शनिबार, वैशाख १५, २०८१

टोपीटाले भेट्न खोल्सी !

युवराज नयाँघरे२०७८ मंसिर १८ गते २:१०

कर्णाली तरेँ बल्ल आज ! हुम्ला कर्णालीका किनारैकिनार हिँडेको यतिका दिनपछि आज तर्ने मौका मिल्यो । यो नदीका छालले छोएथे । यसका बाच्छिटाले हिर्काएथे । यसका लहरले हृदय तानेथे । यो नदीका सङ्ला तरङ्गले मलाई डाकेथे ।

सेतो, सङ्लो खोला । धारिलो र चिसो लहर बोकेर बेगिइरहेको नदी । तिखो शक्ति र बलवान ऊर्जामा हुइँकिइरहेको हुम्ला कर्णाली ।

पुल तरेपछि अघि ओर्लेको अप्ठ्यारो हेरेँ । कति ठाउँमा ठाडै, कति ठाउँमा घुम्ती र कति ठाउँमा भीरसँग जोगिँदै झरेको थिएँ म । तीन–चार ठाउँमा त म निकै नै सुलुलु–सुलुलु चिप्लिएँ । बुट्यान पनि समात्नै नमिल्ने । साह्रै होचा र भुइँमै मिसिए जस्ता थिए ।

मैले खल्र्यामखुर्लुम हुने त्यो पारिको पाखोलाई निकै खेप हेरेँ । यता मान्छे त बाटोमा हिँड्ने होइनन्– बाटैलाई आफूसँग हिँडाउँथे । पहिरो नै मान्छेका खुट्टासँग डराउँथे । भीर नै यताका बलियाबाङ्गासँग अत्तालिन्थे ।

माथिको थाप्लोलाई च्यादुक भनिन्थ्यो । दुई–चार घर थिए बाटोमा । च्यादुकको पसलमा हामीले भुँडी चर्किउन्जेल खाएथ्यौँ खाजा र चिया ।

‘त्यै भएर हुम्लामा भोकमरी हुने हो नि !’ कन्जोकले रुखमुनिको स्याँलमा उभिएर भने– ‘माटोमा उम्रिदैन । किनी खाउँ, पैसा छैन । कमाउने उपाय छैन । अनि पो मान्छे मर्ने नि भोकभोकै ।’

घोडामर्चा चिया खाइरहँदा पाँच–सात तन्नेरी खच्चड किनमेलका लागि रस्साकस्सी गरिरहेथे ।

‘दुवै गरी ३८ खच्चड बेचेँ मुइले । माल हेरेँ, मोल गरेँ ।’बेच्नेले तर्क राख्यो । किन्नेले घाँडा र बाखर समेत दिनुपर्ने तर्क राखिरहेथ्यो । खच्चडको घन्टी र ढाड–मुखमा बाधिने अरु डोरी काठ बाखर समेत पाउनुपर्ने माग थियो किन्न खोज्नेको ।

‘गहनालाई होइन, जखन्या हो ।’

‘बाखर क्या गर्छौ ?’

‘बाखर र घाँडा गहना हुन् खच्चडका ।’

१ लाख २० हजारमा मोलतोल मिल्न खोज्दै थियो । हामी च्यादुकबाट ओरालो झरिसकेथ्यौँ ।

‘बाह्र हातको हगु लगाएर एक हातको छोटो !’

किन्नेले बेच्नेलाई पेलेको पेलेकै थियो ।

०००
२ असार २०६७ ।

यालवाङबाट झिसमिसेमै हामी च्यादुकतिर फर्केका थियौँ । बाटोका सल्लेरी, केर्मी, ढाँडकेर्मी भएर घामको रापमा पिल्सिएर पुगेथ्यौँ च्यादुक ।

बाटोमा सातो लैजाने च्या छहराको भीरमा समाई–समाई कटाएथे कन्जोकले मलाई । छाँगा र भीर नाघेपछि मैले लामो सास फेरेर भनेको थिएँ– ‘एक दिन आउनेलाई यति धेरै डर !’ ‘सधैँ हिँड्नेलाई कस्तो हुँदो हो ?’

