित गरी संवाद साहित्यको थालनी गरेका थिए । परवर्ती समयमा आसामबन्धु युग, जोनाकी युग, बाँही युग र आवाहन युग पार हुँदै जयन्ती रामधेनु, पछोवा, नवयुग, नीलाचल आदि पत्रिकाले छोटो जीवनकाल अतिक्रम गर्दै २१ औँ शताब्दीमा संवाद साहित्यले विश्वव्यापी एक विस्तृत रूप धारण गरेको पाइन्छ । अहिलेघरी पनि प्रान्तिकजस्ता कतिपय पत्रिकाहरूका साथै कतिपय अखबारहरूले समाजका धेरै व्यक्तिहरूलाई आकृष्ट पारेको पाइन्छ । तर समाजका बहुसंख्यक व्यक्तिहरूबीच कतिपय अखबारले मात्रै विश्वसनीयता आर्जन गरेको देखिन्छ ।
चिन्तनीय कुरो के हो भने पत्रिकाहरूको अल्पायु हुनको कारण के भने विचार गर्दा तुलनामूलक रूपमा पाठकको संख्याको कम्ती हुनु, कागजपत्रका साथै मुद्रण सामग्रीको अत्यधिक चर्काे मोल र उपयुक्त व्यक्तिहरू यस उद्योगप्रति उदासीन हुनु आदि हुन् । दीर्घायु भएका असमीया पत्रिकाको संख्या औँलामा गन्न सकिन्छ । यस क्षेत्रमा गहिरो रूपमा विचार गरी कार्यकारी व्यवस्था लिनु अत्यन्त आवश्यक छ ।
समालोचना— समालोचनाले साहित्यको दिशा निर्णय गर्दछ, मूल्याङ्कन गर्दछ अनि रचनारीतिको स्वरूप पाठक सामु प्रस्तुत गर्दछ । त्यसर्थ समकालीन साहित्यको विश्लेषण गर्दा समालोचकले निरपेक्ष रही आफ्नो दायित्व पालन गर्नु पर्दछ । मनोविश्लेषणात्मक र दार्शनिक अन्तर्दृष्टिका साथै अघि बढ्नुपर्छ । के कारणले यसो गर्नुपर्दछ भने पक्षपातपूर्ण र निर्दय समालोचनाले साहित्यको अपकार गर्दछ । साहित्यका विभिन्न क्षेत्रमाथि प्रकाश पार्नुका साथै समालोचनाले त्यसको स्तर निर्धारित गर्नु एक महत्वपूर्ण विषय हो । कुनै पुस्तकमा अभिव्यक्त जीवन र दर्शनबारे विश्लेषण गर्दा देश र कालको परिप्रेक्षमा विश्लेषण गर्नु पर्दछ ।
के कारणले यसो गर्नुपर्दछ भने समालोचनामा एकदेशदर्शी विश्लेषण हानिकारक हुन्छ । समालोचकको तीक्ष्ण मन्तव्यले मर्माहत भई अंग्रेजी कवि कीट्सको अपमृत्यु हुनका साथै अर्का कवि शेलीको जीवन पनि हतासग्रस्त बनेको कुरा हामी सबैले जानेकै कुरा हुन् । यस क्षेत्रमा हाम्रो समालोचना साहित्य आशाअनुरूप अघि बढेको देख्न पाठकले अझ केही दिन पर्खिनु पर्ला । कारण हाम्रा कतिपय समालोचकहरूको प्रयोजनीय ज्ञान साधना र अन्तर्दृष्टि रहेको पाइँदैन । त्यसर्थ धेरै कुरामा सृजनाको गहिराईमा गई निर्लिप्तता र सतर्कता अवलम्बन गर्नका साटो तरल मन्तव्य दिई समालोचकहरूले आफ्नो दायित्व पालन गरेझैँ लाग्छ । फलस्वरूप हाम्रा साहित्यका समालोचनहरू प्रायजसो अव्याप्ति र अतिव्याप्ति दोषले भरिभराउ भएका पाइन्छन् ।