‘सधैँ हिँड्नेलाई डर भागिसकेको हुन्छ नि सर । बानी परिसकेको हुन्छ ।’ कन्जोकले मलाई शान्त पारेथे ।

छहरा नाघेपछि पो भोक लागेथ्यो, थकाइ लागेथ्यो र बेलुकीको वासको ख्याल आएथ्यो मलाई । त्यसपछि एकोहोरो तर्पे, उकाली र ओराली हुँदै हामी च्यादुक पुगेका थियौँ ।

०००

‘बढीमा दुई घण्टा लाग्ला अब खोल्सी पुग्न !’ पुल कटेपछिको तर्पायाँ उकालीमा कन्जोकले भने ।

छाँगा र भीर नाघेपछि मैले लामो सास फेरेर भनेको थिएँ– ‘एक दिन आउनेलाई यति धेरै डर !’ ‘सधैँ हिँड्नेलाई कस्तो हुँदो हो ?’

‘त्यसो भए पाइला साह्रै बिस्तारै सारौँ !’ ढुङ्गामा अडिएर म बोलेँ ।

खोल्सी लाग्दा बाटो उकालो–उकालो थियो । घाम कम थियो तर हावा अलिक तिखो थियो । तैपनि झोला र लम्काइले ढाड भिजेथ्यो लछप्रै ।

अघि बाटोमा हुम्लाका देवीदेउता चिनाएथे कन्जोकले । हुम्लातिरको बाहुन, ठकुरी र क्षेत्री समाज निकै पुरानो पाराको छ । टोपीटालेहरु बढी चोखोनीतो गर्छन् । जाडहरु त्यस्ता छैनन् । उनीहरुका आइमाईले महिनावारी बार्दैनन् ।

बाजुरा, बझाङको प्रभाव बढी भए नि हुम्लाको खस समाज निकै कठोर र जब्बर खालको देखिन्थ्यो ।

‘म बाहिर फटकेँ ।’ भनेर मासिक श्राव भएको सूचना दिने महिलाहरुलाई ‘छुई’ को पीडा अथाह छ । ती अलग्गै गोठमा बस्छन् अहिलेसम्म । चार दिनसम्म तिनलाई छाउ गोठमै राखिन्छ हिजोआज पनि ।

हुम्लामा देवीदेउता मान्नेहरु घटेका छैनन् । हुम्लाभरि मस्टो र भगवती–भौवानी मानिँदो रहेछ । त्यस्तै ठे गाउँका राम्पाल, सिमिकोटका कालाशिल्ता, छिप्राका गुडालाई औधी मान्ने गरिँदो रहेछ । खीर–पुरी चढाएर, बलि दिएर, दमाहा बजाएर देवीदेउता प्रसन्न पारिदिने परम्परा बढिरहेकै छ ।

कर्णालीको गर्जन सुनी–सुनी हामी मास्तिर उक्लिरहेथ्यौँ । पातलो–पातलो वन थियो । तल कर्णाली तीरमा खेतैभरि आइमाईहरु थिए । केटाकेटीहरु पनि तिनका आमालाई हात बाँडिरहेथे ।

असार र असोजमा हुम्लीहरु साह्रै व्यस्त हुँदा रहेछन् । ‘असार मासमा मरी सुपा तोडी’ भन्ने भनाइ नै रहेछ । असारमा आमा मर्दा पनि लास उठाउने फुर्सद छैन भन्ने अवस्था हुँदोरहेछ हुम्लीहरुमा ।

असारमा पुरानो बाली टिप्ने र नयाँ लगाउने हतारोले सबैलाई अत्याउँदो रहेछ । असोजमा नयाँ बाली भित्र्याउने, हिउँदको छ मैनालाई चाहिने घाँस–दाउराको जोहोमा पूरै व्यस्त हुँदा रहेछन् हुम्लीहरु । बाँकी छ मैना हिउँमै पुरिन्छन् गाउँतिर ।

०००

तेर्छो बाटो लागेपछि गफ गर्दै गइरहेथ्यौँ हामी । बेला–बेलामा म पानी खान रोकिन्थेँ । खाजा भर्खरै खाएथ्यौँ । बेलुका राम्रोसँग सुत्न पाए हुन्थ्यो भन्ने रहर मात्रै थियो ।

बाटो पूर्व गएथ्यो– खोल्सी गाउँ । तलमाथि भएर बेगिएको छ पूर्व । माथि अक्करे भीर र खोँच टुप्लुकिन्छन् । हामी हिँडेमुनि त्यस्तै कहालीलाग्दो भीर छ ।

‘असार मासमा मरी सुपा तोडी’ भन्ने भनाइ नै रहेछ । असारमा आमा मर्दा पनि लास उठाउने फुर्सद छैन भन्ने अवस्था हुँदोरहेछ हुम्लीहरुमा ।

कति ठाउँमा त खच्चडले टेक्दा परेका प्वाल धसिएर तल कर्णालीका छाल देखिने भएका छन् । चीसो हुन्छ मन ।

कर्णालीको सङ्लो पानीले छाल, गति र किनारलाई बेगिलो बनाएको देख्छु । नदी किनारका गरामा गाईबस्तु चराइरहेका केटाकेटीको हुल नि जतासुकै देखिन्छन् । मार्सी धान रोपेका गरुँगा गराको पानीको टलपल–टलपलले आँत भरिदिन्छ मनग्गे चोटि ।

पारिको च्या छहरा गाउँ सुन्दर देखियो । गाउँभन्दा माथि खर्कहरु झन् सुन्दर देखिन्थे ।

‘यति कमाइले पुग्छ त ?’ मैले तलका गरा हेर्दै भनेँ ।

‘अन्नपात फल्ने जमिन कम छ । निकै थोरै फल्छ । बेलाबखत त पानी नभएर अनि खडेरी परेर त्यै नि फल्दैन । अझ कहिलेकाहीँ त हिउँ बेस्सरी परेर सखापै पार्छ अन्नका बोटबिरुवा ।’

‘त्यै भएर हुम्लामा भोकमरी हुने हो नि !’ कन्जोकले रुखमुनिको स्याँलमा उभिएर भने– ‘माटोमा उम्रिदैन । किनी खाउँ, पैसा छैन । कमाउने उपाय छैन । अनि पो मान्छे मर्ने नि भोकभोकै ।’

रुखैरुखले घेरिएको भीर भए पनि ठाउँ–ठाउँमा ठूला–ठूला ढुङ्गा पसारिएर बाटो अप्ठेरो पारेथे । कति ठाउँमा खच्चडले जथाभावी हिँडिदिनाले बाटो छिरलबिरल भएको लाग्थ्यो ।

निकै लम्केका छौँ हामी । खोल्सी गाउँ पसेर धेरै कुरा बुझ्नु छ ।

‘जाड गाउँ खुबै घुम्नु भो । अब टोपीटाले गाउँ नि घुम्नुस् ।’ कन्जोकले भनिहाले ।

खगाल गाउँ जाने बाटो बटारिएर मास्तिर लाग्यो । हामी पूर्वतिर गइरहेका छौँ एकनासले । एकलास छ । चकमन्नसँग सबै डराउँदा रहेछन् । ढुङ्गा, भीर र रुखपातको जडवत् देखेर कल्पिन्छु ।

‘खुट्टा चिप्ले …!’ हो खुट्टा एकैचोटि कर्णालीमा । कन्जोक निकै अघि पुगिसकेका छन् । बाटो खेद्दै कुदेजस्ता लाग्छन् उनी । मलाई चै बाटोले लखेटिरहेको छ– ‘चाँडो जा, चाँडो जा !’

भीरभीरै लागेका छौँ पूर्वतिर । फतक्कै गलाउने बाटो छ ओराली, खोँच, ढुङ्गा र साँघुरो गोरेटोसँग लम्किरहेको छु । धेरैचोटि एक्लै परेको छु । अघि–अघि छन् कन्जोक । खुइय–खुइय गर्छु– चर्कै स्वरले । हो, त्यतिबेला बल्ल फर्केर हेर्छन् र रोकिन्छन् कन्जोक ।

दुई घण्टा नाघेपछि फाट्टफुट्ट घरहरु देखिए ।

‘यो माथिको बाटो लामा खोल्सी जान्छ ।’ अलिक अघि उनले खगाल गाउँ जाने त्यस्तै अर्को गोरेटो देखाएथे । हामी हिँडिरहेकै गोरेटो त्यत्तिकै अप्ठेरो र अत्यासिँदो छ । हामीले हिँडेको बाटोभन्दा नि निकै मास्तिर गएको अर्को बाटोले मुटुमा ढुकढुकाउँछ ।