सङ्गीत— पहाड, भञ्ज्याङ, नदीनाला, रुखपातले सुशोभित अनेक जातजाति, भाषागोष्ठी, कला संस्कतिले भव्य बनेको हाम्रो सङ्गीतको देश असमको एक गौरवोज्ज्वल इतिहास रहेको छ । असमीया सङ्गीतको प्राचीनता, गहिराइ तथा भव्य स्वरूपमाथि अलिकति प्रकाशन पार्नुका साथै निवर्तमान परिस्थितिबारे सामान्य रूपमा आभास दिनु अप्रासङ्गिक नहोला । असमका पहाड मैदान जनगणबीच अनादिकालदेखि नै प्रचलित रहिआएका ऐश्वर्यशाली साङ्गीतिक सम्पदाहरू विश्वको कुनै पनि विकसित देशको सङ्गीतझैँ प्राचीन र प्राणवन्त रहेको पाइन्छ ।
लोक जीवन सिञ्चित भइबसेको माटाको रसले भरिएको लोक संस्कृति बहुरङ्गे उपादानका साथै आर्य सभ्यताको प्रभावले जन्मेको रागसङ्गीत (शास्त्रीय) को चर्चाले हाम्रो उज्ज्वल साङ्गीतिक परम्पराको कुरालाई नै प्रमाणित गर्दछ । यी दुई प्राचीन धारासितै कठोर आध्यात्मिक तत्वहरूको सहज सरल व्यावहारिक र बोधगम्य सुसमन्वय स्थापित गरी श्रीमंत शंकरदेवले काव्य, नाटक, सङ्गीत कलाको एक कल्याणमय र ग्रहणयोग्य संस्कृतिको सृजना गरेका थिए । यसै गरी सुदूर बगदादबाट आई आजान फकीरले श्रीमंत शंकरदेवको स्वरमा स्वर मिलाउँदै— ‘हिन्दू र मुसलमान एकै अल्लाहका फरमान हुन् मेरो मनमा एकै भाव छ’ भनी एक महान् संस्कृतिको धारा प्रवाहित गरेका थिए । अनि यसको मूल मन्त्र समन्वय, संहति र सहनशीलता रहेको पाइन्छ ।
२० औँ शताब्दीको ३० को दशकमा असमको सङ्गीत जगतमा परिवर्तन आयो । बाङ्गला संस्कृतिको सर्वग्रासी अग्रासनले एक प्रतिकूल परिवेश तयार गरेकै माझ कतिपय साहसी असमप्रेमी व्यक्तिले मनको ऐकान्तिक ताडना, सृजनशील प्रतिभा र असम प्रेमले गर्दा व्यञ्जनामय असमीया गीत रचेर समाजको ठूलो सभामा आदरका साथ प्रस्तुत गर्न सफल बनेको पाइन्छ । लोक सङ्गीत र शास्त्रीय सङ्गीत यी दुई धाराबाहेक सम्पूर्ण रूपमा स्वतन्त्र सङ्गीतको अर्काे धारालाई आधुनिक अथवा ‘सुगम सङ्गीत’ भन्न सकिन्छ ।
साहित्यमा जोनाकी पत्रिकाले नवयुगको थालनी गरेझैँ यी स्वप्नद्रष्टाहरूले असमीया सङ्गीत जगतमा एक नयाँ स्वतन्त्र धारा सृजना गरे । यो सङ्गीत यात्राको बाटो उनीहरूले लेखेका नाटकहरूमा राखिएका गीतहरूले झन् झन् सुगम बनाइदियो । सङ्गीत आचार्य लक्ष्मीराम बरुवा, सत्यनाथ बरा, कीर्तिनाथ शर्मा बरदलै, राधानाथ फुकन, अम्बिका गिरी रायचौधुरी, कमलानन्द भट्टाचार्य, पद्मधर चलिहा, उमेशचन्द्र, चौधरी आदि सङ्गीतकारहरूले आधुनिक असमीया गीतको जययात्राको बाटो सुगम बनाइदिए ।
असमीया गीतको इतिहासमा २० औँ शताब्दीको द्वितीय दशकमा ग्रामोफोन रेकर्डमा सङ्गीत आचार्य लक्ष्मीनाथ बरुवाका सुपुत्र प्रफुल्लचन्द्र बरुवाले चारवटा गीतमा आफ्नो स्वर भर्नाका साथै अन्य एक अभिलेख लेखिनगयो । सौन्दर्य, भाव र भाषाको व्यञ्जनाले समृद्ध र स्वदेश प्रेमले उद्बुद्ध गीतहरू रचेर असमीया सङ्गीतको जययात्रामा ज्योतिप्रसाद आगरवालाले एक अमूल्य योगदान पुर्याए । खासगरी भाव, भाषा र कल्पनाको समन्वयले एक सुन्दर रूप लिनुका साथै काव्यिक र साङ्गीतिक गुणले परिपूर्ण ज्योति प्रसादका गीतहरूले असमीया सङ्गीत जगतमा एक ज्योति प्रपातको सृजना गर्यो । उनैका साथमा असमीया गीतहरूलाई विष्णु राभा र पार्वती प्रसादले पनि योगदान दिएर कालजयी बनाइदिए ।