‘ऊ–ऊ लामा खोल्सी !’ एउटा लामो टहरो देखियो । विद्यालय रहेछ त्यो । मैले जतिसुकै तन्के पनि मास्तिरका घरहरु प्रस्ट देखिनँ । भीर, झन्–झन् अग्लिएका रुख र ठाउँ–ठाउँमा गाडिनसम्म गाडिएका खोँचहरु देखेँ । छरछारिएको थियो लामा खोल्सी ।

‘कति घर छन् लामा खोल्सीमा ?’

‘२८ घर ।’ रुखको फेदमा अडिए कन्जोक । हामी त्यतिञ्जेलमा खोल्सी गाउँभित्र पसिसकेथ्यौँ । ठूला–ठूला फाँट र गराले खोल्सी गाउँ अद्भूत लागिरहेथ्यो भव्य ।

‘भोक, थकाइ कुनै गुनासो ?’ कन्जोकले सोधे ।

‘छैन । कुनै छैन ।’

‘किन होला ?’

अघि देखिएको झुरुप्प बस्तीले परीक्षा लिनै बाँकी रहेछ मलाई । मेरो पसिना निचोर्नै बाँकी रहेछ । मेरा पैताला खियाउनै बाँकी रहेछ । मेरा पाँसुलाको तुजुग झार्नै बाँकी रहेछ । मेरो फूर्ति तौलिनै बाँकी रहेछ खोल्सीले ।

‘हुम्लीका दुःखाइ त नहेरिएको बेला । यो ठाउँलाई मैले कसरी उल्टै भोकाएँ, थाकेँ, गलेँ भन्नु ।’ मैले उत्तर दिएँ ।

अरु थपेँ– ‘दुःखमा अरु दुःख थप्नु हुन्छ र ? लडेकोलाई थिच्नु पाप हो ।’ कन्जोकले सुनिरहे ।

यसो भन्नेहरु हुम्लामा अरु नि आए होलान् । अरुले नि यसै भने होलान् । तर खोल्सी गाउँको अनकन्टार भीर छेउमा बोल्ने चैँ मै मात्र थिएँ कि !

घुमी–घुमी गएको बाटोले खोल्सी गाउँ पुर्‍यायो । गाउँ पुगियो भनेको त सानो मस्टोथानबाट घुमेर खोलातिर पो गयो बाटो ।

अघि देखिएको झुरुप्प बस्तीले परीक्षा लिनै बाँकी रहेछ मलाई । मेरो पसिना निचोर्नै बाँकी रहेछ । मेरा पैताला खियाउनै बाँकी रहेछ । मेरा पाँसुलाको तुजुग झार्नै बाँकी रहेछ । मेरो फूर्ति तौलिनै बाँकी रहेछ खोल्सीले ।

गाउँ पस्ने बेलामा एउटा बूढी लसुन उखेल्दै थिइन् । घरको धुरीमा त्रिशुल थियो ।

‘बड्डा काँ जाँदा हौ ?’

‘खोल्सीसम्म होला आज त ।’

‘आज अबेला भइगो । यहीँ भइनो हो क्या ।’

उनी बारीतिरै गइन् यति भनेर । बस भन्यो उनको पाको बोलीले ।

उनको अनुहार, घर, आँगन र पिँढीले बस भनिरहेको थिएन । यी सबैभित्र गरीबी, दुःख, अभाव र भोकले हाब्रो च्यातेर कराइरहेको देखिन्थ्यो ।

अर्को कहालीलाग्दो कुरा– ती दलित थिइन् । हुम्लाको खोली गाउँको दलित । खस छेत्री त दुःखमा भासिएर सिद्धिन आँटेका देखेथेँ । दलित त झन्….. घट्टे खोलातिर गइरहँदा नि यो त्रिशुल हेरिरहेको थिएँ ।

०००

एकोहोरो दक्षिण लाग्यौँ । तल हुम्ला कर्णाली किनारमा चरेका गाईका बथान घरतिर आइरहेथे । स–साना केटाकेटी ‘नमस्ते, नमस्ते’ भन्दै आफ्नै तालमा कुदिरहेथे । तिनका हात कता फर्केका हुन्थे थाहा भएन– बोली चैँ कड्केर हाम्रा कानमा ठोकिन आएका थिए ।

गड्गडाएको खोला दक्षिणबाट उत्तर भएर पूर्व बेगिएको कर्णालीमा मिसिन्थ्यो । सङ्लो खोलाको छाल माथिसम्म आएर चिस्याइरहेथ्यो हामीलाई नि ।

बाटैमा भेटिए बर्खबहादुर शाही । पाठाको छाला खोलामा मिल्काउन हिँडेथे । उनकै अनुहारको छाला समयले उहिल्यै फ्याँकिसकेथ्यो ।

शाही र सिंह मात्र रहेछन्– खोल्सी गाउँमा । ९० धुरी घर छन् खोल्सीमा ।

‘पाँच माउ सुनार छन् ।’ ‘१२–१३ माउ सिंह छन् ।’ शाही हतारिएर खोलातिर गए ।

हामी झमक्क साँझमा पुग्यौँ– खोल्सी गाउँभित्र । तरकारीका लहरा छानामाथि गइरहेका देखिन्थे । माथिको मटानमा उवा चुटिरहेथे गाउँलेहरु ।

हामी नौला देखेर खोल्सी गाउँमा एक खालको तरङ्ग छुट्यो । घर–घरबाट हेर्न थाले । उवा चुटिरहेकाहरु तन्की–तन्की हेर्न थाले ।

सानो खोँचमा बसेको थियो– खोल्सी । पूर्व, पश्चिम र उत्तरतिर फैलेको खोल्सी गाउँ पूरै ठकुरी गाउँ थियो ।

खोल्सी गाउँमा शाही र सिंह मात्रै भएकाले यी दुई समुदायबीच बिहे हुँदो रहेछ । बाहिरको बिहेबारी गर्ने चलनै रहेनछ ।

बाटो दक्षिणको घरमा चार–पाँच जना बसिरहेका देखिए । तीसँग बोलेरै मात्र गाउँ कट्न मन लाग्यो ।

फटाफट लिस्नो उक्लें म । कन्जोक नि साथै थिए ।

‘कि जंगलको सिंह, कि हामी सिंह !’ लामा जुँगा भएका काल्चे सिंह गर्जिए ।

खोल्सी गाउँमा शाही र सिंह मात्रै भएकाले यी दुई समुदायबीच बिहे हुँदो रहेछ । बाहिरको बिहेबारी गर्ने चलनै रहेनछ । शाहीहरु यो ठाउँका रैथाने र सिंह जाजरकोटबाट बिहेबारीका लागि नाता जोड्न ल्याइएका मानिँदो रहेछ ।

‘मेरी छोरी पोइल गयाकी छ !’ पाञ्चु सिंहले नाति खेलाइरहेकी थिइन् । एउटी १४–१५ वर्षकी खिनाउरी, दुब्ली र लुरी केटी आफ्ना सुकेनास स्तन चुसाउन आमाको हातको पिउसो सामु आइपुगिन् ।

दुई घर परतिर रहेछ पाञ्चुकी छोरीको घर । हेरेको हेरेकै भएँ म । पाञ्चुकै घरमा पनि त्यस्तै १५–१६ वर्षकी बुहारी थिइन् ।

‘चार पढ्या हुम् ।’ बुहारीले भनिन् अनि बच्चालाई दूध खुवाउन थालिन् ।

दशैं, साउनपूर्णे, दुबाटो चाडपर्व मानिँदो रहेछ– खोल्सीमा । तरबार खेल्ने, प्रसिद्ध परम्परा हुँदोरहेछ यहाँ । धामीझाँक्रीले पूरै अठ्याएको थियो खोल्सीको समाज ।

खोल्सी गाउँमा २५–३० जना लाटागाँडा रहेछन् । हरेक वर्ष यस्तो ३–४ अहिलेसम्म निरन्तर त्यस्ता सन्तान जन्मिरहेको पाञ्चुले बताइन् । १७ जना त गाँड बोकेर बसेका छन् रे अहिलेसम्म । हाम्रा कुरा सुनेर अरु नि थपिए ।