स्वतन्त्रता -उत्तरको १ जुलाई सन् १९४८ मा शिलाङ गुवाहाटी रेडियो केन्द्र स्थापित भएको साथसाथै सबै पर्खाल पन्छाई असमीया गीत जगतमा नयाँ नयाँ गीतहरू प्रवाहित भए । धेरै गीतकार, सूरकार र गायकहरू जन्मिए । लोक जीवनले विकसित गरी परिस्कृत रूप प्राप्त गरेपछि लोक सङ्गीत र शास्त्रीय सङ्गीतका साथै आधुनिक गीतिधाराले असमको भूमि प्लावित भयो । सङ्गीतको यो धारालाई बढी सक्रीय बनाउनमा असमीया सिनेमाका गीतहरूको एक बलिष्ठ योगदान रहेको पाइन्छ । सिनेमाका कथाका साथै सुनमा सुगन्ध थप्दै बोल र सुरको समन्वयमा असमीया सिनेमाका मीठा मधुर गीतहरूले आधुनिक गीतहरूलाई निकै अघि बढाए । निवर्तमानमा पनि ती गीतहरूको आकर्षकण कमेको पाइँदैन । यसखाले गीतको जनप्रियता बढी तीव्र र सामाजिक रूपमा महत्वपूर्ण बनाउन सिनेमाका साथै नाट्यमञ्च, ग्रामोफोन रेकर्ड, भ्राम्यमान थिएटर र रेडियोको महत्वपूर्ण योगदान रहेको पाइन्छ । यस यात्रामा धेरै गीतकार र गायक सामेल छन् । साथमा सहयोग गरेका छन् दूरदर्शन, क्यासेट, टिभी आदि माध्यमबाट प्रचारित गीतहरूले ।
आफ्नो जीवनकालमै किंवदन्ती बन्न पुगेका ज्योतिप्रसादका मन्त्रशिष्य, अग्नियुगको फिलिङ्गो डा। भूपेन हाजरिकाको अनन्य योगदानले असमीया सङ्गीत असम वा भारतमामात्रै होइन अन्तर्राष्ट्रिय जगतमा सर्वजनद्वारा समादृत र वन्दित बनेको छ । असमका निम्ति उनले विश्वभरिको ख्याति आर्जन गरेका छन् । अनुकरणीय गीत लेखन र माटाको रसले सिक्त जादुगरी सुर भरेर उनले असमीया सङ्गीतलाई गगनचुम्बी सम्मान दिएर गए ।
तर अचेल असमीया आधुनिक गीतको जगतमा बीचबीचमा वितर्क र असन्तुष्टि व्यक्त भएको पाइन्छ । अवाञ्छित रुचिको ग्रासमा परी पूर्वको ऐतिह्य, माधुर्य र मूल्य हराई पाठ्य सामग्रीमा रूपान्तरित बनेका असमीया गीतहरूले मानौँ रूपान्तरका नाममा एकखाले रुचिहीन सृजनाले श्रोतालाई चमत्कृत पार्दैछन् । देशी विदेशी अनेक वाद्ययन्त्रको अत्यधिक प्रयोगले एक होहल्ला तयार गरेको परिवेश, शरीरको अंगीभंगी, नृत्यबीच कलाकारको स्वर हराउँदै गएको छ । यस्तो परिस्थितिमा रुचिवान श्रोता हताशग्रस्त मात्रै नबनेर चिन्तित र स्वतन्त्र बनेको छ । असमीया सङ्गीतको भविष्यबारे सोचेर यस्तो हताशजनक स्थितिमा पनि बीचबीचमा केही अर्थ सम्पन्न शब्द र मनलाई छुने सुरको समन्वयमा नयाँ पिँढीका सङ्गीतकारले सृजना नगरेका होइनन् । यो एक आशालाग्दो संकेत हो । कारण नयाँ पिँढीमा प्रचुर सम्भावना र प्रतिभा भएका कलाकार छन् । त्यसैमाथि यिनीहरूले प्रतिभा व्यक्त गर्दा पुराना पिँढी भन्दा बढी सुविधा भेटेका छन् । लय र स्वरको लालित्य नै मुख्य कुरा भएकाले आधुनिक गीत शास्त्रीय भन्दा पनि कठिन र श्रमदायक हुँदैछ । त्यसर्थ आधुनिक गीतमा साधनबाहेक अन्य कुनै ‘शार्टकट’ छैन भन्ठान्छु । हाम्रा गीतहरू जति हाम्रा ऐतिह्य, परम्परा र सामाजिक प्रयोजनसित संयोजित हुन्छन् उति नै मंगलमय हुनेछ ।