‘आधा नेपाल, आधा चाइनाले पाल्या छ हाम्लाई !’ काल्चेले जुँगा बटारे ।

‘पाँच पाथी खाद्यान्न दिन्छ नेपाल सरकारले ।’ पाञ्चुले भनिन् ‘अरु नेपाल सरकारले हेर्‍या छैन ।’

पर कर्णालीपारि बाटो आइरहेकोमा सबैलाई सपना सरह लागेको रैछ । बिजुली बलेको, स्कुल खुलेको देख्ता नि छक्कै लागेको पटक–पटक भन्थे उनीहरु ।

बुलाकी समेत नकिनिदिने र नल्याइदिने लोग्नेलाई कमजोर मानिँदो रहेछ । बिहे गरे लगत्तै स्वास्नीलाई बुलाकी लाइदिइहाल्ने परम्परा रहेछ– खोल्सीमा ।

‘सरकार दाहिना भयो ।’ नरबहादुर शाहीले भने ।

२५० रुपियाँमा नेपालगंजसम्म जहाजमा गएका उनलाई सबै कुरा अचम्म लाग्छ । खुशी भएर भन्थे– ‘गाला मारौँ !’

शाहीले नै भने– ‘जुमाना फरक छ !’ ‘ऊ बेला भोट जाने, अब कम भइग्गे ।’

उनैले अरु भने– ‘काम क्यै नाइँ । दलाली गरेँ । फाइदा गर्न जानिनँ ।’

पाञ्चुका छोरी–बुहारी दुवैले बुलाकी लाएथे । उनका नाकमा झन् ठूलो थियो बुलाकी ।

‘यसले अप्ठेरो हुँदैन ?’ मैले खसखस पोखेँ ।

‘पोइले लाइदिया बुलाकी ।’

बुलाकी समेत नकिनिदिने र नल्याइदिने लोग्नेलाई कमजोर मानिँदो रहेछ । बिहे गरे लगत्तै स्वास्नीलाई बुलाकी लाइदिइहाल्ने परम्परा रहेछ– खोल्सीमा ।

०००

पारि कर्णाली किनारबाट बाटो गइरहेको देख्दा अहिले अनौठो लाग्छ । यति सानो हेलिकप्टर उडिरहँदा छक्क परेर कति रात नसुतेको सुनाए उनले ।

मानबहादुर शाहीले ६ कक्षा पढे । अनि साउने पूर्णिमामा पुजारीको काम गर्दा रहेछन् ।

‘पहिला देउताकै भर थियो । अहिले कम छ ।’ शाहीले परिवर्तनको ईशारा दिए । त्रिशुल र घन्टी देखाएर गाउँमा उपचार नि उनै गर्दा रहेछन् । उनका भन्दा सिमिकोट अस्पताल जानेहरु बढ्न थालेको अनुभव शाहीलाई रहेछ हिजोआज ।

‘म घट्ट बनाउँछु ।’ प्रेमबहादुर शाहीले भने ।

कालीबहादुर शाहीले खोल्सीमै घामपानी सहेको ३६ वर्ष भयो । ‘जिरो पनि पढिएन ।’ गाईगोरु हेरेरै जीवन गयो । पारि कर्णाली किनारबाट बाटो गइरहेको देख्दा अहिले अनौठो लाग्छ । यति सानो हेलिकप्टर उडिरहँदा छक्क परेर कति रात नसुतेको सुनाए उनले । उनका छोराछोरी पुस्तक च्यापेर जाँदा आफ्नो उमेर त्यस्तै बनाउने रहर जाग्छ रे शाहीलाई ।

‘केटाकेटी कस्तो पढ्छन् ?’ मैले सोधेँ ।

‘टोकाटोकी ठीकै पढ्छन् ।’

मष्टोका पुजारी रहेछन् प्रेमबहादुर शाही । उनीसँग नि कुरा निकै भए– खोल्सीमा । उवा, चिनु कागुनु, मार्सी र भट्ट उमार्दा रहेछन् खोल्सी गाउँमा ।

गुरा, भुवानी, मदनपाल, मस्टो, हरिपाल, घन्टपाल, हिल्सो, भुम्या देवीदेवता निकै मान्दा रहेछन् खोल्सीमा ।

अझ राम्पाल, कालिका, भुम्यालाई साह्रै भक्तिभाव र श्रद्धासाथ मान्ने प्रचलन रहेछ यहाँ ।

‘राम्पालको थान छ ।’ प्रेमबहादुरले भने ।

‘राम्पालले अहिलेसम्म बचाए । अब नि बचाउँछन् ।’ शाहीले भक्तिभावले भने ।

घरबाट हिँड्ने बेलामा मैले ती बुहारी, छोरी र पाञ्चुलाई हेरेँ । ती सबैका शरीरमा कुपोषणले राज गरेथ्यो । शक्तिहीन ती नारी शरीरमा सौन्दर्य, रुप र बैंसको एक थोपो उज्यालो थिएन । थियो त– अभाव, रोग, हेला, उपेक्षा र वेदनाको रुवाबासी ।

खोल्सीका सिंह, शाहीको कमाइ हुने अर्को कुनै उद्यम, कला वा पेशा छैन । वर्षको एक चोटि चीनको तिब्बत जान्छन् । उही ताक्लाकोट गएर काम गर्छन् । त्यै पनि चीनको कृपामा भर पर्ने कुरा हो ।

पाञ्चुले म लिस्नो समातेर झरिरहँदा भनेकी सुनेँ– ‘फाटेको लुगा सिएर लाउँछौँ । फाँडो बरु खान्छौँ । अक्षर नसिकी नहुने रैछ ।’

मेरा मनभरि उनका कुरा पाकिरहे, छड्किरहे, उम्लिरहे । म भित्रभित्र गुजुमुजु बोली फत्किरहें…..

खोल्सीका सिंह, शाहीको कमाइ हुने अर्को कुनै उद्यम, कला वा पेशा छैन । वर्षको एक चोटि चीनको तिब्बत जान्छन् । उही ताक्लाकोट गएर काम गर्छन् । त्यै पनि चीनको कृपामा भर पर्ने कुरा हो । बेलाबखत जडीबुटी खोजेर सुर्खेत, नेपालगंज गएपनि सधैँ त्यता जाने मौका मिल्दो रहेनछ ।

पाञ्चुको घर छोडेर हामी पूर्वतिर लाग्यौँ । अलिक अघि पुगेपछि देखियो स्कुले चौर । केटाकेटी खेलिरहेथे । कन्जोकका चिनारु यता निकै भेटिए । बोलीचालीमा मग्न थिए उनी ।

एक चोटि पछाडिपट्टि फर्केर हेरेँ– खोल्सी गाउँलाई । चुपचाप र शान्त थियो गाउँ । खाली अभाव, रोग र वेदनाले थिचिनसम्म थिचिएर थल्लिएथ्यो खोल्सी गाउँ । गाउँमा भोक, दरिद्रयाइँ र अशिक्षाका पर्दा खप्टिएर अर्को अन्धकार साँझ हेर्नै थियो निरन्तर । जसलाई आफ्नो फुस्रो, खस्रो र रगत सकिएको छालामा खप्टाएर राखिरहेथ्यो खोलीको ज्यानले धेरै युगदेखि…… धेरै समयदेखि…. धेरै हिउँदबर्खादेखि….

घर अगाडिको एक मुढे लिस्नो उक्लिने र आर्लिनेहरुले खोल्सीका साँझलाई घरको पिँढीमा राख्दै थिए । तल हुम्ला कर्णालीको गर्जन झन्–झन् चर्किएर मसम्म आइरहेथे निरन्तर…… निरन्तर……

नयाँघरेका अघिल्ला रचनापनि हेर्नुस्

निबन्ध : गौचरनको स्वर

रोड्याइँ !

एक जोर नाङ्ला

हिउँको बाढी रातनाङ्गेमा !

कविता खोज्न ओलङ्गङतिर !

भुल्दै–भुल्दै गोर्खालीको वीरता !

रुकुम हानेपछि ‘उपराष्ट्रपती’सहित होटेलतिर

रोसीका हजार छाल

त्रिशुलीमा ढिकीच्याउँ !

भानुको आलोकमा भाषा

फाप्लुतिर फुरफुर

खप्तडका लेकबेसी

डिल्लुको बाख्रो

(नयाँघरे मदन पुरस्कार बिजेता साहित्यकार, लेखक हुन्)

तपाइँको प्रतिक्रिया