संस्कृति— प्रारम्भिक कालबाटै संस्कृतिले प्रत्येक जाति र समाजको जीवन आदर्श प्रतिफलित गर्दै आएको छ । के कारणले भन्दा, संस्कृति मात्र आनन्द, प्रकाश र प्रेरणाको मुहान मात्रै नभएर यो देश र जातिलाई शक्तिशाली र शान्तिमय बनाउने मुख्य आधार पनि हो । सबै संस्कृतिको एक विस्तृत क्षेत्र गीत, सङ्गीत, नृत्यवाद्य आदि सुकुमार कलाले ओगटेको कुरामा दुई मत नहोला । यहाँ नयाँ गरी उल्लेख गर्ने आवश्यक छैन कि संस्कृतिको अर्थ मात्र गीत, वाचन, अभिनय आदि विभिन्न क्षेत्रमा सीमाबद्ध छैन । जनगणको मनोरञ्जन र समय व्यतीत गर्ने आधार पनि हैन । यथार्थमा यसको परिधि अत्यन्त व्यापक रहेको पाइन्छ । यो एक जीवित जातिको बगिरहने नदीजस्तै हो । गतिशीलता नै यसको गुण हो । असल संस्कृतिको सौन्दर्य र गहिराइ हुन्छ । अनि हुन्छ व्यापक र मानवधर्मी । यसको अन्तरात्मामा एक महत उद्देश्य निहीत रहन्छ, अनि रहन्छ समाज संगठन र जातिलाई शक्तिशाली बनाउने कर्तव्यबोध र परिकल्पना । त्यसर्थ विश्वका देशहरूमा संस्कृतिलाई समाजमा परिवर्तन ल्याउने आधारका रूपमा व्यवहार गरिन्छ ।
विश्वका सारा जनगणका निम्ति उज्यालो पृथ्वीको ढोका खोली निवर्तमान ज्ञानविज्ञानको वैप्लविक उत्तरणले सम्भव बनाएको आशीर्वादले संस्कृति साधना भर्ने बाटो सुगम र समाधान गर्नु नै सबै संस्कृतिको मुख्य उद्देश्य रहेको पाइन्छ ।
गौरवशाली ऐतिह्य (परम्परा) ले महिमामण्डित असमीया संस्कृति एक समन्वयको संस्कृति हो । धेरैका अवदानले परिपूर्ण असमीया संस्कृतिको पेटारो अति मूल्यवान मणिमाणिक्य र सुनले भरिभराउ रहेको पाइन्छ । यो कुनै विशेष जाति वा गोष्ठीको मात्रै सम्पत्ति हैन । युगौँदेखि असमको माटामा बसोबास गर्ने विभिन्न ठूला र साना जाति उपजाति र धार्मिक गोष्ठीको मिलनले बनिएको अनि उत्थापन र पतनका अनेक घात–प्रतिघातहरूका बीचदेखि पार हुँदै असमीया संस्कृतिले एक महिमामण्डित र गम्भीर अर्थ बोकेको छ । ज्योतिप्रसादले भनेका छन्—
मयेइ खासीया
मयेइ जयन्तीया
डफला, आबर, अका
मयेइ चिङफौ
भैयामर मिरि,
सोवणशिरीया डेका
विजयी आहोम कछारी कोचर
मेचर कुमार मइ राजवंशी, राभा इत्यादि
(अर्थात मै छु खसीया, मै हुँ जयन्तीया, डफला, आबर, अका, मै हुँ चिङ्फो, फाँटको मिरी, सोवणशीरीको तन्नेरी, विजयी आहोम, कछारी, कोच, मेचको कुमार, म राजवंशी, राभा आदि ।)
यहाँ के भनिरहन आवश्यक छैन भने संस्कृतिको अर्थ मात्र गीत, नृत्य, वाचन, अभिनय आदिमै सीमावद्ध छैन । यो जनगणको मनोरञ्जन अथवा बसिबियाँलो पनि हैन । वास्तवमा यसको अर्थ बडो व्यापक रहेको छ ।
क्रमश : आगामी शनिवार